Thursday, July 23, 2020

वीरगंज भन्सारले लक्ष्य भेटाउन सकेन

राधेश्याम पटेल, परवानीपुर, ८ साउन/
    मुलुककै प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय अन्तर्गतका दुर्ई नाका मिलेर पनि गत आर्थिक वर्षको लक्ष्य भेटाउन सकेनन्।
    कोरोना महामारीको कारण आयात–निर्यात, उद्योग–व्यापार चौपट हँुदा वीरगंज भन्सारको राजस्व सङ्कलन पनि प्रभावित भएको हो। गत आवमा लक्ष्यभन्दा ७० अर्ब कम राजस्व भन्सार कार्यालयले असुली गरेको छ। कार्यालयले गत साउनदेखि असारसम्म रु १ खर्ब ८८ अर्ब ६२ करोड ४९ लाख ९४ हजार राजस्वको लक्ष्य पाएकोमा गत आवको १२ महीनामा भन्सार कार्यालयले जम्मा १ खर्ब १८ अर्ब ९७ करोड २७ लाख ५१ हजार मात्र राजस्व सङ्कलन गरेको जनाएको छ।
    वीरगंज भन्सारका सूचना अधिकार विमलकुमार साहका अनुसार कार्यालयले भन्सार महसूलतर्फ ८० अर्ब ७७ करोड १९ लाख ७९ हजार लक्ष्य पाएकोमा ५४ अर्ब ४९ करोड ९८ लाख ५२ हजार, मूअकतर्फ ७६ अर्ब ३३ करोड ८२ लाख ७९ हजार लक्ष्य पाएकोमा ४८ अर्ब ९८ करोड १९ लाख ११ हजार र अन्तःशुल्कतर्फ ३१ अर्ब ५१ करोड ४७ लाख ३६ हजार लक्ष्य पाएकोमा १५ अर्ब ४९ करोड ९ लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
    भन्सार कार्यालयले चैत, वैशाख, जेठमा न्यून राजस्व असुली गरे तापनि गत असारमा लकडाउन खुकुलो भएपछि करीब १४ अर्ब राजस्व सङ्कलन गरेको थियो। असारमा भन्सार कार्यालयले १५ अर्ब ७१ करोड ८७ लाख ४९ हजार लक्ष्य पाएकोमा १४ अर्ब ३२ करोड ४४ लाख ७४ हजार राजस्व सङ्कलन गरेको थियो।
    त्यसैगरी, निकासी महसूलतर्फ गत आवमा १ करोड ३६ लाख १२ हजार, पैठारी महसूलतर्फ ४३ अर्ब ४३ करोड ४० लाख ७१ हजार, कृषि सुधार करतर्फ ८५ करोड ७० लाख १२ हजार, पूर्वाधार करतर्फ ७ करोड ८८ लाख १७ हजार, अग्रिम आयकरतर्फ १८ करोड ४२ लाख १८ हजार र स्वास्थ्य जोखिम करतर्फ १० लाख ४४ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी साहले बताए।
    भन्सार कार्यालयले सडक सुधार तथा सम्भार दस्तुरतर्फ ३ अर्ब ३० करोड १८ लाख ११ हजार र सडक निर्माण तथा सम्भार दस्तुर अन्तर्गत ३ अर्ब ९३ करोड ८४ लाख ५६ हजार राजस्व सङ्कलन भएको जनाएको छ।
    विदेशबाट भित्रिने महँगा सवारीसाधन, मदिरा, औद्योगिक कच्चा पदार्थ, क्लिङ्कर, कच्चा पदार्थ, फलामजन्य कच्चा पदार्थलगायतका सामानको आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको हो। वीरगंज भन्सार अन्तर्गत हाल पुरानो शङ्कराचार्य–रक्सौल नाकाको भन्सार कार्यालय र अलौंमा सञ्चालमा रहेको एकीकृत जाँच चौकी आइसिपी भन्सार नाका गरी दुर्ईवटा भन्सार नाका सञ्चालनमा छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us