Friday, April 17, 2020

कोरोनाकालमा सर्जकको चिन्ता र चासो

सञ्जय मित्र
    सर्जकहरूको जहिले पनि चिन्ता हुने गर्दथ्यो, फुर्सद भएन। फुर्सदको अभावले केही कुरा लेख्न पाइएन, केही कुरा पढ्न पाइएन। समय नपाएर वास्तवमा चाहेजस्तो सिर्जना हुन सकेको छैन। पत्रिकाले वा फलानो विशिष्ट व्यक्तिले वा विशिष्ट ठाउँबाट रचनाको माग आएपछि तोकिएको समयको अन्तिममा बल्लतल्ल मिलाएर यस्सो एउटा पठाउन भ्याएको थिएँ। आदि आदि।
    सधैं कामको मारामार र चापाचापमा अध्ययन र सिर्जनाको लागि समय नै नपाइने गुनासो अलिखित वा लिखित दुवै माध्यमबाट अभिव्यक्त भइरहन्थे। अलिखित माध्यमबाट अझ बढी आउँथ्यो।
    आफूले पढ्न चाहेर पनि पढ्न नपाएको कृति फलानो हो, तपाईंले भ्याउनुभयो भने अवश्य पढ्नुहोला। मैले पढेका सबै कृतिमध्ये फलानो सर्वोत्कृष्ट ठानेको छु, एकचोटि अवश्य पढ्नुहोला भनेर सिफारिशहरू भइरहन्थे। तर समय जहिले पनि अपुग हुने गर्दथ्यो।
    समय अपुग हुनु चाहिं व्यस्तताको परिचायक हो। सार्थक व्यस्तताले सर्जकलाई निरन्तर ऊर्जा दिइरहन्छ। त्यहीं ऊर्जाबाट सिर्जनकर्मको परिचय बन्दछ। सामान्य दिनचर्याको रचना यसै कारण सामान्य हुँदाहुँदै पनि विशिष्ट हुन्छन् र कम समयमा आफ्नो मस्तिष्कलाई अत्यधिक बढी उपयोग गर्ने अवसर हुन्छ तथा थोरै समयमा सिर्जनालाई दिइने समय अझ बढी मूल्यवान् बनाउन सकिन्छ। हो, समयको मूल्य समयले नै बुझेको हुन्छ।
    सम्भवतः समयको यो उल्टो गति हो। मानवजीवनको गति असामान्य बगेको छ। अहिले एक किसिमले संसारले नै भनिरहेको छ कि घरमा नै बस। घरमा बस्नलाई फुर्सद मिलाएको छ, समयले। समयको उल्टो नदी बगेको बेला फुर्सद त छ तर फुर्सदको सिर्जनात्मक उपयोगको मनोविज्ञान बन्न सम्भव भएको अवस्था भने सबै सर्जकमा एकैनासको छैन। दिनदिनै आइरहेका समाचारहरूले मनोविज्ञानलाई नराम्ररी प्रभावित पारेको छ। पहिले कामले शरीरलाई फुर्सद दिंदैनथ्यो र अहिले शरीरलाई फुर्सद भएर पनि सिर्जनकर्ममा खासै उपयोग हुन सकेको छैन। धेरै सर्जकहरूको मनोविज्ञान सामान्यावस्थाको जस्तो सामान्य छैन।
    पहिले घरपरिवारमा समय दिन सकिएन भन्ने गुनासो पनि सर्जकहरूले धेरै सुन्नुपर्दथ्यो । कार्यालय खुल्ने दिन कार्यालयमा र हप्तामा एक दिन बिदा हुँदा चाहिं कतै कार्यक्रममा धाउनुपर्ने दैनिकीले गर्दा घरमा समय दिन नसकिने गरेको गुनासो सामान्य थियो । तर यो असामान्य समयमा खासै कामै गर्न नसकिने र घरैमा घरपरिवारलाई पर्याप्त समय दिन सकिने अवस्थाले पनि सामान्य बन्न दिएको छैन । हो, सामान्य समयको मूल्य कति धेरै हुन्छ भन्ने कुरा यी दृष्टान्तहरूले बयान गरेका छन्।
    सामान्य नागरिकहरूको चिन्ताजस्तै सर्जकको चिन्ता पनि रहेको छ। सर्जक भन्नेबित्तिकै अलिकति गम्भीर, अलिकति बढी संवेदनशील र अलिकति चिन्तनशील हुन्छन् भन्ने कुरा त सबैले पत्याएको सत्य हो। यो समय आफैमा गम्भीर भएकोले सर्जकहरूको संवेदनशील मनमा अझ बढी छोएको छ र चिन्तन पनि प्रभावित बन्न पुगेको छ।
    कतिपय सर्जकले विभिन्न ग्रन्थहरू पढ्न पाएको सूची पनि सार्वजनिक गरेका छन्। पढिएका कृतिहरूको समीक्षा वा समालोचना लेखेको पनि कतिपय समालोचकहरूबाट सार्वजनिक भएको पाइएको छ। कतिपय सर्जकहरूले आफ्नो किताब तयार पारेको पनि बताएका छन् । नयाँ किताबको लेखन भएको, सम्पादन सकिएको, भूमिका लेखाइसकिएको, प्रेसमा पुगेको तथा लकडाउन खुल्नेबित्तिकै प्रकाशन हुने तयारीमा पुगेको जस्ता उत्साहजनक कुराहरू पनि आएका
छन् । यस दृष्टिले हेर्ने हो भने कोरोनाकालको धेरै उपयोग भएको पनि देखिएको छ।
