Wednesday, July 1, 2020

राजा महेन्द्र र गणतन्त्र नेपाल

कुमार रुपाखेती
    राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरे कि ‘फू’ गरे मलाई थाहा भएन। तर २०१७ देखि २०२७ सम्मको १० वर्षे अवधिमा उनले वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, सिमेन्ट उद्योग, कपडा उद्योग, बाँसबारी जुत्ता, त्रिभुवन विश्वविद्यालय, विमानस्थल, यातायात र कृषिको क्षेत्रमा उल्लेखनीय विकास गरे। यो १० वर्षे शासनकालमा उनले थुप्रै मुलुकहरूसँग दौत्य सम्बन्ध, असंलग्न परराष्ट्र नीति, नेपालको पहिचान, संयुक्त राष्ट्रसङ्घको सदस्य, नेपाली नोटको प्रचलन र भारतीय प्रभाव निस्तेज गर्ने काम गरे। एउटा तानाशाह राजाले १० वर्षमा मुलुकका लागि यति धेरै काम गरेको उदाहरण थोरै मात्र होलान्। औद्योगिक क्षेत्र, विकास क्षेत्रको अवधारणा पनि महेन्द्रकै सोचको उपज हो। उनको पालामा सFम्प्रदायिक सद्भावको उल्लेखनीय र सराहनीय स्तरोन्नति भएको थियो। ऐतिहासिक पूर्व–पश्चिम राजमार्ग राजा महेन्द्रकै देन हो।  विकास र राजनीतिमा मात्र होइन उनी कवि मविवि शाह पनि थिए। उनको कवितामा राष्ट्रप्रेम झल्किन्थ्यो। म मरे पनि मेरो देश बाँचिरहोस्, सुनको छ थाल कहीं, कहीं छ पात खाली, गर्छिन् पुकार आमा रोइकराइ जोडले आदि इत्यादि। राष्ट्रिय निकुञ्जको अवधारणा, जनावरको संरक्षण, राष्ट्रियता, स्वास्थ्य, नेपाली पोशाक, शिक्षा, एकता आदि महेन्द्रकै देन हुन्।
    उनको पालामा सडकहरूको अवस्था कहालीलाग्दो थियो। यस्तो समयमा पनि उनले प्रितम सिंह भन्ने पञ्जाबी सरदारमार्फत् खाद्यान्न आदि ढुवानी गर्न एकैपटक तीन सयभन्दा बढी ट्रक नेपाल भिœयाएका थिए। हेटौंडा–काठमाडौं रोपवेबाट सामान ढुवानी हुने त्यो बखत प्रितम सिंहको तीन सय ट्रकले निकै सहयोग पुगेको देखिन्छ। राजाको आग्रहमा यिनै पञ्जाबीले एनपिएमएस (नेपाल पब्लिक मोटर सर्भिस)को नामले अधिराज्यभर यात्रुबस कुदाएका थिए। मुग्लान पस्ने र लाहुरे बन्ने मनाङ्गेहरूलाई सहुलियतमा हड्ढङ, बैंककको व्यापार गर्न सिकाउने यिनै राजा हुन्। तराईको उब्जनीले मुलुकभर बजार पाउन थालेको यिनकै पालामा हो। तराईका जमिन्दारहरूलाई भूमिसुधार लागू गरी तह लगाएर तराईका जनतालाई सुकुमबासी बन्नबाट जोगाएका थिए। राजनीतिक पीडितहरूलाई मूर्तिया
(सर्लाही)मा जग्गा वितरण, छुवाछूत र हलिप्रथा उन्मूलनमा यिनकै अतुलनीय योगदान देखिन्छ। यिनको पालामा भुसाहा रौतहटमा जातीय दङ्गा भडकिन खोज्दा राजा स्वयम् रौतहट पुगेको इतिहास छ। भुसाहाकाण्ड तत्कालै नियन्त्रण गरेकोमा त्यतिखेर इन्दिरा गाँधीले राजालाई बधाईसमेत दिएकी थिइन्। रौतहटबाट पथलैया पुगेका राजालाई कविता सुनाउन वीरगंजबाट धु्रवचन्द्र गौतम गएका थिए। कविता वाचनपछि राजाले उनलाई बक्सिस (पुरस्कार) दिएका थिए। कोही पनि ३२ लक्षणले युक्त हुँदैनन्, महेन्द्रका पनि कमजोरी होलान्, विपक्षीमाथि बलमिच्याइँ गरे होलान्, त्यसैले धेरैले महेन्द्रलाई तानाशाह पनि भन्छन्। विशेश्वर, गणेशमानहरू नेपालमा टिक्न नसकेर निर्वासनमा भारत गएपछि २०३३ सालतिर महेन्द्रका छोरा राजा वीरेन्द्रको पालामा राष्ट्रिय मेलमिलापको नारा लगाउँदै विपी नेपाल आए। गाँथगद्दी ताकेको आरोपमा त्यतिखेर धेरैले सजाय पाए। जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार भएको थियो। २०४६ को जनआन्दोलनले राजाहरूको शक्ति सिंहदरबारमा लग्यो। ३० वर्ष बितेछ नेपालमा प्रजातन्त्र आएको, तर यो तीस वर्षमा नयाँ विकास त कता हो कता राजा महेन्द्रको १० वर्षे शिशु शासनकालका विकास र उपलब्धिहरू कामै नलाग्ने गरी धराशयी बनाउँदै लगियो। टाढा नजाऔं, नजीकैको वीरगंज चिनीमिल, रोपवे, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग आदिको कहालीलाग्दो पतन हेरौं। भारतीय दबाब र प्रभाव दिन दुगुना रात चौगुनाले बढ्दो छ, भएका सडक र पुलको अवस्था जीर्ण छ। स्वदेशी र सरकारी उद्योग धराशयी बनाइ विदेशी दलाल पूँजीपतिहरूलाई प्रश्रय दिइएको स्पष्ट देखिन्छ। सामाजिक सद्भाव पूरै खलबलिएको र राष्ट्रिय अखण्डता आज हो कि भोलिझैं भान हुन्छ। जाबो हरियो तरकारीसमेत नेपाली उत्पादन खाल्डोमा र भारतीय उत्पादन बजारमा छ। संसदमा हिन्दी हावी हुँदैछ। गिरिजा, कृष्णप्रसाद, मनमोहन, शेरबहादुर, माधव, प्रचण्ड, ओली, बाबूराम, झलनाथ र सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द जस्ता अनगिन्ती महानुभावहरू प्रधानमन्त्री बने। यिनका पालामा विकास कछुवा गतिमा र भ्रष्टाचार खरायोको गतिमा थियो। तानाशाही भनिने पञ्चायतकालमा घोषितरूपमैं राजा (मात्र) संविधानभन्दा माथि हुन्थे, प्रजातन्त्र, गणतन्त्र कालमा थुप्रै छोटे राजाहरू संविधानको बुइँ नै चढेका छन्। महाकाली, गण्डक, कोशीको पानीमा रजाइँ गर्न पाउँदासमेत भारतले आँखा तर्छ, चीनले पत्याउँदैन। १४ अञ्चल ७५ जिल्ला र ५ विकास क्षेत्र भत्काइयो। ७ प्रदेश बनाइयो। मलाई थोरै त्यसलाई धेरै भन्दै प्रदेशहरू बम्किरहेका छन्। केन्द्र सरकारभन्दा के कम भन्दै प्रदेशमा समेत सरकारी ढुकुटी लूटमलूट छ। यो सब देख्दा मलाई कहिलेकाहीं चित्रबहादुर केसीको नीति ठीक लाग्छ। प्रदेश हटाऊ, न रहन्छ बाँस, न बज्छ बाँसुरी भन्दै उनको पार्टीले संसद्मा दर्ता पनि गरेको छ। वीरगंजको घण्टाघरमा चित्रबहादुरको एउटा आमसभा मधेसवादीले बिथोलेको पनि थियो।
    राजाको पालामा एउटा मात्र स्वतन्त्र विद्यार्थी मण्डल थियो। अहिले त दलैपिच्छे मण्डले पालिएका छन्। त्यतिखेर वीरगंजमा घण्टाघरको उत्तर स्वतन्त्र विद्यार्थी मण्डल र घण्टाघरको दक्षिण प्रतिबन्धित काङ्ग्रेसको नेविसङ्घको क्षेत्र मानिन्थ्यो। कुटाकुट चलिरहन्थ्यो। प्रा महेशकुमार उपाध्यायलाई नेविसङ्घले कुट्दा त्यतिखेर वीरगंजमा घमासान नै भएको थियो। हिन्दी बोल्ने स्व. भुपेन्द्रलाल नेपाली त्यतिखेर चर्चामा थिए। हुनेखाने युवाहरू त्यतिखेर वीरगंजको अमृत केबिनमा जम्मा हुन्थे। अमृत केबिन खानपिनका खातिर प्रख्यात थियो। अचेल त चानचुने खुदरिया नेतालाई पनि सुरक्षाकर्मी
