Friday, April 10, 2020

मृत्योन्मुखी संवत्को जीवन

सञ्जय मित्र
    यदि परम्परा र शास्त्रहरूलाई आधार मान्ने हो भने अहिले विक्रम संवत् २०७७ हो र विक्रम संवत् २०७६ को समाप्ति करीब तीन हप्तापहिले नै भइसकेको छ।
    वास्तवमा विक्रम संवत्को नयाँ वर्ष चैत शुक्ल प्रतिपदादेखि हुन्छ। यस वर्षको चैत शुक्ल प्रतिपदा गत चैत १२ गते नै थियो।
    विक्रम संवत्मा हरेक महीनाको पहिलो दिनलाई सङ्क्रान्ति भनिन्छ। यसरी हरेक महीनाको पहिलो दिन सङ्क्रान्ति हुने भएकोले १ गतेलाई त्यस महीनाको सङ्क्रान्ति मानिएको हो तर वास्तवमा सङ्क्रान्ति भनेको हरेक महीनाको शुक्ल प्रतिपदा हो।
    चन्द्रमासमा महीनाको गणना सजिलो होओस् भनेर पूर्णचन्द्र अर्थात् पूर्णिमाको दिनको भोलिपल्टबाट मान्ने गरिएको पाइन्छ। पूर्णिमाको भोलिपल्टदेखि कृष्ण पक्ष शुरू हुन्छ र पन्ध्र दिनपछि शुक्ल पक्ष शुरू हुन्छ। कृष्ण पक्षको अन्तिम दिन चन्द्रमा अलिकति पनि उदाउँदैन भने शुक्ल पक्षको अन्तिम दिन रातभर चन्द्रमा आकाशमा रहन्छ। कृष्ण पक्षको अन्तिम दिनलाई औंसी र शुक्ल पक्षको अन्तिम दिनलाई पूर्णिमा भनिन्छ।
    शास्त्रहरूमा कृष्ण पक्षलाई वदी र शुक्ल पक्षलाई सुदी भनिएको पाइन्छ। नेपालमा पनि विक्रम संवत्लाई आधिकारिक संवत्को रूपमा राजा रजौटाहरूले प्रयोग गरेपछि पनि वदी र सुदी प्रयोग गरेको देखिन्छ अर्थात् वर्ष, महीना र दिन बुझाउँदा पक्ष पनि उल्लेख गर्नुपर्दथ्यो, गतेको चलन थिएन। गतेको ठाउँमा तिथि लेखिन्थ्यो। जस्तो २०७६ चैत २९ गतेलाई जनाउनुपर्दा २०७७ वैशाख वदी ४। वदी ४ को अर्थ हो कृष्ण पक्षको चौथो दिन अर्थात् चतुर्थी तिथि। कृष्ण र शुक्ल पक्ष दुवैमा जम्मा १५/१५ दिन हुने भएकाले वर्ष र महीनापछि वदी वा सुदी लेखेर तिथि जनाउने अङ्क लेखिन्थ्यो। यसरी एक महीनाको तीस दिन छुट्याइन्थ्यो।
    विक्रम संवत् कसले चलाएका हुन् भन्ने विषयमा विवाद पाइन्छ। विक्रम संवत्को सुरुआत भारतको उज्जैनका राजा विक्रमादित्य (वास्तविक नाम राज विक्रम)ले चलाएका हुन् भन्ने एउटा तथ्य भेटिन्छ भने सूर्यवंशी लिच्छवि वंशका राजाहरूलाई विक्रमादित्य उपाधि दिइएको र तिनीहरूले विशालनगर तथा बत्तीसपुतलीमा राजधानी बनाइ शासन शुरू गरेको बेलादेखि विक्रम संवत्को उठान भएको तर्क दिने अर्को तथ्य पनि रहेको छ। अन्य स्थानमा पनि विक्रम वा विक्रमादित्य राजा भएकोबारे इतिहास नपाइने होइन।
    विक्रम संवत्को सुरुआतको विषयमा विवाद आफ्नै ठाउँमा छ तर नेपालको विक्रम संवत्को वर्तमान स्वरूप निर्माणको श्रेय चन्द्र शमशेरलाई छ। तिथिहरू गडबड भइरहन्छ। व्यवहारमा पनि कुनै एक दिनमैं दुई तिथि भएको पनि पाइएको छ र कुनै समयमा दुई दिन एक तिथि भएको पनि पाइन्छ। यसले गर्दा महीनामा पनि गडबड भइरहने हुन्थ्यो। यस समस्याको समाधान गर्न चन्द्र शमशेरले देशभरका प्रमुख ज्योतिषीहरूलाई बोलाइ तिथि र वारमा कुनै तलमाथि नगरी १९६१ मेष सङ्क्रान्ति वैशाख १ गते प्रारम्भ गरी गते लेख्ने चलन चलाएका हुन्। अनि, यसैले औपचारिकता पाएको छ।
    औपचारिकरूपमा नयाँ वर्ष २०७७ आइपुग्नै लागेको छ।
    गत वर्ष २०७६ को सुरुआत आइतवारका दिन भएको थियो। आइतवारलाई रविवार पनि भनिन्छ। रवि भनेको सूर्य हो। विक्रम संवत्मा जुन दिन वा वार नयाँ सालको सुरुआत हुन्छ, त्यसै दिनलाई वर्षको राजा मान्ने प्रचलन छ। यस कारण वर्ष २०७६ को राजा सूर्य थिए वा छन्।
