Saturday, April 25, 2020

संसारमा सर्वोपरि छ स्थिर मन

    हामी असुरक्षित किन रहन्छौं ? अनिश्चित किन छौं ? किनभने हामीले मानेका छौं कि हामीसँग सबैथोक नराम्रो हुनेछ, मान्छे आफ्नो सुरक्षित भविष्यको लागि पैसा जोड्छ, त्यसलाई सङ्ग्रह गर्छ । यो असुरक्षा, यो अनिश्चितताले मनलाई चञ्चल गर्छ। हामी सञ्चय त गर्छौं–समृतिको, साधन, सम्पदाको तर शुभ कर्म, शुभ भावना, सकारात्मकता, सदगुणको सञ्चय गर्दैनौं। परिणाम यो हुन्छ कि जति सञ्चय बढ्छ, त्यत्तिकै परिग्रह बढ्छ, त्यत्तिकै मनको चिन्ता बढ्छ।
    जसको घरमा धेरै सामान छन्, उसले आफ्नो घरको सफाइ गर्दैन। सफाइ गर्नको लागि उसले एक साताअगाडि योजना बनाउनुपर्छ कि अब सफाइ गर्नुपर्छ किनभने उसको घरमा धेरै सामान भरिएको छ, यता फोहर, उता फोहर। कैयौंपटक मान्छेले यताको फोहर उता कुनामा राख्छ– फोहर रहनुपर्छ घरमा। यो मनको जुन फोहर हो, यसैले हाम्रो मनलाई अस्थिर गरिरहन्छ तर हामी आफ्नो मनलाई स्थिर गर्नुपर्छ। यसैले पहिले हामीले पहिचान गरौं कि हाम्रो मन कहाँ र कता पुग्छ ? हाम्रो मनलाई कसले अस्थिर गर्छ ?
    व्यक्तिको चिन्ता, शङ्काले उसलाई सबैभन्दा बढी अस्थिर गर्छ। निषेधात्मक वस्तुले मनलाई बहकाइरहन्छ, यसैले सबैभन्दा पहिले त्यसलाई चिन्नुपर्छ, बुझ्नु जरुरी छ। जहाँ नकारात्मकता छ, जुन वस्तुले तपाईंलाई घोच्छ, त्यस सूललाई निकाल्नुपर्छ, त्यसको गाँठोलाई खोल्नुपर्छ र यसको लागि शुभ विचारलाई अपनाउनु जरुरी छ। एउटा शुभ विचार नै हाम्रो मनलाई बदलिन पर्याप्त छ, बस त्यस विचारमा त्यही ऊर्जा हुनुपर्छ।
    उपनिषद्मा चार महावाक्य भनिएका छन्, यी चार ब्रह्मसूत्र हुन्, यसको बारेमा ज्ञानीजन भन्छन् कि यदि यी चार सूत्र समझमा आयो भने सम्झ सारा ब्रह्मसूत्र समझमा आयो। भगवद्गीता छ भने सप्तश्लोकी भगवद्गीता पनि छ, यानी भगवद्गीताको यी सात श्लोक बुझ्यौं भने सात सय श्लोक बुझ्न सक्छौं। दुर्गासप्तशती छ भने सप्तश्लोकी दुर्गा पनि छ, यसका सात श्लोक बुझ्यौं भने सम्झ पूरै दुर्गासप्तशती समझमा आइसकेको छ। कुरा छोटो छ तर एउटा कुरा पनि यदि समझमा आउँछ भने जीवन बदलिनको लागि त्यो एउटा कुरा नै पर्याप्त छ, मनलाई टिकाउनको लागि एउटा कुरा पर्याप्त छ। जसलाई जीवनमा बोध भएको छ, जसलाई जागरण भयो, उसको जीवनमा कुनै एउटा घटना नै यस्तो घट्यो, जसले उसलाई होशमा ल्याएको छ, उसलाई चेताएको छ।