(बडिगार्ड) चाहिन्छ। हुल्याहा पाल्नु बहुदले नेताहरूको मजबूरी भएको छ। छुल्याहा नेता हुल्याहा बडिगार्ड। काठमाडौं जानोस्, न्यूरोड हेर्नुस्, रैथाने व्यापारीको स्थानमा नयाँ र भारतीय व्यापारी टनाटन भेटिन्छन्। सिंहदरबारमा छिर्नुस्, त्यहाँ कार्यकर्ता, ठेकेदार, दलाल, भ्रष्टाचारीबाहेक जनता भेटिंदैनन्। नगरपालिका, गापा, सरकारी अफिस चारैतिर दलालहरू ठेलमठेल छन्। नेताले मात्र होइन, अब त कर्मचारीसमेतले जनताको सम्मान गर्न बिर्सिसके। जनताले तिरेको करबाट पियनदेखि प्रधानमन्त्रीको गुजारा चल्छ।
    अहिलेको जमानामा राजतन्त्र र गणतन्त्रको तुलना गर्न मिल्दैन तर राजतन्त्रले (राजा महेन्द्रले) छोटो अवधिमा नेपालका लागि जेजति गरे अहिलेकाले सोच्न र गर्न सक्दैनन्।
राजा र नेताका कुराहरू
्    सन् १९६१ मा चीनको पेकिङ भ्रमणका बखत राष्ट्रपति ल्यु सोओचीसँग राजा महेन्द्रले ५ बुँदे सहमति गर्दै काली नदी, कालापानी र लिम्पियाधुरामा नेपालको हक लाग्ने गरी छिनोफानो गरेका रहेछन्। लगत्तै सन् १९६२ मा भारत र चीनबीच युद्ध शुरू भयो र यो युद्धमा चीनसँग पराजित आफ्ना सैनिक राख्ने सुरक्षित स्थान नपाएपछि पण्डित जवाहरलाल नेहरूले राजा महेन्द्रलाई पत्र लेख्दै– ‘चीन युद्धबाट ब्याक हुन लागेका घाइते र बिरामी भारतीय सेना राख्ने भरपर्दो स्थान नपाएकाले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरामा केही समयका लागि टेन्ट र अस्थायी छाउनी बनाएर हाम्रो (भारतीय) सेना आराम गर्छ र छिट्टै भारत फिर्ता हुन्छ।”
    चाचा नेहरूको यो अनुनय–विनयलाई मानवताको नाताले राजा महेन्द्रले नाई भन्न सकेनन्। वास्तविकता यही हो, त्यो भूभाग हाम्रै हो। नेहरू पत्र लेख्न खप्पिस मानिन्थे। उनले छोरी इन्दिरा गाँधीलाई लेखेको नहरूज लेटर्स कुनै बखत नेपालमा समेत पढाइन्थ्यो। चाचा नेहरूले राजा त्रिभुवनलाई समेत बेलाबखत खत लेखिरहन्थे। त्यो जमानामा आफ्ना दूतमार्फत् पत्र ओहरदोहर हुन्थ्यो।
    ‘मामाकी घोडी मेरी ही–ही’ भनेझैं भारतले अहिले यही क्षेत्रमा दाबी गर्दै हावी हुन खोज्दैछ। राष्ट्रिय सङ्कटका बेला मुलुकप्रति सदासयता देखाउन आनाकानी गर्ने केही नेता, सांसद र दलहरू नेपालमा मौजूद छन्। यिनका यस्तै उटपटाङ व्यवहारले गर्दा यिनलाई भारतको वारेस भनेर ठप्पा लाग्ने गरेको छ। यसपालि यो संवेदनशील बेलामा जनता समाजवादी पार्टीले वीरबलको खिंचडी पकाउनुको साटो एकढिक्का भई राष्ट्रप्रेम दर्शायो। विगतमा कुर्सीसँग मधेस साट्ने आरोपबाट केही हदसम्म मुक्ति पायो। ठूला दलहरूले पनि अब यिनलाई सेनिटाइजरझैं प्रयोग गर र फालको रूपमा पुछ्ने र फाल्ने गर्नुभएन। किनकि सरिता गिरी मार्काहरूले भारतको कालापानी कदमलाई डुबतेको तिन्का सहारा बनाउन सक्छन्। पद, पावर र पैसाको लोभ काङ्ग्रेस, कम्युनिस्ट, राप्रपा सबैमा छ। तर राष्ट्रिय मुद्दाका जल्दाबल्दा विषयमा यिनीहरू जबान सम्हालेर बोल्छन्, केही मधेसवादीहरू आव देखा न ताव जथाभावी बकवास गर्छन्। तित्राको मुखै बैरी भन्ने उखान नै छ।
