Friday, July 24, 2020

अति गरे खति

- मुकुन्द आचार्य
    संस्कृतमा भनिन्छ– ‘अति सर्वत्र वर्जयेत्’ नेपालीमा त्यै कुरोलाई भनिन्छ– अति गरे खति हुन्छ; यसै कुरालाई अङ्ग्रेजीमा भन्छन्– टु मच अफ एभ्रिथिङ इज बैड। कुरोको चुरो चैं उही हो।
    यी सबै उखानले एउटै भाव बोकेका छन्– त्यो हो अति गरे खति हुन्छ। यै लर्कोमा जोर्न सक्नुहुन्छ– धेरै खाए चिनी पनि तीतो हुन्छ। धेरै खाए भात पनि विष हुन्छ। आदि इत्यादि...।
    मान्छे धेरै खाएर पनि मर्छन्, खानै नपाएर पनि मर्छन्। कसैकसैले आफ्नो ज्ञान उदारतापूर्वक यसरी बाँड्छन्– धेरै पढेपछि पनि मान्छे बौलाउँछ रे। यस भनाइमा पनि अतिले आफ्नो सीमा उल्लङ्घन गरेको देखिन्छ। अति जाडोले पनि अति गर्मीले पनि मर्छन्।
    राजनीतिमा धेरै इमानदार, धेरै दयालु, धेरै उदारहरूलाई आफ्नै दलका पापीहरूले पाखा लगाएर छाडिदिन्छन्। छट्टु स्यालहरू अघि–अघि आएर पद र प्रतिष्ठा, पैसा र शक्ति सबैमा कब्जा जमाएर बस्छन्। र एकपटक जमेर बसेपछि उनीहरू कुर्सीमैं टाँसिन्छन्। कसैले त्यो कुरा बलजफ्ती खोसेन भने नमरुन्जेल त्यसैमा बसिरहन खोज्छन्।
    अब यस समयको महाकाल त्यो कोरोनाकै कुरा गरौंं। कोरोनाको अति डरले कतिको ज्यान गयो। खेलखेलमैं लाखौं चट !
    शुरूमा यस कोरोनालाई अति तुच्छ सम्झने देशहरूलाई कोरोनाले नराम्रोसँग हल्लाइदियो। अमेरिका जसले स्वयम्लाई दादा भन्ठान्छ विश्वमा, सबैभन्दा बढी नागरिक उही दादाको दादागिरीमा चट् भए। इटाली, स्पेन, ब्रजील, फ्रान्स, ब्रिटेन, चीन, भारत, इजरायल, जापान, कोरिया सर्वत्र कोरोनाले आफ्नो ताण्डव नृत्य देखाएर लाखौंको ज्यान लियो। आफूलाई अति महान्, बलियो, बुद्धिमान् सम्झने मानवलाई अति सूक्ष्म, अति सानोखाले कीराले कति मजाले पछा–यो। अति अहङ्कारले खाइदिएन ?
        अति अहङ्कारले नै विश्वमा अनेकपटक युद्ध भए। अति कमजोरीले नेपाललाई मारेकै छ। दुईतिर अति बलिया दुई देश भारत र चीनस बीचमा अति गरीब हाम्रो नेपाल। अति गरीब र अति कमजोर भएपछि नेपाललाई अति दुःख भोग्नुपरेको छैन त ?! नेपालीको स्वाभिमान नै खतरामा छ।
    यो ‘अति’ले अति दुःख दिंदो रै‘छ। आफ्नै देशको कुरो कोट्याऔं। विश्वभरि कोरोनाको क्रूर चक्र चल्दा नेपालमा शान्ति थियो। तर त्यतिखेर सावधानी र व्यवस्था टन्न गर्न नसकेपछि अति दुःखद स्थिति आउँला जस्तो छ।
    सरकार भन्छ, जनताले अति लापर्बाही ग–यो। जनता भन्छ, सरकारले अति लापर्बाही ग–यो।
    अति भएरै अनेक अनेक समस्या जन्मने गर्छन्। अतिलाई अति हलुकारूपमा नलिने गरौं। तसर्थ अतिलाई अति हलुकारूपमा लिनै हुन्न।
    जननी जन्मभूमि स्वर्गादपि गरीयसी। यसमा जन्म दिने माता र जन्मभूमि दुवैको गरिमा गान गरिएको पाइन्छ।
    तर राष्ट्रप्रेम–देशभक्ति पनि अतिको घेराबन्दीमा प–यो भने नराम्रो परिणाम हुन्छ। हिटलर, नेपोलियन, मुसोलिनी जस्ता जन्मन सक्छन्।
    लकडाउन अति भयो भनेर लकडाउन खोल्नासाथ कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो भने फेरि अर्को अति हुन्छ।
    त्यसैले होला, बुद्धले मध्यमार्गको बाटो बताए। न धेरै तातो, न धेरै चिसो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us