    हाम्रो जीवनमा धेरै काम यस्ता हुन्छन्, जुन हामी गर्न सक्दैनौं तर भगवत्कृपाबाट सबै कार्य सम्भव छ। यो विश्वास, यो श्रद्धा, यो आस्था, हाम्रो मनलाई निकै सम्बल दिन्छ, मनलाई अस्थिर हुनबाट बचाउँछ, त्यसलाई एक ठाउँमा टिकाउँछ ।
    जीवनमा कैयौंपटक ठूला दुर्घटना हुन्छन्, जस्तै स्वतन्त्रतापूर्व भारतको पूर्वाञ्चल क्षेत्र यानी गोरखपुर, बलिया, बिहारका केही क्षेत्र आदिमा एउटा दुर्घटना भएको थियो, अङ्ग्रेजले यहाँका केही व्यक्तिलाई समातेर लगे। यिनीहरू घरबाट टाढा, परिवारदेखि टाढा अन्य देशमा गए। त्यस समय फिजी, मरिसस, दक्षिण अफ्रिकाका धेरैजसो इलाकामा सुन र हीरा खानीमा उत्खननका लागि गएका थिए। अङ्ग्रेजलाई मजदूरको आवश्यकता थियो, त्यस कारण उनीहरूले भारतीयलाई समातेर लगे। तर भारतीय व्यक्ति नातागोताविना त्यहाँ कसरी बस्न सक्थे ? त्यहाँ उनीहरूलाई मजदूरी गर्नु थियो, उनीहरूको आफन्त छुट्टिएका थिए । कसैले आफन्तलाई बोलाउन सक्दैन थिए । त्यसपछि सम्बन्ध बनाउन उनीहरूले विवाह गरे, त्यहाँका स्थानीयसँग।
    आफूसँगै आफ्नो देशबाट उनीहरूले केही लगेका थिएनन् तर हनुमान चालीसा र रामायण यानी श्रीरामचरितमानसका केही चौपाई उनीहरूलाई कण्ठस्थ थियो । हनुमान चालीसा, रामचरितमानस उनीहरूको लागि एउटा सञ्जीवनी बन्यो, उनीहरूलाई भावनात्मक सम्बल दिनको लागि एउटा आधार बन्न पुग्यो।
    आज पनि जो व्यक्ति टाढा अन्य देशमा बसेका छन्, उनीहरूले आफूसँग के ल्याएका थिए ? जब मन टुटथ्यो, छरिन्थ्यो, तब त्यस छरिएको मनको लागि उनीहरूको सम्बल के हुन्थ्यो ? हनुमान चालीसा। आज पनि त्यहाँ जब भारतबाट कोही कथावाचक जान्छन्, तब निकै अनुरागले उनीहरू रामकथा सुन्छन् ? त्यस रामको नामले, त्यस हनुमानको नामले, हनुमानचालीसाको चौपाईले उनीहरूको जीवनको डोरी बाँधेर राखेको छ, उनीहरूलाई छरिनबाट बचाएको छ किनभने हाम्रो आस्था, हाम्रो श्रद्धाले नै हामीलाई बचाएर राखेको छ। आफूभित्र अपनत्व पैदा गर्छ। यहाँ यही कुरा छ कि तपाईं त्यो बिन्दुलाई छाँट्नुपर्छ कि तपाईंको व्यक्तित्व कहाँ–कहाँ छरिएर रहन्छ, कहाँबाट चञ्चलता आइरहेको छ ? कहाँबाट मनमा असुरक्षा हुर्किरहेको छ ?
