Friday, July 31, 2020

प्रवासी नेपालीहरूको ह्दयस्पर्शी कामना


-राजेश मिश्र
    तीन–चार दशकअघिसम्म विदेश र हवाईजहाजको यात्रा सबैको पहँुचमा थिएन। नजीकबाट प्रत्यक्षरूपमा हवाईजहाज हेरेका आँखाहरू नगन्य थिए। पछाडि पल्टिने गरी मुन्टो उठाएर आकाशमा चराको आकारमा मात्र हवाईजहाज हेर्न पाइन्थ्यो। उतिबेला हवाईजहाज कति ठूलो हुन्छ ? कति मानिस सवार हुन्छन् ? कसरी आकाशमा उड्छ ? लगायतका प्रश्नहरूबाट आमजन अनुत्तरित थिए। पुर्खाहरूबाट सुनेका उडनतस्तरीको कथा जस्तै मनोविज्ञान थियो, वैज्ञानिकद्वारा निर्मित हवाईजहाजप्रति। आँखाबाट ओझेल नभएसम्म आकाशमा जहाज निहारेर नथाक्ने उही पिताका सन्तानहरू खेत बिक्री/बन्धक राखेर हवाईजहाजबाट उड्न बाध्य छन्। विदेशमा श्रम गर्न बाध्य छन्।

    पर्साको पोखरिया नगरपालिका वडा नं ६ का एैनुलहक कामको सिलसिलामा साउदी अरबमा छन्। उनले उक्त देशले गरेको कोभिडको व्यवस्थापकीय भूमिकाबारेमा अवगत गराए। यस महामारीको बेला साउदी सरकारको जनउत्तरदायी व्यवस्थापन, काम गर्ने संस्थाको उचित प्रबन्धन र मानिसहरूको स्वसतर्कताका कारण कोरोनाको जोखिम न्यूनीकरण हँुदै गइरहेको बताए। बन्दाबन्दी र निषेधाज्ञा क्रमिकरूपमा हट्दै जनजीवन सामान्य हुँदै गएको छ। उनका अनुुुुसार कोभिड–१९ को महामारीबाट उनी सुरक्षित छन्। साउदी सरकारको नारा हो, “हामी सबै उत्तरदायी।”
    वाणिज्य सङ्कायमा स्नातक गरेका पर्साको पोखरिया नपा–४ का २६ वर्षीय चन्दन रौनियार दुई वर्षदेखि दुबईको एक बैंकमा कार्यरत छन्। दुबईको सरकारले शुरूदेखि नै कोरोनालाई चुनौतीको रूपमा लियो। व्यवस्थापन र कार्यान्वयनको योजना बनायो र सोहीअनुरूप काम थाल्यो। सरकारले भुइँतहसम्म महसूस हुने गरी सराहनीय कदम चालेको बताए। अहिले यहाँ कोरोना सङ्क्रमित घट्दो क्रममा छ र युएईका केही प्रान्त पूर्णरूपमा कोरोनामुक्त भइसकेको अवस्था छ। फलस्वरूप दुबईको जनजीवन सहज हुन थालेको छ। तथापि हाटबजार, सरकारी/निजी कार्यालयलगायत भीडभाड हुने स्थानमा कोरोनासँग सम्बन्धित सुरक्षा व्यवस्था सतर्कतापूर्ण छ। यहाँको सरकार व्यवस्थापनमा पूर्ण सक्रिय छ भने आममानिसको साथ र सहयोग पनि सराहनीय छ।
    उनले आफू सुरक्षित रहेको तथा आवतजावत गर्दा मास्क, पञ्जा र सेनिटाइजरलगायतका सुरक्षा सामग्री अनिवार्यरूपमा प्रयोेग गर्ने गरेकोे बताए। कोरोनाको कारण व्यापारिक कारोबारमा असर देखिए पनि जनजीवन खासै प्रभावित भएको छैन। चन्दनका अनुसार कतिपय उद्योगधन्दा बन्द हुने अवस्थामा छन् र केही उद्योग बन्द भएकाले नेपाली कामदारहरू बिचल्लीमा परेका छन्। धेरैले काम गुमाउनुपरेको छ। दुबईमा झन्डै ३० हजार नेपालीले काम गुमाउनुपरेको उनको अनुमान छ।
