Thursday, March 26, 2020

कोरोना सङ्कट र वित्तीय सङ्कट समाधानका उपाय

विश्वराज अधिकारी
    नगद प्रवाह (Cash Flow) ले आधुनिक अर्थ व्यवस्थामा रक्त सञ्चारको कार्य गर्दछ। रक्त सञ्चार बन्द भएमा जीवन समाप्त हुने भएझै नगद प्रवाह व्यवस्थित किसिमले नभएमा आधुनिक अर्थ व्यवस्था गतिहीन हुन पुग्छ। त्यसकारण अर्थ व्यवस्थालाई गतिशील राख्न नगद प्रवाहलाई निरन्तर क्रियाशील राख्न आवश्यक छ। तर वर्तमान कोरोना सङ्कट (Lock down, Isolation, curfew) ले गर्दा नगद प्रवाह नराम्रो गरी प्रभावित भएको छ, एक किसिमले रोकिएको छ। नगद प्रवाह नराम्ररी लामो समयसम्म रोकिएमा ज्याला–मजदूरी गर्ने व्यक्तिहरू भोकभोकै मर्ने मात्र होइन, देशनै टाट पल्टिने स्थिति आउन सक्छ। कोरोनाको कारणले गर्दा मुलुकमा आउने वित्तीय सङ्कटबाट जोगिन तत्काल यस समस्याका उपायहरू पत्ता लगाउन आवश्यक छ। यसबारे गम्भीर भएर सोच्न आवश्यक छ।
नगद प्रवाह भनेको के हो ?
    नगद प्रवाह भनेको हरेक व्यक्तिसँग प्रतिदिन, प्रतिहप्ता, वा प्रत्येक महीना हातमा आय (नगद) हुनु हो। आम्दानी वा आर्जनविहीन अवस्थमा नहुनु हो। प्रत्येक व्यक्ति (विकसित देशमा प्रत्येक वयस्य व्यक्ति तथा विकासशील देशमा प्रत्येक परिवार) सँग आम्दानी वा आर्जन अनिवार्य हुनैपर्छ। जीवन निर्वाहका लागि प्रत्येक व्यक्तिसँग आम्दानी हुन आवश्यक छ। ऊ (श्रमिक वा उपभोक्ता) सँग आम्दानी भएमा मात्र ऊ बजार जान्छ, बजारबाट सामग्री खरीद गरेर आपूmसँग रहेको आम्दानी (नगद) को केही भाग बिक्रेतालाई दिन्छ। बिक्रेताले पनि नगद प्राप्त गर्छ। बिक्रेताले आप्mनो आयको केही भाग वितरक एवं उत्पादकलाई दिन्छ। उत्पादकले आपूmसँग रहेको आम्दानी (नगद) को केही भाग आप्mनो कारखानामा कार्य गर्ने श्रमिकहरूलाई दिन्छ। श्रमिकले यसरी प्राप्त गरेको आय (नगद) बोकेर बजार जान्छ, र विभिन्न सामग्रीहरू खरिद गर्छ। बजारमा नगद यसरी प्रवाहित हुन्छ भन्ने अवधारणाको यो एउटा उदाहरण हो। नगदले यसरी बजारमा चक्कर लगाउँछ वा भ्रमण गर्छ। अर्थतन्त्रलाई गतिशीलता दिन वा न्यून आय भएकाहरूको आर्थिक जीवन सरल पार्न नगदले भ्रमण (प्रवाहित हुन) गर्न अत्यावश्यक हुन्छ। नगद विभिन्न आवश्यक ठाउँमा पुग्नु र फर्किनु नै नगद प्रवाह हो। नगद रक्तझै राष्ट्रको अर्थ व्यवस्थामा प्रवाहित हुनुपर्छ।
    नेपालमा कोरोना सङ्कटसँग लड्नका लागि अहिले सरकार वा सम्बद्ध संस्थाहरूबाट  गरिएका अनेक तयारीहरू वा ल्याइएका समाधानका विभिन्न उपायहरू केवल लघुकालीन एवं उपलब्ध समाधानहरूमध्ये ज्यादै सामान्य र सजिलै गर्न सकिने किसिमका हुन्। जस्तै ‘लक डाउन’, ‘बन्द’, ‘आइसोलेशन’, ‘आवागमन निषेध’ आदि प्रभावकारी समाधान होइन। विना ठूलो योजना, सोचाइ वा मेहनत, यी सजिलै दिन सकिने किसिम समाधान हुन्। यी समाधान सामान्य व्यक्तिले पनि दिन सक्छ। ठूलो अध्ययन चाहिंदैन। यी समाधानहरू लघुकालीन एवं अति सामान्य अर्थात् सजिलै दिन सकिने समाधानहरू हुन्। यी समाधानले जीवन नै निष्क्रिय पार्छ, जीवनलाई गतिहीन बनाउँछ। तर जीवन कहिले पनि, कुनै पनि हालतमा, निष्क्रिय वा गतिहीन हुन सक्तैन। जीवन भीषण युद्धमा पनि चलेका छन् ।
