Thursday, March 26, 2020

लकडाउनको तेस्रो दिन: किराना र तरकारी पसल सञ्चालन

प्रस, वीरगंज,  १३ चैत/
    लकडाउनको तेस्रो दिन वीरगंज महानगरपालिका सुनसान नै रह्यो । स्थानीय प्रशासनको बुधवार बसेको बैठकले गरेको निर्णय अनुसार बिहीवार बिहानदेखि तोकिएको स्थानमा तरकारी र किराना पसलहरू सञ्चालनमा आएका थिए ।
    लकडाउन भएको दोस्रो दिनसम्म भद्रगोल तरीकाले बिक्री वितरण भइरहेको र मानिसहरू तरकारी तथा किराना पसलमा भीड गरेर किनमेल गर्दै आएकोमा तेस्रो दिन दोस्रो दिनको तुलना निकै सजिलो तरीकाबाट खाद्यान्न, तरकारीहरूको किनमेल गरिएको थियो । स्थानीय प्रशासनले बिहान सातदेखि दिउँसो १ बजेसम्म तरकारी र बिहान ११ देखि दिउँसो ३ बजेसम्म खाद्यान्न तोकिएका पसलबाट बिक्रीको व्यवस्था गरेको थियो । तर आज बिहान ६ बजेदेखि नै प्रशासनले माईस्थान र मीनाबजारमा तरकारी, किराना सामग्रीको किनमेलमा खुकुलो गरेको थियो । त्यहाँ मानिसहरूले बिहान हरियो तरकारी र किरानाका सामानहरू सहजरूपमा किनमेल गरे ।
    प्रहरी र प्रशासनले लकडाउन सफल बनाउन मुख्य सडकका साथै सहायक सडकहरू प्रवेश गर्ने स्थानमा प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी परिचालन गरेको कारण अनधिकृत सवारीसाधन र मानिसहरूको घुमफिर हुन सकेको थिएन । कामविशेषले बाहिरिएका मानिसहरूलाई मात्र सुरक्षाकर्मीहरूले गन्तव्यसम्म जान दिएका थिए । यसैगरी सञ्चारकर्मी, औषधि विक्रेता, स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारीलाई सवारीसाधनको प्रयोग गर्न दिएका थिए ।
    मुख्य रोड र सहायक रोडमा बिहीवार तेस्रो दिन, पहिलो र दोस्रो दिनको तुलनामा नगन्य मात्रामा सवारीसाधन सञ्चालनमा आए । मानिसहरू आपैंm सचेत भएको पनि पाइएको थियो । अत्यावश्यक वस्तु किनमेलका लागि बाहिरिनुबाहेक टोलटोलमा मानिसहरू घरभित्रै बसेको कारण भित्री सडकहरू पनि सुनसान थिए ।
    प्रहरी प्रशासनले बुधवार महानगरमा गरेको निर्णय अनुसार बिहीवार वीरगंज महानगरका ३२ वटै वडामा वडाध्यक्षहरूले पाँचवटा किरानापसललाई खाद्यान्न बिक्रीको लागि खुला गरेका थिए । सोबाहेक शहरमा औषधिपसलहरू मात्र सञ्चालनमा देखिए ।
उधारो र सङ्क्रमणको त्रासका कारण पसलहरू बन्द
    प्रहरी र प्रशासनले खाद्यान्न र औषधि पसलहरूलाई सञ्चालन गर्न छुट दिएपनि धेरैजसो खाद्यान्न तथा औषधि पसलहरू बन्द भएका छन् । बन्द हुनुको कारण उधारो र सङ्क्रमणको त्रास  रहेको देखिएको छ ।
    औषधिपसललाई रोक नलगाइएको नेपाल औषधि व्यवसायी सङ्घ, वीरगंजका उपाध्यक्ष प्रमोद सर्राफले बताए । उनले औषधिपसललाई रोक नलगाइएको तर कर्मचारी अभाव र सङ्क्रमणको भयले धेरैजसो पसल बन्द भएको बताए ।
    कतिपय पसल ग्राहकहरू नआउने गरेको कारण पनि बन्द भएका छन् । केही औषधिपसल दिनभरि बन्द भएपनि साँझपख खुलेका थिए । नियमित ग्राहकहरूको लागि औषधि बिक्री गर्न साँझपख खोल्दा ती पसलहरूमा बुधवार र बिहीवार भीड लागेको थियो ।
    यसैगरी, तोकिएको ठाउँमा किरानापसलहरू पनि सञ्चालनमा आएका छैनन् । तीन दिनदेखि लकडाउन भएको र धेरैजसो ग्राहक उधारोमा खरीददारी गर्ने हुनाले पनि किरानापसल बन्द भएका छन् । तोकिएको सङ्ख्या अनुसार पनि वडापालिकाहरूमा किरानापसलहरू सञ्चालनमा आएनन् । कतिपय किरानापसल प्रहरीले सञ्चालन गर्न अवरोध गरेको कारणले पनि खुलेनन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us