    स्तम्भकारसँग धेरैजना प्रवासी/अप्रवासी नेपालीहरूसँग दुःख–सुखका विषयमा कुराकानी भयो। नेपालको आम जनजीवन सामान्य हुनुको सट्टा सङ्क्रमणको त्रास बढ्दै जानुले चिन्तामुक्त काम गर्न नसकिएको सबैजसोको दुःखेसो छ। कोरोना कहरबाट जन्मभूमिले कसरी उन्मुक्ति पाउने हो ? सबैलाई चिन्ता छ। ड्युटी सकिने बित्तिकै नास्ता र खानाभन्दा पनि नेपालको ताजा सामाचारको आतुरता रहन्छ। कोरोना महामारी समुदायमा फैलिइसकेकोप्रति सबैको गहिरो चिन्ता छ। मन दुखिरहेको छ। उनीहरूले नेपालको अवस्था भगवान् भरोसेभन्दा फरक नरहेको भन्दै पीडा पोखे। नेपालको समाचार सुनेर मन दुख्ने गरेको बताए। नेपालको व्यवस्थापन भद्रगोल छ, नीतिनियम राम्रो भएपनि तत्परता र दूरदर्शिता नागरिकमुखी नभएसम्म आममानिसको कठिनाइ कम नहुने प्रवासी नेपालीहरूको चिन्ता छ।
    स्वदेशमा रोजगार नपाएर विदेश हानिएका युवकहरूको सङ्ख्या लाखौंमा छ। थोरैले राम्रो कम्पनी र काम पाए पनि धेरैजसो नेपाली समस्यामा छन्। वैदेशिक रोजगारमा जाने कामदारको कुल सङ्ख्यामा सबैभन्दा बढी प्रदेश नं १ र २ को हिस्सा करीब ५० प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ। सामान्य साक्षरदेखि उच्च शिक्षा हासिल गर्ने युवापीढी विदेशमा श्रम बेचिरहेका छन्। अपवादबाहेक झन्डै तीन–चार दशकअघि दैनिक ३ किलो धान/गहँुमा ज्यालादारी गरेका नागरिकका नवपुस्ताहरू परिवारको भरणपोषणको लागि परदेशमा पसिना बगाइरहेका छन्। प्रवासी नेपालीहरूले परिवारलाई मात्र सुख दिएका छैनन्, अपितु देशलाई पनि विप्रेषणमार्फत् आर्थिक सहयोग पु–याइरहेका छन्। आर्थिक वर्ष २०६५/६६ मा २०९ अर्ब विप्रेषण आएकोमा वृद्धि हुँदै आर्थिक वर्ष २०७५/७६ मा करीब ८७९ अर्ब रुपैयाँ विप्रेषण आएको देखिन्छ।
    प्रदेश २ लगायत नेपालको चिन्तनीय अवस्था, वीरगंज तथा आसपासका जिल्लामा सङ्क्रमितको बढ्दो सङ्ख्या र वीरगंज महानगरमा दोस्रो निषेधाज्ञालगायतका जानकारी सबैलाई छ। नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोभिड अस्पताल सङ्क्रमितको सङ्ख्या थेग्ने अवस्थामा नरहेको तथा वीरगंजको अवस्था गम्भीर हुँदै गएको विषय प्रवासी नागरिकहरूलाई समेत अवगत छ। त्यतिमात्र होइन, शव व्यवस्थापनमा हालै देखिएको असामाजिक क्रियाकलाप सुनेर प्रवासी नेपालीहरू झन् दुःिखत छन्।
    प्रवासी/अप्रवासी नेपालीहरूका अनुसार कोभिड–१९ को विषम परिस्थितिमा आमनागरिकको उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण छ। जनस्तरमा पनि जिम्मेवारीबोध हुनु नितान्त आवश्यक छ। यो महामारीको नियन्त्रण कुनै पनि एकल पक्षबाट समाधान हुने होइन भन्ने कुरा सबैले आत्मसात् गरी सहयोग गर्नुपर्दछ। तर सरकारीस्तरबाट मात्र सम्भव रहेको कोरोना अस्पताललगायतको व्यवस्थापन नियामक निकायले बोध गर्नु पहिलो आवश्यकता हो।  
