Saturday, July 4, 2020

भारतीय माछा नआएपछि स्थानीय माछाको मूल्यवृद्धि


प्रस, पर्सागढी, २० असार/
    लकडाउन र सीमा सिल गरिएको कारण भारतबाट माछा आउन नसकेपछि पर्सा जिल्लामा स्थानीय माछाको मूल्य पनि बढेको छ ।
    बोइलर कुखुराको उत्पादन ठप्प भएको र बाहिरबाट खसीबाख्रा पनि नआउँदा बोइलर र खसीको मासुको मूल्यवृद्धि भएसँगै अहिले माछाको मूल्य पनि बढेको छ ।
    भारतको आन्ध्र प्रदेशबाट आउने माछाले पर्सा जिल्लाको बजारमा स्थानीय माछाको मूल्य बढ्न सकेको थिएन । तर अहिले भारतबाट आउने माछा तीन महीनाभन्दा बढी समयदेखि रोकिएको कारण जिल्लामा स्थानीय माछाको मूल्य बढेको हो । लकडाउन शुरू भएको बेला एक किलो वजन भएका रहु, ग्रासकाप, भकुरा, बिग्रेड जातका माछा प्रतिकिलो बढीमा रु तीन सयसम्म बिक्री हुँदै आएको थियो ।
    तर अहिले लामो समयदेखि भारतीय माछा नेपाली बजारमा आउन छाडेको र स्थानीय माछामा आश्रित हुन बाध्य उपभोक्ताहरू महँगो मूल्यमा माछा खरीद गर्न बाध्य छन् । अहिले रहु, ग्रासकाप, भकुरा, बिग्रेड जातका माछा प्रतिकिलो रु साढे चार सयसम्म बिक्री भइरहेका छन् । सबैभन्दा बढी भकुरा माछाको मूल्य बढेको छ । सो माछा प्रतिकिलो साढे चार सय पुगेको माछा व्यवसायी बताउँछन् । यसैगरी, रहु, ग्रासकाप, बिग्रेडको मोल प्रतिकिलो रु तीन सय सत्तरीसम्म छ ।
    पर्सा जिल्लामा करीब चार सय हेक्टर क्षेत्रफलमा माछाखेती हुने गरेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । यसैगरी जिल्लामा सबैभन्दा बढी माछा पर्सागढी नगरपालिका र छिपहरमाई गाउँपालिकामा उत्पादन हुने गर्छ ।
    माछापालक किसानहरूले स्थानीय माछाको माग बढेसँगै मोल पनि बढेको र लगानीबमोजिम नाफा आर्जन भइरहेको बताएका छन् । उनीहरूले भारतीय माछा बजारमा बिक्री हुँदा स्थानीय माछाबाट आशाप्रद मुनाफा नभएकोमा लकडाउन र सीमा सिलले गर्दा नेपाली माछा किसानहरूलाई फाइदा पुगेको बताएका छन् ।
    पर्सा जिल्लामा वार्षिक १२ सय मेट्रिक टन माछाको खपत छ । अहिले यो परिमाणमा पर्सा जिल्लामा माछा उत्पादन भइरहेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us