    कोरोना नियन्त्रण गर्न कति दिनसम्म घरभित्र बस्ने? कति दिनसम्म भौतिक वा समाजिक दूरी (एजथकष्अब ियच कयअष्ब िमष्कतबलअभ) मा बस्ने ? कति दिन सम्म एकान्त (क्ष्कयबितष्यल) मा बस्ने ? यी प्रश्नहरूको उत्तर खोज्न वा यी समाधानहरूको विकल्प खोज्न अति आवश्यक छ। प्रत्येक दिनको ज्याला मजदूरीमा बस्ने एक सामान्य श्रमिक कसरी लामो अवधिसम्म लकडाउन सहन सक्ला ? ऊ लामो अवधिसम्म घर बसेमा ऊसँग आय नभएर उसको परिवारको भरण–पोषण कसले गर्ने ? यी कुराको उत्तर खोज्न अति आवश्यक छ।
    नागरिकहरू लामो समयसम्म एकान्तमा गतिविधिविहीन भएर बस्दा कोरोना सङ्क्रमणले भन्दा भोकभोकै मर्नेछन्, कोरोनाको तुलनामा काम गर्न नपाएर, ठूलो सङ्ख्यामा मानिस मर्नेछन् । श्रमिक वा न्यून आय हुनेहरू मात्र होइन, धनीहरू पनि भोकभोकै मर्ने स्थिति आउन सक्छ । श्रमिकहरूले काम गर्न नपाएर, उत्पादन हुन नसकेर बजारमा खाद्य सामग्रीको अभाव भएमा त्यो अभावबाट धनीहरू पनि प्रभावित हुनेछन् किनभने बजारमा खाद्य सामग्री (उत्पादन हुन नसकेर) नभएमा उनीहरू पनि भोकभोकै बस्नुपर्ने हुन्छ किनभने उनीहरूसँग (बैंकमा) रहेको पैसा, सुन, चाँदी, वा धन सम्पत्तिले खाद्यान्नको काम गर्दैन। उनीहरू पैसा, सुन, चाँदी खाएर बाँच्न सक्तैनन्। त्यसकारण ‘एकान्तवास’ धनीहरूको लागि पनि डरलाग्दो स्थिति हो।
कोरोना सङ्गटको दीर्घकालीन समाधान के होला ?
    बजारलाई नियमित पार्न, जीवनलाई गतिशीलता दिन, आयविहीन हुन पुगेका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्न सरकारले तत्काल आर्थिक राहत वितरण गर्न आवश्यक छ। यस्तो गर्न ढिलो गर्नुहुँदैन। हरेक दिनको ज्याला, मजदूरी वा तलबमा बाँच्नेहरूलाई आर्थिक सहयोग दिन सरकारले ढिलाइ गर्नुहुँदैन, छिटै  निर्णय गरेर दिनुपर्छ। यो सङ्कटको समयमा निम्न आय भएका व्यक्ति एवं व्यापारी (पूmटपाथ वा सामान्य किसिमले व्यापार गर्ने व्यक्ति) हरूलाई कुन किसिमले आर्थिक सहयोग गर्ने भनी, खासगरी अर्थमन्त्री गम्भीर हुन आवश्यक छ। यो समय हो, अर्थमन्त्रीले आप्mनो ‘काबलियत’ देखाउने, क्षमता उपयोग एवं प्रदर्शन गर्ने। कोरोना–सङ्कटले ल्याएका वित्तीय समस्याहरूको समाधान खोज्ने।