    अचेल त नेपालमा राष्ट्रिय तत्व र अराष्ट्रिय तत्व छुट्याउनै कठिन छ। कम्बल ओढेर भारतको घ्यू पिउनेहरू यहाँ सबै दलमा काबिज छन्। बाबूरामलाई त भारतको भनेर बात लगाइन्छ। साना ठूला सबै दलमा, पदमा भारतका घुसपैठिया र जासुस छन् रे।
    सन्दर्भ बदलिऊ– नेपाली राजतन्त्रले भारतसँग शिर ठाडो गरेर, समानता, सार्वभौमसत्ताको कुरा उठान गर्न थालेपछि भारतीय शासकहरू नेपाली राजतन्त्रका नाइके राजासँग चिढिन थालेको केही उदाहरणहरूसमेत पाइन्छन्। जस्तैः २०२६ सालको अन्त्यतिर इन्दिरा गाँधीले राजा महेन्द्रसँग रिसाएर नेपालमा पहिलो नाकाबन्दी गरिन्, यो नाकाबन्दी विश्वमैं छिमेकी राष्ट्रविरुद्ध पहिलो नाकाबन्दी मानिन्छ। त्यसबेला नेपालमा एउटा मात्र कोदारी राजमार्ग सुचारु थियो। नेपालको छुट्टाछुट्टै पारवहन र वाणिज्य सन्धि गरौं भन्ने प्रस्ताव इन्दिरालाई नराम्रो लागेछ। त्यस्तै, असंलग्न राष्ट्रहरूको लुकासा सम्मेलनमा उभिएकी इन्दिरा गाँधीसँग राजा महेन्द्रले सिटमैं बसीबसी हात मिलाए भन्ने कुरा त्यतिखेरको भारतीय मिडियाले जोरजुलुमका साथ उठाए। त्यतिखेर नवराज सुवेदी पारवाहन र वाणिज्य मन्त्री थिए। नाकाबन्दी र सन्धिको कुरा नमिलेपछि दूरदर्शी राजा महेन्द्रले बोर्डर सिल गर्ने प्रस्ताव राख्दा इन्दिरा गाँधी रातोपिरो हुँदै नेपाल–भारतको बोर्डर सिल गर्ने कुराको ठाडै विरोध गरिन्। यसको झन्डै एक वर्षपछि नारायणगढको दियालो बङ्गलामा हृदयघात भएर राजा महेन्द्रको देहावसान भयो। त्यस्तै सन् १९७३ को फेबु्रअरीमा इन्दिरा गाँधीको नेपाल भ्रमणका बखत एक रात्रिभोजमा राजा वीरेन्द्र इन्दिरा गाँधी पुगेको १५ मिनेटपछि सवारी हुँदा इन्दिराले यसलाई आफ्नो अपमान ठानिछन्। त्यस्तै पाकिस्तानमा सन् १९८९ मा भएको सार्क सम्मेलनमा बेनजीर भुट्टोको स्वीकृति लिएर राजीव गाँधीले दिएको रात्रिभोजमा पोर्टफोलियो नमिलेको भन्दै राजा वीरेन्द्रको सवारी भएन। त्यस्तै, अर्को एउटा घटनामा राजीव गाँधीले नेपालमा नाकाबन्दी गर्दा सानो मुलुक भनेर नेपाललाई नहेप भन्दै थुप्रै विदेशी राष्ट्रप्रमुखहरूले राजीव गाँधीलाई –याख–याख्ती पार्दा, राजीव गाँधीले फोनमार्फत् नारायणहिटीमा कुरा गर्न खोज्दा यताबाट राजा शिकारमा सवारी भएको जानकारी गराइ फोन काटिएछ। यी कुराहरूमा राजाका तत्कालीन सल्लाहकारहरूको कमजोरीसमेत उजागर हुन्छ। त्यस्तै सोनियालाई पशुपति दर्शन गर्न दिइएन र राजा ज्ञानेन्द्र सत्तामा रहँदा अफगानिस्तानलाई सार्क राष्ट्रहरूको सदस्य बनाउने र चीनलाई पर्यवेक्षक बनाउने नेपालको प्रस्ताव पनि भारतलाई नराम्रो लागेको रहेछ। नानीभन्दा आची ठूलो बनाउने भारतीय सञ्चार