Thursday, March 26, 2020

प्रदेश २ का अधिकांश पत्रिका बन्द

प्रस, वीरगंज,  १३ चैत/
    प्रदेश नं २ को आठवटै जिल्लाबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्रिकाहरूको प्रकाशन बन्द भएको छ ।
    प्रदेश २ का आठ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन घोषित गरेकोमा समाचार सङ्कलन, सम्प्रेषण र प्रकाशनमा खटिने कर्मचारीहरू प्रभावित भएको र सेवा दिन सम्भव नभएको कारण प्रकाशन बन्द गर्नुपरेको नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले बताए । उनले साप्ताहिक पत्रिकाहरूको सञ्जालको निर्णय अनुसार तीन महीनाको लागि साप्ताहिक पत्रिकाको प्रकाशन बन्द भइसकेको र प्रदेशबाट प्रकाशित केही दैनिक पत्रिकाबाहेक धेरैजसो दैनिक पत्रिकाको प्रकाशन बन्द भएको जानकारी गराएका छन् ।
    उनले प्रकाशन सहज भएका पत्रिकाहरूको प्रकाशन नियमित भइरहेको र असहज भएका पत्रिकाहरूको प्रकाशन बन्द भएको बताए ।
पर्सामा पनि पत्रिकाहरू बन्द
    नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्F श्याम बन्जाराले प्रतीक दैनिकबाहेक सबै पत्रिकाको प्रकाशन बन्द भइसकेको बताएका छन् । उनले दैनिक पत्रिकाहरू प्रकाशनमा समाचार सङ्कलन, सम्प्रेषण र मुद्रणको समस्या भएको कारण बन्द भएको बताए । असहज परिस्थितिमा प्रकाशन सहज नभएको कारण बन्द गरिएको बताउँदै उनले परिस्थिति अनुकूल भएपछि पत्रिकाहरू प्रकाशित हुने बताए ।
    अध्यक्ष बन्जाराले वीरगंजबाट करीब दुई दर्जनभन्दा बढी दैनिक पत्रिका प्रकाशन हुने गरेका र सबै पत्रिकाको प्रकाशन बिहीवारदेखि बन्द रहेको बताए । त्यसअघि केही पत्रिकाहरू सञ्चालनमा रहेका तर बिहीवारदेखि प्रतीकबाहेक दैनिक पत्रिकाको प्रकाशन बन्द भएको बताए ।







SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us