Saturday, July 4, 2020

मृगौलाका बिरामीलाई आर्थिक सहयोग


प्रस, निजगढ, २० असार/
    निजगढका दुईजना मृगौलारोगीलाई वैदेशिक रोजगारमा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।
    निजगढ नगरपालिका–९ का २४ वर्षीय रजत खडका र वडा नं १२ की १९ वर्षीया सुमिना मोक्तानलाई शनिवार जनही ८६ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो । काठमाडौंमा लामो समयदेखि डायलासिस गर्दै आएका उनीहरूको केही समयपछि मृगौला प्रत्यारोपण गर्ने तयारी छ । प्रत्यारोपणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपलब्ध गराएको नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं २ का सदस्य रविराज दङ्गालले बताएका छन् ।
    दङ्गालका अनुसार जापान, इजरायल, कतार, दुबई र स्वदेशमा रहेका सहयोगीहरूले १ लाख ७३ हजार रकम जुटाएका हुन् । सोही रकम दुईजना बिरामीलाई बराबर प्रदान गरिएको हो । जापानबाट आरके शर्मा घिमिरेको संयोजकत्वमा १ लाख १२ हजार सङ्कलन गरिएको थियो । बाँकी रकम कतार, साउदी, इजरायल र स्वदेशमा रहेका दाताहरूबाट सङ्कलन गरिएको हो ।
    बिरामी खड्कालाई शिक्षण अस्पताल महाराजगंजमा र मोक्तानलाई ग्रीनसिटी अस्पतालमा पुगेर शनिवार सहयोग रकम प्रदान गरिएको हो । सो अवसरमा निजगढ–काठमाडौं सम्पर्क समितिका संयोजक मिलन मगरले मोक्तानलाई २० हजार रुपैयाँ थप सहयोग गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us