Friday, March 13, 2020

घुम्टो प्रथा र...

सञ्जय साह मित्र
    नेपाल सांस्कृतिक विविधताको सङ्ग्रहालय पनि हो । यहाँ अनेक किसिमका संस्कृति एकै धर्म, सम्प्रदाय तथा जातका मानिसबीच रहेको छ । भौगोलिक दूरी, शिक्षा, नदी तथा लामो कालखण्डसम्म सम्पर्क हुन नसक्नु, सञ्चार, यातायात, सामाजिक सञ्जाल आदिका कारण संस्कृतिमा परिवर्तन, हस्तक्षेप तथा नयाँ संस्कृतिको निर्माण र चलनमा पार्थक्य आउने गर्दछ । नेपालमा प्रचलित संस्कृतिहरूको अध्ययन गर्ने हो भने एउटै संस्कृतिमा पनि विविधता पाइन्छ । संस्कृतिको विविधताभित्र एकता पाइन्छ । यी तथ्यहरूले पनि यस देशलाई संस्कृतिको सङ्ग्रहालय बनाउन सहयोग पु¥याएका छन् ।
    देशमा भौगोलिक कारणले गर्दा तीन किसिमको संस्कृतिको निर्माण भएको छ – हिमाली, पहाडी र मधेसी । मधेसी संस्कृति भन्नु चाहिं देशको भूगोलको दृष्टिकोणले तराई भनिने क्षेत्रमा प्रचलित संस्कृतिको त्यो समष्टि हो जसलाई यहाँका रैथाने मान्दछन् ।
    मधेसी संस्कृतिको आप्mनै विशेषता छ । आप्mनै विविधता छ । वास्तवमा मधेसी संस्कृति महिलाप्रधान छ । महिलाविना यो संस्कृति अधूरो र अपूरो छ । मधेसी संस्कृतिको विविधतामध्ये परम्परादेखि नै चलिरहेको घुम्टो पनि एक हो ।
    घुम्टो प्रथा भनेको महिला वा आइमाईले आप्mनो अनुहार छोप्ने चलन हो । आइमाईले मुख्यतया साडी लगाउने र साडीको माथिल्लो फेरले आप्mनो टाउको छोपिराख्ने गर्दछन् । आपूmभन्दा ठूला वा नाताले मान्नुपर्ने मानिसको अगाडि साडीको फेरले अनुहार छोप्ने चलन नै घुम्टो प्रथा हो । साडी नलगाउने आइमाईले कुर्ता, सुरूवाल लगाए पनि जीउमा राख्ने सलले पनि आप्mनो अनुहार ठूलाबडाका अगाडि छोप्ने चलन रहेको छ । यसरी अनुहार छोप्ने चलन वा छोप्नुपर्ने अवस्था मुख्यरूपमा बिहे भइसकेपछि बढी हुन्छ । बिहे भइसकेपछि आप्mनो घर जाँदा दुलही वा आइमाईले यो प्रथा कायम राख्ने गर्दछन् । यो प्रथा देखासिकी प्रथा नै हो । अझ सम्भ्रान्त परिवार, सामाजिक प्रतिष्ठा उच्च रहेको परिवार तथा सामाजिक–सांस्कृतिक र धार्मिक कार्यहरूमा बढी प्रयोग गरिन्छ । मुस्लिम समुदायका महिलामा भने अझ अलिक फरक दृष्टिले यो प्रथा प्रचलनमा रहेको छ ।
    शिक्षा र आय आर्जनमा महिलाको सहभागिता बढ्दै जानु र राजनैतिक–सामाजिक गतिविधिमा महिलाको सहभागितामा वृद्धि हुनु र नीति निर्माणमा पनि महिलाको सहभागिता बढ्दै जानुले घुम्टो प्रथा केही खुकुलो हुँदै गएको छ । यसैगरी मधेसको संस्कृति नबुझेका केहीले यसबारे निरन्तर आलोचना गर्नाले पनि यस प्रथाको क्षयीकरण भइरहेको छ । यस प्रथालाई कतिपयले अन्धविश्वास भनेर आलोचना गर्छन्, कतिपयले मानव अधिकार वा महिला अधिकारविपरीत व्यवहार मान्दछन् र कतिपयले महिलालाई अगाडि बढ्न नदिन पुरुषले चलाएको कुप्रथा मान्दछन् ।
    घुम्टो प्रथा कहिले, कुन परिवेशमा र कसले चलायो भन्ने प्रश्न आजको युगमा काम नलाग्ने हुन सक्छ । तर यो अवैज्ञानिक हो र यसले अन्धविश्वास फैलाउँछ भन्ने होइन । यो प्रथा तराई–मधेसको भूगोल तथा वातावरण अनुकूल छ र यसका सकारात्मक पक्ष पनि छन् ।