मिडियाले यस्ता घटनामा खुबै मलजल ग–यो। ज्ञानेन्द्रले सलिम मियाँ अन्सारीजस्तालाई मन्त्री बनाएकोमा पनि भारत असन्तुष्ट थियो रे। अचेल त महामहिम भारतीय राजदूतको दर्शनभेट गर्न भारतीय दूतावास छिर्ने थुप्रै छन्। भारतीय राजदूत यहाँ हर्ताकर्ता देखिन्छन्। अहिले त पटक–पटक भारतले नेपालको चिरहरण गरेको र गणतन्त्र नेपालका नेताहरू निगुरमुन्टेझंै झुक्दासमेत भारतले लतारेको लता–यै छ। लाचारी र कमजोरीको हद पार गरिसक्दासमेत ठूला दल मौन छन्।
्    भनिन्छ, राजा महेन्द्रको सुझबुझ र दूरदर्शी कूटनीतिका चल्ते भारतले नेपाललाई सिक्किम र काश्मीर बनाउन नसकेको तुष (पीडा) अब उजागर भइरहेको छ। अब जमाना बदलिएको छ, कुनै पनि शक्तिशाली मुलुकले छिमेकी मुलुकलाई हडपिन खोज्नु ‘लोहेकी चना चबाने’ जस्तै निल्नु न ओकल्नु अर्थात् साप–छुचुन्द्रोको अवस्था हुन्छ रे। पुरानो यही रिस साँध्न भारतले सानोसानो कुरामा बखेडा गर्ने, सीमा मिच्ने, सीमा स्तम्भ उखेल्ने, सार्ने, राजनीतिमा दलाल र वारेस खडा गर्ने, बेला–कुबेला मधेसको हितैषी साबित गर्न खोज्ने नीति अपनाएको बुझिन्छ। नेपालको दुर्भाग्य भनौं आज हामीसँग न पृथ्वीनारायण शाह छन्, न महेन्द्रजस्ता राजा, न जङ्गबहादुरसरहको सनकी र जङ्गी प्रधानमन्त्री। नेपाली राजनीतिमा अहिले निगुरमुन्टे ‘न’ मात्र शेष छन्।
    नेपाली संसद्ले आफ्नो नयाँ नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित पास गर्दा भारतीय मिडियाले बाजा बजाउन शुरू गरिसकेको छ। २०७२ सालमा हाम्रो संविधान घोषणा हुँदासमेत भारतीय नेता र मिडियाले ठूलै रँडाको मचाएको ताजै छ। भनिन्छ, नेपालभित्रै नेपाली नेताहरूको उछितो काढ्न सक्ने जमात भारतले निर्माण गरिसकेको छ रे। प्रधानमन्त्री ओलीको विरोधमा यो जमात अरिङ्गाल बनेर खनिने अनुमानसमेत राजनीतिक वृत्तमा चल्न थालेको छ।
    कुनै बेला भारतलाई ब्रिटिश इन्डिया भनिन्थ्यो। त्यतिखेर त्यहाँ भारतीय होइन कम्पनी रुपैयाँ चल्दथ्यो। त्यो जमानामा पनि नेपाल पर्वतझैं ठिङ उभिएको थियो, मोहरिया (नेपाली) रुपैयाँ चलनचल्ती थियो। अब नक्शामा गाभिएको भूमि कहिले हाम्रो हुने हो, त्यो पर्खाईको विषय भएपनि आगे आगे देखते जाइये होता है क्या १ यसपालि मधेसवादी दलले मोदी एन्ड कम्पनीलाई झापड हानेकै छन्। सन् १८१६ मा इस्ट इन्डिया कम्पनीले मधेसमा बस्नेलाई नेपालमा बस्ने कि हाम्रो मातहत बस्ने भनी सोध्दा मधेसका जनताले नेपालकै मातहत बस्ने भनेको कुरासमेत स्मरणयोग्य छ। मधेसमा बस्ने सबै भारतीय पक्षधर न नभई सरिता गिरी मार्का मात्र भारतीय पक्षधर रहेको अहिले प्रमाणित भएको छ। जनता समाजवादी दलले राष्ट्रियताको सवालमा एक फड्को मार्दै मधेस र पहाड मिले मात्र नेपाल रहन्छ भन्ने सन्देश प्रवाह गरेको छ।
    जग्गाधनी पूर्जा बनाइयो, अब भोगचलन गर्न कहिलेदेखि पाउने हो ?

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us