    हाम्रो लोकजीवनमा आइतवार, मङ्गलवार र बिहीवारलाई अलिक कडा वारको रूपमा लिइन्छ। गाउँघरका पढेलेखेका नभएपनि अलिकति सुनेकै भरमा सांस्कृतिक ज्ञान भएकाले सजिलै यी तीन वारलाई अलि कडा वार मान्दछन्। वर्ष २०७६ को सुरुआत आइतवारको दिन भएकोले यो वर्ष कडा हुने अनुमान गरेका थिए।
    औपचारिकरूपमा २०७७ सोमवारबाट शुरू हुँदैछ। यस दृष्टिकोणले वर्ष २०७७ को राजा स्वतः सोम हुन्छन् । सोमको अर्थ हुन्छ चन्द्रमा। चन्द्रमा आपैंmमा शीतल हुन्छ। यसको अर्थ सौम्यता र उल्लास पनि हुन्छ। यद्यपि शास्त्र वा परम्परा अनुसारको वर्ष २०७७ गत २०७६ चैत १२ का दिन नै आरम्भ भइसकेको छ। तर अत्यधिक कार्यमा लागेको नाम नै सार्थक मानिएको हुन्छ। यस कारण सोम अर्थात् चन्द्रमा नै यस वर्षको राजा हुने देखिन्छ।
    आधिकारिक ज्योतिषीय मान्यता होइन तर सोमवारबाट वर्षको आरम्भ भएको हुनाले यस वर्ष केही राम्रो होला भन्ने विश्वास ग्रामीण समुदायमा रहेको छ।
    नयाँ वर्षको सुरुआत हुनुभन्दा पहिले अहिले जुन वर्ष २०७६ को अन्त्य हुँदैछ, यो ज्यादै दुःखद छ। विश्वले चरम पीडा भोगिरहेको छ। चरम पीडाका दिनहरू विश्व समुदायलाई यो वर्षले दिएको छ। इतिहासको बाटोमा यस वर्षको कालो अनुहार देखिनेछ।
    आजको विज्ञान, प्रविधि र चिकित्सा विज्ञानमा यति धेरै उन्नति गरिसकेको विश्वलाई पनि स्वास्थ्यको दृष्टिकोणले धेरै ठूलो धक्का दिएर जाँदै गरेको यस वर्षले विश्वको अर्थतन्त्रमा ठूलो भुइँचालो ल्याइदिएको छ। मानव जीवनशैलीमा परिवर्तन ल्याएको छ भने चिन्तनशैलीमा पनि प्रभाव पारेको छ। यसले कला र साहित्यलाई पनि अप्रभावित राख्न सकेन । संस्कृतिमाथि विश्वव्यापी हस्तक्षेप गरेको छ। चिकित्साविज्ञानका वैज्ञानिकहरूमाथि नयाँ चुनौती थपिदिएको यस वर्षले विश्वको इतिहासमा मानिसलाई घरभित्रै रहनुपर्ने नयाँ अध्याय थपेको छ।
    यस वर्षले विश्वमा केही राजनीतिक उतारचढाव ल्याएको छ तर नेपालमा भने खासै कुनै राजनीतिक नयाँपन ल्याएको देखिएन। हरेक दृष्टिकोणले सामान्य वर्षको रूपमा आफ्नो पहिचान स्थापित गर्दै लगेको २०७६ ले अन्त भला त सब भला गर्न सकेन। गर्मीको समयमा गर्मी अलि बढी नै रह्यो, वर्षा भने केही कम भयो, जाडो यसपालि धेरै नै बढी भयो। मौसमले आफ्नो रूप देखाएकै हो तर विशिष्ट पहिचान कायम गर्न नसकेकै अवस्थामा यसपालि आँपमा मञ्जरी अलि बढी लागेको थियो। रूखलाई छोप्ने गरी मञ्जरीको मुस्कान हेर्दा लाग्दथ्यो कि यसले एउटा स्मरणीय फल दिएर जान्छ तर मधुआ यसरी आयो कि मञ्जरीलाई कालो बनाएर गयो।
    आँपको मञ्जरीलाई यस वर्षको ऐना बनाएर यसको अनुहारलाई देख्न सकिन्छ । दीनहीन, विपन्न श्रमिकहरूलाई यस वर्षले विगत कैयौं दशकमा नभएको कष्टकर जीवन दियो। कर्मशील जीवनको गतिमा एक हदसम्म पूर्णविराम लगाइदियो। करोडौं मानिसको रोजगारमा आघात पु¥यायो। हजारौं हजार मानिसको जीवनमा पनि पूर्णविराम दियो। यो भयङ्कर कालरात्रिजस्तो समय बनाइदिएको यो वर्षले आपैंmदेखि आपैंmमाथि शङ्का उब्जाइदिने बनाइदियो ।
    कुनै विद्वान्ले भनेका छन्– जीवनको वास्तविक मूल्याङ्कन चिहानमा हुन्छ। यो वर्षको जीवन यस्तो भइदियो कि यसको चिहानमा मलामी जाने पनि कोही भएन । यसले गर्दा नयाँ वर्ष २०७७ पनि प्रभावित नै भइदियो। नयाँ वर्ष पनि नयाँ वर्षजस्तो हुन दिएन।
    मानवजातिले आफ्नो इतिहासमा भोगेका कैयौं कठोर समयको लाममा वर्ष २०७६ लाई सूचीकृत गरेको छ। कामना गरौं, लोकविश्वास सार्थक होओस्, वर्ष २०७७ सुखद र उल्लासमय बनोस्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us