Thursday, March 26, 2020

लकडाउनले सुक्खा बन्दरगाह ठप्प

प्रस, परवानीपुर, १३ चैत/
    सरकारले मङ्गलवारदेखि साताभरिको लागि देशव्यापी लकडाउनको घोषणा गरेपछि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह पूर्णरूपमा ठप्प भएको छ। सुक्खा बन्दरगाह भन्सारमा मङ्गलवार बिहानदेखि क्लियरिङ ऐजेन्ट, व्यवसायी तथा सवारी चालकलगायतको चहलपहल घटेको छ।
    सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भारतबाट मालवस्तु लिएर रेल आए तापनि नेपालतर्पm लकडाउन रहेकोले मालसामान छुटाउन व्यवसायी नआएको बताए । विश्वव्यापी कोरोनाको असरबाट सुक्खा बन्दरगाह भन्सार पनि प्रभावित भएको चर्चा गर्दै यस्तै अवस्था रहिरह्यो भने आगामी दिन सामान आयात र राजस्व सङ्कलनमा पनि असर पर्ने उनले बताए।
    मङ्गलवारदेखि उद्योग कलकारखाना पनि बन्द भएकाले व्यवसायीहरू मालसामान छुटाउन नआएको अनुमान गरिएको छ। चैत मसान्तमा सुक्खा बन्दरगाह भन्सारले रु ३ अर्ब १६ करोड राजस्व सङ्कलन लक्ष्य लिएकोमा चैत १० गतेसम्म ४२ दशमलव ७७ प्रतिशत अर्थात् रु १ अर्ब ३५ करोड राजस्व सङ्कलन गरिसकेको प्रमुख भन्सार अधिकृत श्रेष्ठले जानकारी दिए।
    उनले भन्सार कार्यालय चालू आवको साउनदेखि असारसम्म १२ महीनामा रु ४१ अर्ब ८८ करोड राजस्व सङ्कलन लक्ष्य लिएकोमा विलासी गाडी, औद्योगिक कच्चा पदार्थ, फलामजन्य वस्तुको आयात घटेको कारण लक्ष्यअनुरूपको राजस्व सङ्कलन नभएको बताए। श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले फागुनसम्म ८ महीनाको अवधिमा रु २६ अर्ब ५ करोड राजस्व सङ्कलन गरेको छ।
कन्टेनर थुप्रिने समस्या बढ्ने
    भारतबाट कन्टेनर नियमित आइरहेको र सुक्खा बन्दरगाहको यार्डबाट  कन्टेनर नउठेमा यार्डमा कन्टेनर थुप्रिने सम्भावना बढेको भन्सार अधिकारीले बताएका छन्। भन्सारका एकजना अधिकारीले भने, “भारतबाट अहिले दैनिक दुईदेखि तीनवटा रेल कन्टेनर लिएर आइरहेका छन्, एउटा रेलमा २० फुटको ९० वटा कन्टेनर लोड हुन्छ, यदि नेपालमा लकडाउन लम्बियो भने यार्डमा कन्टेनर राख्ने ठाउँ हुँदैन।”
    भन्सार अधिकारीका अनुसार कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट विभिन्न मालवस्तुको कन्टेनर लिएर २२ वटा रेलवे ¥याक वीरगंज आइरहेको तर नेपालमा लकडाउन लगाइएकोले एक सातापछि सुक्खा बन्दरगाहमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ। अधिकारीहरूले भन्सारमा आउने व्यवसायी, एजेन्ट र ट्रक चालकहरूको लागि नीतिगत निर्णय गरी मालसामान छुटाउने वातावरण बनाउनेतर्पm राज्यले सोच्नुपर्ने सुझाव दिएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us