Saturday, May 9, 2020

मनमा सद्भावनाहरू राखौं

    यो संसार हाम्रो भावनाहरूको नै एक रूप हो। हामी स्वयम् जस्तो विचार गर्छौं, जुन कल्पनाहरूमा व्यस्त रहन्छौं, त्यस्तै नै अरूलाई पनि सम्झन्छौं। आफ्नो व्यक्तित्वको अनुसार नै हामी अरूको चरित्रलाई जाच्दछौं, उनीहरू राम्रा–नराम्रा के हुन् पहिचान गर्छौं। संसारमा व्यक्ति ऐना जस्तै हो, जसमा हाम्रो प्रतिविम्ब देखिन्छ, हाम्रो विचार, मन्तव्य, भावनाहरू, योजनाहरू, कल्पनाहरू साकार हुन्छन्।
    जुन व्यक्तिमा हामीलाई त्रुटिहरू दृष्टिगोचर हुन्छन्, बिस्तारै–बिस्तारै उसविरुद्ध हामीले एक अन्धविश्वास मनमा राख्छौं। त्यसपछि हामीलाई त्यस व्यक्तिमा दोष नै दोष देखिन्छ। यी दोषहरूका कारण त्यस व्यक्तिमा मात्रै छैन, स्वयम् हामीमा पनि छ। हाम्रो आफ्नै दोषहरू त्यस व्यक्तिमा प्रतिविम्बित मात्र भएको हो।
    परदोष–दर्शन एक मानसिक रोग हो। जसको मनमा यो रोग उत्पन्न हुन्छ, उसले अरूमा अविश्वास, भद्दापन, मानसिक नैतिक कमजोरी मात्र देख्छ। राम्रा व्यक्तिहरूमा पनि उसलाई त्रुटि र दोषको प्रतिविम्ब देखिन्छ। आफ्नो असफलताहरूका लागि पनि उसले अरूलाई दोषी ठह¥याउँछ।
    संसार एक प्रकारको खेत हो। किसानले खेतमा जस्तो बीउ रोप्छ, त्यसको बिरुवा र फल पनि उस्तै नै हुन्छ । प्रकृतिले आफ्नो गुण कहिले पनि त्याग्दैन। हामीले जस्तो बीउ रोप्छौं, त्यस्तै नै फल हामीलाई प्राप्त हुन्छ। बीउको गुण वृक्षको हरेक पात र अणुमा विद्यमान रहन्छ। हाम्रा भावनाहरू पनि यस्तै नै बीउ हुन्, जसलाई हामीले समाजमा रोप्छौं र त्यसलाई काट्छौं। हामीले यी भावनाहरू अनुसार नै अरू व्यक्तिहरूलाई राम्रो–नराम्रो बुभ्mछौं। स्वयम् आफ्नोभित्र जस्तो भावनाहरू राखेर हिंड्छौं, त्यस्तै नै आफ्नो संसार बनाउँछौं। ऐनामा उसकोतर्फबाट केही पनि हुँदैन। यसै प्रकार समाजरूपी ऐनामा हामी स्वयम् आफ्नो आन्तरिक स्थितिको प्रतिविम्ब प्रतिदिन प्रतिपल पढ्छौं।
    एकजना नराम्रो अनुहार भएको कालो व्यक्तिले आफूले आपैंmलाई एकदमै राम्रो सम्झन्थ्यो। संयोगले उसले आफ्नो प्रतिविम्ब जलमा हे¥यो। आफ्नो महाकुरूप आकृतिलाई हेरेर ऊ भयभीत भयो। उसलाई आफ्नो प्रतिविम्बमाथि विश्वास भएन, उसले फेरि ऐनामा आफ्नो प्रतिविम्ब हे¥यो, अनिमात्र उसलाई वास्तविकताको ज्ञान भयो। यसै प्रकार यदि हामीलाई कुनै यस्तो ऐना प्राप्त होस्, जसले हाम्रो आन्तरिक विकारहरू, दुर्भावनाहरू, कुकल्पनाहरूलाई मूर्तरूप प्रदान गरिदेओस् त हामीलाई यो हेरेर आश्चर्य हुन्छ कि हाम्रो अन्तप्र्रदेशमा कति फोहर र विकारहरू एकत्रित भएका छन् ? आन्तरिक फोहरको फलस्वरूप नै प्रायः हामीलाई संसारमा कुरूपता र दोषको वातावरण दृष्टिगोचर हुन्छ। हामीले जस्तो दिन्छौं, त्यस्तै नै लिन्छौं। जब हामी अनिष्टकर दोष–दर्शन भएको दुष्प्रवृत्ति लिएर संसारमा निस्कन्छौं, तब बदलामा हामीलाई दोष, असफलता, प्रमाद, भूmट, कपट, मिथ्याचार नै प्राप्त हुन्छ।