    भोजपुरीमा कहावत छ, ‘आग लागी त कुँवा खोदाई।’ कोरोनाको आगो दन्किदो छ तर वीरगंजमा अहिलेसम्म कुँवा (कोभिड अस्पताल) खोद्ने स्थान निर्धारण भइनसकेको अवस्था सञ्चारमाध्यमबाट सुनेर प्रवासी/अप्रवासी नेपाली पनि तनावमा छन्। देश, समाज र परिवारको कुशलता सुनेर आफूहरूलाई ऊर्जा प्राप्त हुँदो रहेछ भने प्रतिकूल परिस्थिति सुनेर मन खिन्न हुन्छ, चिन्ता बढ्छ, काम गर्न मन लाग्दैन। कहिलेकाहीं त नूनरोटी खाएर पनि स्वदेशमैं बसौं भन्ने पनि लाग्छ तर फेरि मनमा अर्को विचार आउँछ, कहिलेसम्म ? तसर्थ आपसी द्वन्द्व त्यागेर देशलाई समृद्ध बनाउतेतर्फ सबैको ध्यानकेन्द्रित हुनुको विकल्प छैन।
    देश, समाज र परिवार नै कठिन परिस्थितिमा रहने हो भने आफूहरू कसको लागि प्रवासनमा ? भन्ने उनीहरूको सरोकार समग्र पक्षसँग छ। कोरोना अस्पताल ठड्याउन एकअर्काप्रति दोष थोपार्ने प्रवृत्तिप्रति उनीहरूको घोर आपत्ति छ। सबैले आफूलाई मात्र चोखो साबित गर्दै समय खेर फाल्ने प्रवृत्ति काम गरिरहेको देशमा नरहेको उनीहरूको भनाइ छ। जटिल परिस्थितिमा एकजुटताले मात्र सहज निकास पाउनेछ भन्ने कुरा मनन गर्न सत्ताधारीलगायत समग्र राजनीतिक दललाई प्रवासी/अप्रवासी नेपालीहरूको अनुरोध छ।
    आफू सुरक्षित रहेको जति बताउँदा पनि परिवारका सदस्यहरूको चित्त नबुझ्ने गरेको महसूस हुन्छ, यद्यपि सान्त्वना दिनुबाहेक विकल्प नरहेको पर्साका एक युवकको भावना लेखेर साध्य छैन। स्वदेशमा काम छैन। काम पाएपनि पेट भर्ने दाम छैन। वृद्ध आमाबुबाको औषधि, बालबच्चाको शिक्षालगायतका खर्च नेपालको आम्दानीले धान्ने नदेखेर विदेशमा काम गर्न आएका हौं। उनीहरूको एउटै लक्ष्य हो, अर्थोपार्जन र परिवारको उत्तम पालनपोषण। देश समृद्ध भए अरूको देशमा काम गर्न आउनै पर्दैन। तसर्थ देशमा अमनचैन कायम गर्न सबैले सोच्नुपर्दछ। रोजगार सृजना भए आफ्नै देशमा सम्मानपूर्वक काम गर्नुको आनन्द भिन्दै हुन्छ।
    प्रवासी/अप्रवासी नेपालीहरूको देशप्रतिको प्रगाढ ममत्व लेखेर साध्य छैन। कोरोनाको यस महाविपत्तिमा देशप्रति चिन्तित छन्। परिवारप्रति चिन्तित छन्। एकबद्ध भई कोरोनालाई पराजित गर्ने जिम्मेवारीप्रति कसैले कन्जुस्याइँ गर्नुहुँदैन भन्ने चाहना छ। प्रवासी नेपालीको तन विदेशमा र मन स्वदेशमा छ। आफ्नो देशको उन्नति होस्, प्रगति होस्, समग्रको एकजुटता होस्, कोरोनाको कहरबाट देशले उन्मुक्ति पाओेस् भन्ने प्रवासी नेपालीहरूको ह्दयस्पर्शी कामना र प्रार्थनाले सत्तालाई सद्मार्ग प्राप्त होस्, देश कोरोनामुक्त होस्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us