    यो सङ्कटको समाधान गर्न एवं विपन्न परिवारलाई सहयोग गर्न तथा देशभरि व्यवस्थित किसिमले नगद प्रवाह गर्न विभिन्न देशका सरकारहरूले विभिन्न योजनाहरूको घोषणा गरेका छन्। संयुक्त राज्य अमेरिकाले यस सङ्कटको समाधान गर्न राष्ट्रिय कोषबाट दुई ट्रिलियन डलर खर्च गर्ने घोषण गरेको छ। र साथै यो आर्थिक सहयोगले देशमा मुद्रा प्रवाहको अवरोधमा कमी आउने विश्वास गरेको छ। साथै प्रत्येक कम आय भएका व्यक्तिलाई सहयोगस्वरूप (पाउनेले फिर्ता नदिनेगरी) १२०० डलर दिने योजना पनि अगाडि सारेको छ। अमेरिकी सरकारको यो कदमले बजारमा गतिशीलता आउने विश्वास गरिएको छ। अमेरिकाको इतिहासमा खास किसिमको सङ्कटको घडीमा सरकारले आर्थिक सहयोगका लागि छुट्याएको यो सबैभन्दा ठूलो रकम हो। यसबाट पनि थाहा हुन्छ, अमेरिकी सरकार कम आय भएकाहरूलाई सहयोग गर्न, राष्ट्रिय व्यापार अवरुद्ध हुन नदिन एवं नगद प्रवाहलाई पहिलेकै स्थितिमा ल्याउन कति चिन्तित छ।
    यसैगरी कोरोना–सङ्कटसँग जुझ्न बेलायतले पनि इतिहासमैं सर्वाधिक ठूलो आर्थिक राहत जनतासम्म पु¥याउने निधो गरेको छ। बेलायतका अर्थमन्त्रीले केही अवधिसम्म देशभरिका कर्मचारीहरूलाई बेलायती सरकारले तलब दिने घोषणा गरेका छन्। बेलायत सरकारले गर्ने यस किसिमको आर्थिक हस्तक्षेपले बजारमा आर्थिक सुस्तता कम हुने विश्वास पनि अर्थमन्त्रीले व्यक्त गरेका छन्। बेलायती सरकारले ल्याएको यस किसिमको समाधानले वर्तमान वित्तीय सङ्कट समाधान गर्न ठोस भूमिका खेल्नेछ । अमेरिका र बेलायतले गरेका कार्यहरूबाट नेपालले पनि सिक्न सक्नुपर्छ।
नयाँ संयन्त्रहरूको विकास कसरी गर्ने ?
    कोरोना–सङ्कटले बजारमा ल्याएको अनिश्चितता कम पार्न सरकारले विभिन्न उपायको खोजी गर्नुपर्छ। अर्थात् कोरोना–सङ्कट समाधानका लागि दीर्घकालीन योजना अन्तर्गत सरकारले नयाँ संयन्त्रको विकास गर्नुपर्छ। नयाँ संयन्त्र विकास भनेको मानव–सम्पर्क नहुने वा कम हुने गरी व्यापार व्यवसाय सञ्चालन गर्ने तरीकाहरूको खोजी गर्नु हो। व्यापार, व्यवसाय भनेको कुनै पनि देशको मुटु हो । यो मुटु बन्द भएमा, देश धराशायी हुन्छ। त्यसकारण यस्तो विषम परिस्थितिमा पनि व्यापार, व्यवसाय सदाझैं सञ्चालन गर्न सरकारले विभिन्न उपायहरूको खोजी गर्नुपर्छ।
    बिक्रेताको स्थानमा स्वचालित मेशीनहरू राखेर पनि खरीद–बिक्रीमा मानवीय सम्पर्क कम पार्न सकिन्छ। यसैगरी उत्पादन व्यवस्थामा पनि उच्च प्रविधि प्रयोग गरेर मानवीय सम्पर्क कम पार्न सकिन्छ। मुख्य कुरा सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएर, मानव सम्पर्क कम पारेर कसरी व्यापार व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोच्नुपर्छ। त्यस किसिमका विधि, प्रविधि, तरीका, पद्धति आदिको खोज गर्नुपर्छ जस अन्तर्गत मानव–मानवबीच कम सम्पर्क होस्, तर कारोबारले निरन्तरता पाइरहोस्।
    मुख्य कुरा त सरकारले सङ्कटकाल घोषणा गरेर भएपनि, राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्छ। वितरण व्यवस्थापन (Supply chain) चुस्त राख्नुपर्छ। कालोबजारी, अनावश्यक भण्डारणलाई दुरुत्साहित गर्नुपर्छ, त्यस्ता गर्नेहरूलाई दण्डित गर्नुपर्छ।

akoutilya@gmail.com

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us