    सर्जकहरूले कविता, गीत, मुक्तक, गजल, लघुकथाजस्ता आयामका दृष्टिले साना रचनाहरू सामाजिक सञ्जालमा निरन्तर प्रकाशन गरिरहेका छन्। कोरोनाकालमा सामाजिक सञ्जालमा आएका रचनाहरूमा कोरोना भाइरस, मानवजीवनमाथि आएको सङ्कट, मानवजीवनमा परेको अन्य प्रभाव, यसले भविष्यमा खेल्न सक्ने भूमिका, कोरोनामाथि मानवको निश्चित विजयजस्ता कुराहरू अभिधा, लक्षणा वा व्यञ्जनामार्फत् आइरहेका छन्। एक किसिमले सिर्जनामा पनि कोरोनाको आधिपत्य जमेको युग हो। नजमोस् पनि कसरी ? साहित्यले समय बोलेको हुन्छ, समयको प्रतिनिधित्व गरेको हुन्छ, समयको अनुहारलाई इतिहासको लागि सुरक्षित बनाएको हुन्छ, समयलाई सिंढी बनाएर आगतमा टेकेको हुन्छ र कतिपय अवस्थामा समयको अनुहारलाई कुल्चेको हुन्छ। हो, समयको विभत्सतालाई पनि अहिले देख्न नसकिने होइन सिर्जनामा।
    प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना नै मानिस हो र मानिसमाथि अहिले ग्रहणको अवस्था छ। कोरोनाकालले लाखभन्दा बढीलाई जीवनहीन तुल्याइसकेको छ। यसप्रति सर्जकहरू अत्यन्तै संवेदनशील छन्। सर्जकहरूको चिन्ताको विषय हो र संसारमा कोरोनामाथि कसरी विजय प्राप्त हुँदैछ भन्ने चासो पनि छ। कोरोनामाथि विजय प्राप्त गरेका वीरहरूको अनुहारमा भविष्यको सम्पूर्ण मानव विजयको कामना देख्दछन् सर्जकहरू। कोरोनाको पराजयको कथा अवश्य आउनेछ।
    कतिपय सर्जकहरू कोरोनासित लड्दै पराजय पनि भोगेका छन्। कतिपयले कोरोनामाथि विजय प्राप्त गरेका छन्। कोरोनामाथि विजयको आत्मकथा पनि आउने आशा छ। यही आशाको आकाश फराकिलो बन्दै गएको छ तर कोरोनाग्रसितभन्दा सङ्क्रमित मानव अभैm पनि संसारमा कैयौं गुणाले बढी छ । यो निश्चित गम्भीर चिन्ताको विषय बनेको छ वैज्ञानिक, राजनीतिज्ञ र साधारण मानिससँगै सर्जकहरूका निम्ति पनि। सिर्जनामात्रले कोरोनाबाट मुक्ति पाउने भए सबैभन्दा बढी सर्जकहरूले योगदान दिने थिए।
    सामान्य जनजीवनको समयमा घरमा यत्तिकै समय बिताउनेहरूलाई जति छटपटी समय बिताउन सर्जकहरूलाई भएको छैन। समयलाई निरर्थक हुनै नदिने प्रयासमा रहने सर्जकहरूको महŒव अहिले समयलाई रमाइलो बनाउनेहरूले बुझिरहेका छन्। यस कारण घरमा बस्नेहरूले अहिले अलिकति कृतिको अध्ययन पनि गरेका छन्। सर्जकको कर्मलाई सार्थक बनाउने काम पनि गरेका छन्।
    वर्तमानको साँघुरो धरातलबाट कोरोनाकालको अन्त्यपछिको सुखद बिहानीमा कृतिको प्रकाशन र पठनको संस्कृति अलिक विस्तार हुने आकलन पनि सर्जकहरूले गरेका छन्। इतिहासले कहिल्यै नभोगेको परम पीडादायी अवकाश अहिले आफैले भोग्दैछ, वर्तमान ।
    यदि वर्तमानलाई भविष्यको ऐनाले हेर्ने प्रविधिको विकास भएको भए शायद समय आफै पनि लज्जित हुन्थ्यो होला। समयलाई लज्जित बनाउन सर्जकहरूको कर्म काम लाग्ने होला कि ?
    वास्तवमा कोरोनाकालले काललाई पनि ग्रसित गरेको छ।
    सर्जकहरू पनि सामान्य नागरिक नै भएकाले समयको प्रवाहमा हेलिएका छन् । हो, अन्य कर्मभन्दा सिर्जन र यससित सम्बन्धित कर्म घरमैं बसेर गर्न सकिने भएकाले महान् बेरोजगार समयमा पनि कतिपय सर्जकलाई समय पुगेको छैन। यस प्रकार कतिपयले अभिव्यक्ति दिइरहेका छन् कि गम्भीर लेखनमा व्यस्त छु।
    वर्तमानलाई कुल्चेर हामी नयाँ बिहानीमा प्रवेश गर्नेछौं। हरेक अँध्यारो रातपछि बिहानी आएकै छ। सर्जकहरू पनि सामान्य व्यस्तताको प्रतीक्षामा छन् । सम्भवतः सम्पूर्ण मानव समुदायले कोरोना कालरात्रिको शीघ्र अन्त्यको कामना गरिरहेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us