Friday, May 8, 2020

अआश्चर्य दृश्यभन्दा पृथक

सञ्जय मित्र
    हिमालय शृङ्खलाको दर्शन अआश्चर्यजनक होइन। दशगजाको आसपासबाट हिमालयको दृश्य देखिनु पृथक आश्चर्य हो।
    दुई भिन्न धरातलका एकै यथार्थ हुन्। गत हप्ता हिमालय शृङ्खलाको दर्शन भएपछि सामाजिक सञ्जाल र केही भारतीय चर्चित अखबारहरूले दुवै पृथक आश्चर्यलाई प्रस्तुत गरे।
    जनकपुरका कलाकार उपेन्द्रभगत नागवंशी, सर्लाहीको बलराबाट पत्रकार चन्द्रकिशोर र रौतहटको गेंडहीगुठीबाट उत्तरका हिमालय शृङ्खलाको दृश्य देखिएका फोटाहरू नै सामाजिक सञ्जालमा सार्वजनिक ग¥यौं। दैनिक जागरणलगायतका भारतीय चर्चित दैनिक अखबारहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट हिमालयको दृश्य देखिएका फोटा तथा खबरहरू प्रकाशित गरे। साथै विभिन्न व्यक्तित्वका विचारहरू पनि प्रवाहित गरे।
    हिमाल देखिनु अआश्चर्यजनक हो। चालीस उमेर काटेकालाई यसो लाग्नु स्वाभाविक छ। मलाई राम्ररी सम्झना छ, आकाश सफा हुँदा यो नियमित दृश्य थियो। वर्षापछि पहाडतिर पनि बादल नभएको बेला मुख्यगरी बिहान र साँझतिर हेरेर रमाउने दृश्य थियो। नेपाल–भारत सीमा क्षेत्रको अलिकति मात्र दक्षिणमा निर्माण भएको बाँधबाट पनि यो दृश्य धेरैपटक देखेको सम्झना छ। बैरगनिया छिर्ने मूल नाकाभन्दा केही पश्चिमतिर बाँधबाट धेरैपटक साथीहरूसँग मुख्यगरी साँझपख हिमालय देखेर रमाएको छु। यसै कारण भारतीय सीमावर्ती क्षेत्रका विभिन्न विद्वान्हरूले आफूहरूले पहिले हिमालयको दर्शन सामान्य रहेको बताउँदै अआश्चर्यजनक रहेको विचार व्यक्त गरेका छन्।
    एकथरीले त हिमालयको दृश्य नदेखिएको पनि बताइरहेका छन्। ती नवयुवाहरू जसले दृश्यपान गरेर नयनलाई तृप्त पार्न र मनमस्तिष्कमा दृश्याङ्कन गर्न सकेनन्, तिनीहरूले दुःखेसो पोख्नु अस्वाभाविक होइन। आफूले देख्न नपाएको भन्ने आक्रोशले जन्माएको अविश्वास पनि हुन सक्छ। आफ्नो आँखाले देख्न पाएको कुरालाई सत्य मान्ने र अरूको बोलीको सत्यलाई अस्वीकार गर्ने प्रवृत्ति पनि हुन सक्छ। अर्को कारण यो पनि हो कि जसले कहिल्यै कतैबाट हिमाल देखेका छैनन्, उसलाई हिमाल कस्तो हुन्छ भन्ने थाहा नै छैन। त्यस दिनको दृश्य पनि छुट्यो। सोझोरूपमा हेर्दा चुरे पर्वत शृङ्खला, महाभारत पर्वत शृङ्खला र त्यसपछि हिमालय शृङ्खला हो। पूर्व–पश्चिम राजमार्गको आसपासबाट त चुरे नै ठूलो देखिन्छ र कतिपय ठाउँमा महाभारतलाई छेकेको हुन्छ चुरेले। यो दृश्य देख्नेको मनोविज्ञानमा हिमालय त निकै टाढा छ र यहाँबाट देखिंदैन भन्ने लाग्नु अस्वाभाविक होइन। यदि कसैले हिमालय देखेको भन्दछ भने मिथ्या लाग्नु स्वाभाविक हो।
    नवयुवाहरूको लागि भने आश्चर्यजनक नै छ। जसले सफा र स्वच्छ हिमालयको दृश्य देखे, जसको लागि अभूतो थियो, आश्चर्यजनक हुनु स्वाभाविक हो। कहिल्यै नदेखेको आश्चर्य जो देखिएको थियो। हिमालयभन्दा धेरै टाढाबाट हिमालय शृङ्खलाको दर्शन। त्यस दर्शनमा अनुमानले नै यो फलानो हिमाल हुनुपर्छ र यो चाहिं फलानो हिमाल । नाम जानेका र जिल्ला थाहा भएका हिमालसित नाम जोडेर साथीभाइबीच सुखद आश्चर्यको वितरण हुनु आपैंmमा पनि सुखद थियो। सुख दिने दृश्यको फोटो धेरैले खिंचे। धेरैले आफ्नो घरपरिवारमा देखाए। धेरैले हिमालसित परिचित गराए। कतिपयले आफ्ना बालबालिकालाई हिमालको दृश्य देखाएर भने– पहिले पहिले यो सामान्य थियो तर वातावरणमा प्रदूषण बढ्दै जाँदा यो दृश्य अलप भइसकेको थियो। अहिलेको मौसमले यस दृश्यसित साक्षात्कार गर्ने मौका प्राप्त भएको छ।