    जहाँ मन भागिरहेको छ, दौडिरहेको छ। जहाँ उसलाई असुरक्ष्Fाले सताइरहेको छ, जहाँ उसलाई चिन्तामा निद्रा लागिरहेको छैन। जहाँ उसले पीडा पाइरहेको छ, दुःख पाइरहेको छ। जहाँ आन्दोलन छ, उद्वेलन छ, ती कुरा, ती बिन्दुलाई सबैभन्दा पहिले खोज्नुपर्छ।
    जीवनका ससाना कुरामा ठूलो आस्था लुकेको हुन्छ। कुरा यतिमात्र होइन कि चमत्कार कहाँ छ ? चमत्कार हाम्रो प्रेममा छ, चमत्कार हाम्रो आस्थामा छ, चमत्कार हाम्रो श्रद्धामा छ। गजेन्द्र मोक्ष, स्तोत्र, गीताप्रेसमा लेखिएको मालवीयजीको एउटा कथन। मालवीयजीको गजेन्द्र मोक्षप्रति ठूलो आस्था थियो। उनको भनाइ थियो कि एकपटक जब म ऋणमा डुबेको थिएँ, तब म गजेन्द्र मोक्ष पढ्थें। आस्था थियो कि गजको उद्धार गर्ने नारायणले मेरो पनि उद्धार गर्नेछन्। यो विश्वास, यो ज्ञान, यो प्रेम हाम्रो मनलाई भटकिन दिंदैन, स्थिर राख्छ र स्थिर मन निकै शक्तिशाली हुन्छ। एक शब्दमा श्रीअरविन्दले भनेका छन्– एभबप या तजभ ऋयलकअष्यगकलभकक अर्थात् चेतनाको चरम शिखर, हिमालयको अग्लो चुचुरोको समान छ। हिमालयको सबैभन्दा अग्लो चुचुरो के हो ? दुनियाँको सर्वोन्नत, सर्वोच्च पर्वत शिखर के हो ? दुनियाँको सबैभन्दा ठूलो उचाइ के हो ? संसारमा सबैभन्दा उच्च स्थान के हो ? स्थिर मन ।
    जब भगवान् गीतामा दशौं अध्यायमा आफ्नो विभूतिको वर्णन गर्छन् र भन्छन्– स्थिर वस्तुमा म हिमालय हुँ। जसको मन स्थिर भएको छ, त्यो सदैव हिमालयमा वास गर्छ। कतै अन्यत्र जान आवश्यकता नै पर्दैन। मन स्थिर छ भने हिमालयमा छ र मन स्थिर छैन भने घनघोर, घोर संसारमा छ। यसैले आफ्नो मनलाई चिन्न जरुरी छ, त्यसको विश्लेषण गर्न जरुरी छ, त्यसको विवेचन जरुरी छ, आफूलाई परख गर्न जरुरी छ ।
    भगवान् श्रीकृष्णले श्रीमद्भगवत्दगीतामा एक सूत्र दिएका छन्– भनिन्छ कि हेर, मैले तिमीलाई यो बताउँदिनँ कि यस कारण तिम्रो मन अस्थिर छ, यस कारण तिमी असुरक्षित छौ, यस कारण तिमी चञ्चल छौ, तर तिमी पहिचान गर कुन कारणले तिमी चञ्चल छौ, तर तिमी पहिचान गर कुन कारणबाट तिमी अस्थिर छौ र यो पक्का कुरा हो कि जहाँ–जहाँबाट तिमी चञ्चल भइरहेका छौ, जहाँबाट तिमी अस्थिर भइरहेका छौ, दुःख पाइरहेका छौ, त्यहाँ–त्यहाँबाट कुनै निषेधात्मकता, नकारात्मकता तिमीभित्र प्रवेश गरिरहेको छ, त्यहाँ नकारात्मकता अवश्य छ। त्यहाँ त्यस कुनामा अँध्यारो अवश्य छ। जुन कुनामा अँध्यारो छ, त्यहाँ उज्यालो पु¥याउने उपाय खोज। त्यहाँ प्रकाश छर र प्रकाश कुन वस्तुको छ–सकारात्मकताको, शुभचिन्तनको, सद्गुणको, विश्वासको।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us