Wednesday, March 25, 2020

खाद्यान्न उद्योगहरू पनि बन्द गर्ने मनस्थितिमा उद्योगी

प्रस, परवानीपुर, १२ चैत/
    वीरगंज–पथलैया औद्योगिक कोरिडोरका अति आवश्यक वस्तु तथा खाद्यान्न सामग्री उत्पादन गर्ने उद्योगहरू पनि बन्द हुने भएका छन्।
    स्थानीय प्रहरी प्रशासनले उद्योग सञ्चालनको लागि चाहिने आवश्यक सुविधा उपलब्ध नगराउँदा औषधि, चामल, तेल, दाल, दाना, साबुनलगायतका उद्योगहरू बन्द गर्ने मनस्थितिमा पुगेको वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए।
    दुई दिनदेखि जारी लकडाउनले गर्दा उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थहरूको आपूर्ति प्रभावित भएको छ भने अर्कोतर्पm उद्योगबाट उत्पादित सामानहरू अन्य ठाउँमा जाने अवस्था नरहेकोले उद्योग चल्न समस्या भइरहेको बताए। साथसाथै प्रहरी प्रशासनले ठाउँठाउँमा उद्योगमा काम गर्न आउने मजदूरहरूलाई कुटपिट गर्न थालेपछि उनीहरू डराएका कारण आपूmहरूले उद्योग ठप्प पार्ने चेतावनी दिए।
    इलाका प्रहरी कार्यालय, जीतपुरले छातापिपरामा सञ्चालित आरती सोप एन्ड केमिकल्स उद्योगमा काम गर्ने मोहन आचार्य, गोविन्द यादव, नथुनी सरदार, मधु गुप्तालगायत चारजना मजदूरलाई कुटपिट गरी घाइते बनाएको समग्र उद्योग टे«ड युनियन नेपालका अध्यक्ष आनन्द थामीले बताए।
    श्रम कार्यालय, वीरगंजका निमित्त कार्यालय प्रमुख सुन्दर श्रेष्ठले सरकारबाट अति आवश्यक सामग्री उत्पादन गर्ने उद्योगहरूलाई बन्द नगर्ने निर्देशन रहे तापनि स्थानीय प्रहरी प्रशासनको असहयोगको कारण जेनतेन केही उद्योगहरू मात्र चलिरहेको जानकारी गराए। “एक त अवस्था सामान्य छैन, अर्को भारतीय मजदूरहरू सबै गइसकेका छन्। नेपाली मजदूरहरूलाई पनि धरपकड र कुटपिट भइरहेको अवस्थामा श्रमिकवर्ग त्रसित छ। उद्योगलाई चाहिने गाडी, पैसा, मजदूर, कच्चा पदार्थ र तयारी सामान ढुवानीमा प्रशासनले सहयोग गर्नुपर्छ। नत्र अवस्था जटिल बन्छ,” उनले भने।
    वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर अतिआवश्यक सामग्री उत्पादन गर्ने उद्योगको विषयमा बुधवार छलफल भएको र भोलिदेखि प्रशासनले पनि मजदूर वर्ग र उद्योगका गाडी आवतजावतमा रोक नलगाउने प्रतिबद्धता पाएको बताए। वीरगंज कोरिडोरमा नेशनल हेल्थकेयर प्रालि, नेपाल फर्मास्युटिकल्स, क्वेस्ट, आर्या, युनिक, मैगनस, मारुतीलगायत एक दर्जनभन्दा बढी औषधि उद्योग छन् भने रूँगटा समूहको ओम चाओ विरो इन्डस्ट्रिज, ओसिबी फिड्स एन्ड पूmड्स, केडिया समूहको सुशील वनस्पति घ्यू, ऋद्धिसिद्धि गु्रपको अन्नपूर्ण भेजिटेबल्स एन्ड सोप, चाचान समूहको नारायणी रिफाइनरी र दाल मिल, चावोसती, शिवशक्ति रिफाइनरीलगायत उद्योगले खाद्यान्न सामग्री उत्पादन गर्दै आएका छन्। उद्योगीका अनुसार पर्सा, बारा, रौतहटमा सञ्चालित करीब अढाई सय चामल उद्योग बन्द हुने अवस्थामा पुगिसकेका छन्। राइस मिलबाट उत्पादन हुने धानको भुस बजारमा जान नसकेर राइस मिल बन्द हुन थालेको नेपाल चामल, तेल, दाल सङ्घका अध्यक्ष्Fसमेत रहेका उद्योगी सुबोध गुप्ताले बताए।
निम्बसद्वारा मजदूरहरूलाई सुविधा
    कोरोना भाइरसको सन्त्रास पैmलिरहेको अवस्थामा वीरगंज–पथलैया औद्योगिक कोरिडोर अन्तर्गत निम्बस समूहको प्रोजिओकेम इन्डस्ट्रिजमा अहिले एक सिप्mटमा ३५ जना मजदूरलाई राखेर आवश्यक सामग्री दाना, तेल र दाल उत्पादन भइरहेको उद्योगका प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले बताए।
    उनका अनुसार हरेक मजदूरलाई एक दिनका लागि एउटा मास्क, एउटा ग्लब्स, सेनिटाइजर र एक/एक घण्टामा हात धुन साबुनपानीको व्यवस्था मिलाइएको बताए। उद्योगमा काम गर्नुभन्दा अघि र काम गरेर घर फर्कने बेलामा सरसफाइमा विशेष ध्यान दिन उद्योगले सचेत पारेको छ।
    यसैबीच, वीरगंज कोरिडोरका केही फलाम र सिमेन्ट उद्योग पनि सञ्चालनमा रहेकाले ती उद्योगहरू बन्द गराउनुपर्ने स्थानीय प्रशासनसँग मजदूरहरूले माग गरेका छन्।
    जगदम्बा सिमेन्ट, एसएस पाइपलगायत सिमरामा केही उद्योग सञ्चालनमा रहेको बताइएको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us