Saturday, June 20, 2020

सर्पदंशका बिरामीहरू मृत्युको मुखबाट जोगिए


प्रस, परवानीपुर, ६ असार/
    तराईमा अहिले गर्मी र वर्षात् दुवै छ। यसैबीच सर्पदंशका घटनामा पनि वृद्धि भएको छ। नारायणी अस्पतालमा मात्रै बारा, पर्सा, रौतहटबाट प्रतिदिन १० भन्दा बढी सर्पदंशका बिरामी आउन थालेका छन्। जसमध्ये धेरैजनाको ज्यान  जोगिएको छ। यस्तै, एक साताभित्र  तीन/चार जना मृत्युको मुखमा पुगिसकेका बिरामीहरूको ज्यान जोगिएको छ।
    नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख डा उदयनारायण सिंहका अनुसार चार दिनभित्र चारजना गम्भीर प्रकृतिका बिरामीहरू निको भएर घर जाने तयारीमा रहेको बताए।
घटना नं. १
    बारा, जीतपुरसिमरा उपमनपा–४ बिसौलियाकी ६५ वर्षीया लक्ष्मनीयादेवी सहनीलाई बुधवार साँझ ५ बजे घरमा गोमन सर्पले डसेको थियो। फूसको घरमा रहेको दुलोलाई खुट्टाले पुर्ने क्रममा उनलाई सर्पले डसेको थियो तर त्यतिबेला उनले मुसाले टोकेको भन्दै बेवास्ता गरिन्। दुई घण्टापछि उनको अवस्था बिग्रियो। साँस फेर्न अप्ठेरो र कण्ठ अवरुद्ध भएपछि उनी अचेत भइन्। उनको श्वासप्रश्वास र मुटुको ढुकढुकी पनि रोकिएपछि परिवारजन तनावमा आए।
    लक्ष्मिनीयाकी जेठी बुहारी जानकी देवीले भनिन्, हामीले आु मारिसकेका थियौं, आमाको श्वास बन्द भइसकेको थियो, उहाँ होसमा हुनुहुन्थेन। १२ घण्टाको चिकित्सकको प्रयासपछि उनको ज्यान जोगिएको छ।”
    डा उदयनारायण सिंहले यस्तो अवस्थालाई कार्डियो पुल्मोनरी अरेस्ट भनिन्छ भने। सर्पदंश भएपछि न्युरो टक्सिन तत्वले मानिसको शरीरको नसालाई असर पार्दै पक्षघात गर्दै जान्छ। समयमा उपचार भएन भने केही घण्टामैं मृत्यु हुने सम्भावना रहन्छ। ५ बजे सर्पले टोकेपछि उनलाई ८ बजे अस्पताल पु–याइएको थियो। त्यसपछि उनको जीवन जोगियो।
घटना नं. २
    बारा, बलिरामपुर गाउँपालिका–४ बलिरामपुरका ६० वर्षीय रामविलास साह सोमवार राति फुसको घरमा सुतिरहेका थिए। उनीसँगै छोरा अर्जुन साह पनि सुतेका थिए। राति सवा १० बजे उनको खुट्टामा कसैले टोकेको जस्तो दुख्यो। उठेर हेर्दा केही थिएन। पछि सर्पले टोक्यो भनेर आशङ्का भयो। एक घण्टापछि घाँटी अवरुद्ध हुने, बेचैनी र साँस फेर्न कठिनाइ भएको उनले छोरालाई बताए।
    राति १ बजे उनलाई नारायणी अस्पताल ल्याइयो। चिकित्सकको निगरानीमा विनाभेन्टिलेटर इमर्जेन्सी कक्षमा उपचार शुरू भयो। कृत्रिम श्वास दिएर करीब ७२ घण्टापछि उनको बिहीवार दिउँसो १ बजे श्वास फर्केको र उनी होसमा आएको डा सिंहले बताए। सर्पदंशबाट वृद्धहरू बाँच्ने सम्भावना कम हुन्छ तर पनि उनको ज्यान जोगियो।
घटना नं. ३
    वीरगंज महानगर–१५ भिस्वाकी २७ वर्षीया सुनन्दा सिंह पनि सर्पले टोकेपछि अस्पतालमा उपचारपछि घर जाने तर्खरमा छिन्। गत बिहीवार बिहान ११ बजे पूजा गर्न जाने क्रममा बारीबाट निस्केको सर्पले उनको खुट्टामा टोक्यो। कुन सर्प हो भनेर चिन्न सकिनन् तर पूजा नगरीकन उनलाई हतारहतारमा नारायणी अस्पताल पु–याइयो। उनको अवस्था पनि अहिले सुधारोन्मुख छ। उनलाई सम्भवतः शनिवार डिस्चार्ज गर्ने तयारी छ।
    यसैगरी, एकजना बालकलाई पनि चार दिनअघि सर्पले टोकेको थियो। उनी पनि निको भएर घर फर्केका छन्। चिकित्सकहरूले गर्मी र वर्षायाममा सर्पदंशका घटना वृद्धि हुने भएकाले राति सुत्ने बेलामा र अँध्यारोमा हिंड्डुल गर्दा सावधानी अपनाउन आग्रह गरे।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us