    हाम्रो सुखको कारण हाम्रो सद्भावनाहरू नै हुन सक्छ। राम्रो विचार, अरूप्रति उदार भावना, सद्चिन्तन, गुण–दर्शन यी दिव्य मानसिक बीज हुन्, जसलाई संसारमा रोपेर हामीले आनन्द र सफलताको मधुरता प्राप्त गर्न सक्छौं । शुभ भावनाको प्रतिविम्ब शुभ नै हुन्छ। गुण–दर्शन एक यस्तो सद्गुण हो, जसले ह्दयमा शान्ति र मनमा पवित्र प्रकाश उत्पन्न गर्छ। अरूको सद्गुणलाई हेरेर हाम्रा गुणहरूको स्वतः विकास हुन्छ। हामीलाई सद्गुणहरूको यस्तो सुसङ्गति प्राप्त हुन्छ, जसमा हाम्रो देवत्व विकसित भइरहन्छ।
    सद्भाव पवित्रताको लागि परमावश्यक छ। यसमा हाम्रा कार्य शक्तिहरू आफ्नो उचित स्थानमा बसेर फलित–पुष्पित हुन्छन्। हामीलाई भित्रैदेखि  निरन्तर एक यस्तो सामथ्र्य प्राप्त हुन्छ, जसले निरन्तर हाम्रो उन्नति भइरहन्छ ।
    एक विद्वान्ले सत्य नै लेखेका छन्– “शुभ विचार, शुभ भावना र शुभ कार्यले मनुष्यलाई सुन्दर बनाउँछ। यदि सुन्दर हुनु छ भने मनबाट ईष्र्या, द्वेष र बैर–भाव निकालेर केवल यौवन र सौन्दर्यको भावना राखौं। कुरूपतातर्फ ध्यान नदिऔं । सुन्दर मूर्ति, पवित्र मूर्तिको कल्पना गरौं। प्रातःकाल यस्ता स्थानहरूमा घुम्न जाऔं, जहाँको दृश्य मनोहर होस्, राम्रा–राम्रा फूलहरू फुलेको होस्, पक्षीहरू गीत गाइरहेको होस्, उडिरहेको होस्, चहकमहक गरिरहेको होस्। राम्रा पहाडहरूमा, हराभरा जङ्गलहरूमा र नदिका सुन्दर तटहरूमा घुमौं, टहलौं, दौडौं र खेलौं। वृद्धावस्थाको भावनाहरूलाई मनबाट बाहिर निकालौं र बनौं हाँसिरहेको बालक समान सद्भावपूर्ण। त्यसपछि हेरौं कस्तो आनन्द आउँछ।”
    मनुष्यको उच्चतर जीवनलाई सुसज्जित गर्ने बहुमूल्य आभूषण सद्भावना नै हो। सद्भावना राख्ने व्यक्ति सबैभन्दा भाग्यवान् हुन्छ। ऊ संसारमा आफ्नो सद्भावहरूको कारण सुखी रहन्छ, पवित्रता र सत्यताको रक्षा गर्दछ । उसको सम्पर्कमा आउने प्रत्येक व्यक्ति प्रसन्न रहन्छ र उसको आह्लादकारी स्वभावबाट प्रेरणा प्राप्त गर्दछ। सद्भावना सर्वत्र सुख, प्रेम, समृद्धि उत्पत्ति गर्ने कल्पवृक्ष जस्तै हो। यसमा दुवै व्यक्तिलाई लाभ हुन्छ। जुन व्यक्ति स्वयम् सद्भावना मनमा राख्दछ, ऊ प्रसन्न र शान्त रहन्छ। सम्पर्कमा आउने व्यक्ति पनि प्रसन्न एवं सन्तुष्ट रहन्छ। त्यसैले मनमा सदैव सद्भावनाहरू नै राखौं।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us