Thursday, July 9, 2020

ठोरीमा खुर्सानी बिक्री नभएपछि कृषकले बोट मास्न थाले


माधव तिमिल्सिना, ठोरी, २५ असार/
    लकडाउनको कारण खुर्सानी बिक्री नभएपछि ठोरी–३ का कृषकहरू समस्यामा परेका छन्।
    अघिल्ला वर्षहरूमा खुर्सानीखेतीबाट मनग्गे आम्दानी गर्ने यस वडाका  किसानको यो वर्ष लगानीसमेत डुब्ने अवस्था छ। यस क्षेत्रका खोर्सानीको मुख्य बजार सीमावर्ती भारतीय क्षेत्र हो। भारतका थोक व्यापारीहरू कृषकको खेतमा आएर हरियो खोर्सानी लिएर जाने गरेका थिए। सीमावर्ती भारतको जमुनिया बजार, मानपुर, चक्रसन, नरकटियागंज, धुम्बाटारलगायतका क्षेत्रका हाटबजारहरू ठोरीमा उत्पादित खुर्सानीको एकछत्र बजार हो। यस वर्ष लकडाउन र सीमा सिल भएका कारण एकजना पनि भारतीय व्यापारी नआएको ठोरी–३ का अगुवा खुर्सानी कृषक हीरालाल श्रेष्ठले बताए।
    त्यसैगरी, ठोरी–३ ब्रह्मनगर क्षेत्रमा उत्पादित खुर्सानी सोही गाउँपालिकाका अन्य वडाहरूमा पनि राम्रैसँग बिक्री हुने गरेको थियो। ठोरीका विभिन्न ठाउँमा लाग्ने हाटबजारमा सहजै खुर्सानी बिक्री हुँदा किसानले मुनाफा गर्ने गरेका थिए।  लकडाउनका कारण व्यापारी आउन नपाएपछि कतिपय किसानले फल्दा फल्दैको खुर्सानीखेती मासेर धान रोपेको ठोरी–३ बुद्धनगरका स्थानीय पिताचन्द्र ढुङ्गेलले बताए। उत्पादित खुर्सानी झरेर भुइँभरि हुँदासम्म व्यापारी नआएकाले यस वर्ष खुर्सानीमा गरिएको लगानी नै डुबेको ढुङ्गेलको गुनासो छ।
    ठोरी गापाको वडा नं ३ मा पर्ने ब्रह्मनगर, बुद्धनगर क्षेत्रमा हरेक वर्ष किसानले खुर्सानीखेती गर्ने गरेका छन्। यहाँका किसानको मुख्य नगदेबाली खुर्सानी र सुर्ती हो। अघिल्लो वर्षसम्म व्यापारीले खेतबाटै प्रतिकिलो एक सय रुपैयाँसम्म तिरेर खुर्सानी लगेका थिए। यो वर्ष अधिकांश किसानको खुर्सानी बिक्री भएको छैन। केही किसानले आसपास वडाका व्यापारीलाई प्रतिकिलो रु २० भन्दा कम मूल्यमा बिक्री गरेका ब्रह्मनगरका शिक्षक भुपाल जोशी बताउँछन्। वीरगंज र चितवनको नारायणघाट बजारमा प्रतिकिलो ६० देखि ८० रुपैयाँमा हरियो खुर्सानी बिक्री भइरहेको छ। वीरगंज र नारायणघाट दुवैतर्फबाट ठोरी करीब ६५ किलोमिटरको दूरीमा भएपनि वर्षात्को समयमा भरपर्दो सडक सुविधा नभएका कारण स्वदेशी व्यापारीहरू ठोरी पुगेका छैनन्।  
    ब्रह्मनगरका अधिकंश किसानले खुर्सानी बिक्री गर्न नपाएर श्रम र लगानी खेर फाल्न विवश भएको उनले सुनाए। अघिल्ला वर्षहरूमा खुर्सानीखेतीबाट यहाँका साना किसानहरूले खर्च कटाएर ३० हजारदेखि ५० हजारसम्म र ठूला तथा मध्यम किसानहरूले १ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेका शिक्षक जोशी बताउँछन्।
    मेहनत पुगे र बजार पाएमा खुर्सानीबाट प्रतिकट्ठा रु २५ हजारदेखि ३० हजारसम्म खुद मुनाफा हुने ब्रह्मनगरका किसान चन्द्र श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार खुर्सानीखेतीमा प्रतिकट्ठा ५ हजार रुपैयाँसम्म खर्च हुन्छ। यस वर्ष वडा नं ३ मा मात्रै १५ बिघाभन्दा बढी क्षेत्रफलमा खुर्सानीखेती भएको स्थानीय कृषकहरूको भनाइ छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us