    तराई–मधेस मुख्यतः गर्मी प्रदेश हो । घाममा महिला घरबाट बाहिर निस्कँदा आप्mनो टाउकोलाई सकेसम्म घामले जोगाउन र घामको रापबाट अनुहार जोगाउन घुम्टोले सहयोग पु¥याउँछ । गर्मीले खल्खली पसिना चुहिंदा अनुहार र घाँटी यही घुम्टोले पुछ्न सजिलो हुन्छ । जाडोमा त झन् कपडाको महŒव कत्ति हुन्छ बताउनै पर्दैन । चीसो बतासबाट कान जोगाउन, टाउको छोपेर चीसोबाट जोगाउन तथा आँखासमेतलाई कम प्रभावित बनाउनसमेत घुम्टोले सहयोग पु¥याउँछ । वर्षाको समयमा पनि यसको महŒव विशिष्ट किसिमको रहेकोमा दुई मत छैन । आँखा, अनुहार तथा टाउकोलाई धूलो–छारोबाट जोगाउने काम पनि घुम्टोले गर्दछ । गर्मी, जाडो र वर्षा आदि सबै मौसमको दृष्टिकोणले हेर्ने हो भने मधेसी लोकजीवनमा प्रचलित घुम्टो प्रथा वैज्ञानिक सोचको उपज रहेको पुष्टि हुन्छ ।
    तराई–मधेसमा महिलालाई सभ्य र सुसंस्कृत देखाउने पहिलो शर्त नै घुम्टो मानिन्छ । अनुहार नछोपे पनि हुन्छ तर कम्तीमा टाउको भने छोप्नुपर्ने चलनलाई सभ्यता मानिन्छ । मधेसी समाजको यो सभ्यताले महिलालाई मात्र होइन, पुरुषलाई पनि मर्यादा राख्न सिकाएको छ । सामाजिक मर्यादाको दृष्टिले पनि यो प्रथा उपयुक्त देखिन्छ ।
    कतिपयले के पनि विश्लेषण गर्ने गरेका छन् भने घुम्टो प्रथाकै कारण मधेसी समुदायका महिला वा युवती कतै बेचिएका छैनन् । विभिन्न बहानामा विभिन्न किसिमले बेचिने महिला वा युवतीमा मधेसी समुदायको प्रतिशत नगण्य हुनु यही घुम्टो प्रथाकै सामाजिक प्रतिष्ठा र सम्मानको उपज हो । नेपालकै अन्य समुदायका महिलाका तुलनामा नकारात्मक काममा मधेसी महिलाको सहभागिता वा नकारात्मक कामको चेतना निकै कम छ । मधेसी महिलाहरू सामाजिक कार्यमा कम सहभागी हुन्छन् तर नकारात्मक काममा भने झन् कम हुन्छन् । तुलनात्मकरूपमा महिलाको तटस्थ भूमिका हुन्छ ।
    घुम्टो प्रथा आफैं सुधारोन्मुख छ । यसमा धेरै हस्तक्षेप भइरहेको छैन तर आप्mनै किसिमले सुधार भइरहेको भने सत्य हो । आपूmले मान्नुपर्ने वा नातामा ठूलो हुने पुरुषका अगाडि वर्तमान शिक्षित तथा विभिन्न ओहोदामा पुगेका महिलाले अनुहार त पूरै छोप्दैनन् तर टाउको चाहिं छोपेर अगाडि उभिने, बस्ने, काम गर्ने गर्दछन् । यस सामाजिक सभ्यतालाई पालन गर्ने आइमाई र पालन नगर्ने आइमाईप्रतिको सामाजिक दृष्टिकोणमा अझै केही भिन्नता छ । गाउँबाहिरका र गाउँभित्रका महिलालाई हेर्ने सामाजिक दृष्टिकोणका तात्क्षणिक व्यवहारमध्ये घुम्टो प्रथा पनि एक हो ।
    मधेसी संस्कृतिको एउटा पाटोको मान्यता पाइसकेको र मधेसी लोकजीवनमा सभ्यता तथा संस्कृतिको परिचायक बनेको घुम्टोले सभ्यता, संस्कृति र सम्मानमा पनि ठूलो भूमिका खेलेको छ । मधेसी संस्कृति बुझेका र मधेसी संस्कृतिप्रति प्रतिबद्ध अगुवा महिलाहरूले घुम्टोलाई आप्mनो,  समाजको र संस्कृतिको पहिचानको रूपमा पनि लिने गरेका छन् । मधेसी महिलाको पहिरनमा विशिष्टता ल्याउने एउटा कारकको रूपमा रहेको घुम्टो पहिरन संस्कृतिको सभ्य अङ्ग हो, र ...
    महिलाले टाउको छोप्नु र अनुहार छोप्नुलाई कतिपयले मानव अधिकारको उल्लङ्घन पनि भन्दछन् तर आजभोलि कोरोना भाइरसको डरले टेलिभिजनहरूमा नाक–मुख छोप्नेहरू बढी देखिएको सन्दर्भलाई मानव अधिकारसित जोड्न सक्दैनन् किनभने यो विशेष अवस्था हो । स्वेच्छाले आप्mनो वस्त्र लाउन सक्छन् तर समाजमा असभ्यता प्रकट नगर्ने गरी भन्ने मान्यता छ । घुम्टोले असभ्यता त प्रकट गरेकै छैन, मर्यादाकै बरु परिपालना गरेको छ । आप्mनो इच्छाले संस्कृति मान्नुलाई कुनै किसिमको आरोप लगाउनु हुँदैन, यदि विज्ञानसम्मत छ र अरूलाई कुनै नोक्सानी पु¥याउँदैन भने ।
    घुम्टोभित्र लुकेको भौगोलिक परिवेशको विज्ञानलाई अझ पनि धेरैले बुझ्न बाँकी छ भन्ने लागेको छ । घुम्टोलाई तिरस्कार गर्नु हतार होला !

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us