    हुन पनि हो। अहिलेको मौसम गज्जबको छ। मौसमप्रति व्यङ्ग्य गर्दै एकजनाले लेखेका छन् – “क्यालेन्डर हेर्दा वैशाख, दिउँसोको झरी हेर्दा असार तथा साँझको अवस्था हेर्दा कात्तिकजस्तो लाग्छ। अझ समयसमयमा भइरहने दीपावलीले त पूरा कात्तिककै झल्को दिन्छ। बिहानीपखको जाडोले यसको पुष्टि गरेको छ।” अहिलेको जस्तो मौसम कहिल्यै नभोगेको बताउनेहरू पर्याप्त छन् । स्थानीय मौसमको बारेमा धेरैलाई दुर्लभ संयोगहरू निकै कम सम्झना हुन्छ। मधेसमा बुद्ध पूर्णिमाको राति जूनलाई हेर्दै सिरक ओढ्नुपर्ने बेमौसमी यथार्थ कतिलाई सम्झना छ कुन्नि तर अहिलेको यथार्थ अबका दिनमा फेरि अआश्चर्यजनक बन्ला कि नबन्ला ? भविष्यको गर्भमा लुकेको छ उत्तर।
    अहिलेसम्म जाडो बेमौसमी यथार्थ हो तर यस बेमौसममा वातावरणीय स्वच्छता सुखद आश्चर्य हो। वातावरणीय स्वच्छताको कारण नै हिमाल देखिएको हो। वातावरण कतिसम्म स्वच्छ भएको छ भने विगत कैयौं दशकमा यस प्रकारको स्वच्छताको मापन गरिएको थिएन। विश्वका ठूला र घना शहरहरूको आकाश पनि छ्याङ देखिन थालेको र स्वच्छ हावामा साँस लिन पाइरहेको खबर सञ्चारमाध्यमहरूमा आउन थालेका छन् । कोरोनाको कहरले विश्वमा उद्योग तथा सवारीसाधनको सञ्चालनमा आएको कमी अर्थात् समग्र यातायात क्षेत्र करीब ठप्प हुँदा वातावरणमा धूवाँको मात्रा ह्वात्तै कम भएको हो। अहिले हवाईजहाज, रेल, बस, मोटर तथा बाइकसम्म बन्द छन्। मानिस घरबाट पनि अन्य सामान्यावस्थाजस्तो सजिलो गरी निस्कन्नन्। यसले प्रदूषणको स्तरलाई कम गरेकै छ, साथै निरन्तर वर्षा पनि भइरहेको छ। वर्षाले गर्दा आकाश सफा हुन्छ।
    प्रदूषण कम र वर्षा भएर वातावरण स्वच्छ हुँदा अर्को सत्य पनि देखिएको छ । अस्पतालहरूमा अन्य सामान्य अवस्थाको तुलनामा बिरामीको चाप निकै कम छ। अस्पतालहरू उदास छन्। अस्पतालहरूको उदासीले अर्थतन्त्र थलिए पनि गरीबको स्वास्थ्य चाहिं पहिलेको तुलनामा केही सुध्रिएको हो कि भन्ने अनुमान लगाउन सहजता प्रदान गरेको छ। बिरामी भएर पनि अस्पतालमा आउन नसकेको वा आउन नचाहेको अवस्था त पक्कै पनि छैन किनभने गाउँघरमा पनि विगतका वर्षहरूमा भन्दा मानिस यसपटक बिरामी नै नपरेको बताउन थालेका छन्। अनेक आश्चर्यहरूबीच यसलाई सुखद आश्चर्य नै मान्नु मनासिब हुन्छ।
    कोरोना आपैंmमा आश्चर्य र रहस्य भएको छ, विश्वको लागि। कोरोनाकालमा अरू पनि आश्चर्यहरू भइरहेका छन्। यही आश्चर्यको शृङ्खलामा हिमालयको दर्शन पनि पर्न गएको छ, संयोगवश। हिमाल जहाँको तहीं छ। युगौंयुगदेखि त्यसले मानिसले भोगेका अनेक दुःख, पीडा, सुख र आश्चर्यहरू त्यसैगरी उभिएरै हेरेको छ, तर पनि मौन छ। यस्ता कैयौं महामारी भोगेको होला हिमालले। सबै सुख, दुःख र उत्साहदेखि टाढा हिमाल कुनै ज्ञानीको ध्यानमुद्रामा जस्तो देखिन्छ शान्त। बस किन हो किन त्यस दिन धेरैलाई लागेको थियो, हिमाल एक्कासि मुस्कुराएछ। हिमालले दर्शन दिए छ, सर्वसाधारणलाई । हिमाल अदृश्य हुने त होइन तर बादल, धूवाँ, धूलो, तुँवालो आदि आँखा र हिमालको बीचमा आइदिन्छ। सयौं किलोमिटर टाढा रहेको हिमालको बीचमा कुनै एक ठाउँमा बाक्लो गरी केही आइदिएमा हिमाल देखिंदैन। अर्थात् हिमाल अदृश्य हुन्छ। हिमाल मुस्कुराएको देखिन्न। हिमालको मुस्कान त्यस दिनदेखि फेरि अदृश्य छ।
    अब धेरैजना त्यस अदृश्य भइसकेको दृश्यको खोजी गरिरहेका छन्।
सम्भवतः हरेक साँझ त्यस दृश्यको खोजी हुन्छ, मनभित्र एउटा चाहना लिएर। र यस चाहनाभित्र हिमालयप्रतिको अनन्त प्रेमको दर्शन पनि पाइन्छ। साँच्चै सीमाञ्चलका मानिसहरूमा रहेको हिमालयप्रतिको प्रेमकै कारण त हो नि हिमालयको दर्शनप्रतिको अविश्वास र विश्वास दुवै।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us