Wednesday, March 25, 2020

चारवटा ट्याक्टर छाडेको सम्बन्धमा अनुसन्धान शुरू

प्रस, बिरुवागुठी, १२ चैत/
    राष्ट्रिय वनबाट चोरी तस्करी गरिएको अवस्थामा बरामद गिट्टी, बालुवा लोड चारवटा ट्याक्टर छाडेको सन्दर्भमा डिभिजन वन कार्यालय, पर्साले अनुसन्धान शुरू गरेको छ।
    डिभिजन वन कार्यालय, पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठले घटना सन्दर्भमा सहायक वन अधिकृत फरमान मियाँलाई छानबीनको जिम्मेवारी सुम्पेको र प्रतिवेदन प्राप्त भएपछि सोही अनुसार कार्य गर्ने बताए। सब–डिभिजन कार्यालय बढनिहारले आइतवार चैत ९ गते गिट्टी, बालुवा लोड चारवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो।
    सहायक वन अधिकृत शशिकान्त तिवारी, विन्दवासिनी कोइलाभार वन उपभोक्ता समितिका अध्यक्ष रिजवान अन्सारीलगायत वन कर्मचारीहरूले ना.५त ३५८, ५६०८, ना.३त ९३६९ र ना.७त ३२३४ नं.का चारवटा ट्याक्टर नियन्त्रणमा लिएका थिए। ती ट्याक्टरलाई मङ्गलवार राति छाडिएको थियो।
    ट्याक्टरधनी राजेन्द्रराउत कुर्मी र केश्वर रामसँग प्रतिट्याक्टर रु २० हजारका दरले रकम असुलेर छाडेको आरोप छ।
    सब–डिभिजन वन कार्यालय बडनिहारले चारवटा ट्याक्टर छाड्दा नर्सरीको बिरुवाको लागि थैली भर्न गिट्टी, बालुवा ढुवानी गरेको भनी कागज गराएर छाडिएको ट्याक्टरधनीमध्ये राजेन्द्रराउत कुर्मीले बताए। उनले नै घटनाको रहस्योद्घाटन गरेको आरोप छ। तर सहायक वन अधिकृत तिवारीले भने ट्याक्टरचालकलाई धनीको जमानीमा छाडेको र एक पैसा पनि नलिएको दाबी गरेका छन्। ट्याक्टरधनीबाट रकम लिएर ट्याक्टर छाडेको घटना सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us