Wednesday, March 25, 2020

आपूर्ति सहज गर्न महानगरमा बैठक तरकारी र खाद्यान्न वडामा बिक्री गर्ने निर्णय

प्रस, वीरगंज, १२ चैत/
    वीरगंज महानगरपालिकामा लकडाउनको अवधिमा आपूर्ति व्यवस्था सहजीकरण गर्ने विषयमा बुधवार सरोकारवालाहरूको बैठक बसेको थियो । नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आपूर्ति व्यवस्था सहज गर्ने विषयमा प्रशासन गम्भीर रहेको बताए। उनले लकडाउनलाई कुनैपनि अवस्थामा सफल पार्नुपर्ने दायित्व भएको र त्यो दायित्वलाई पूरा गर्ने गरी आपूर्ति व्यवस्था सहज गर्ने विषयमा प्रयत्नरत रहेको बताए ।
    उनले लकडाउन खुकुलो गर्दा थुप्रै किसिमका बाधा, व्यवधानको सामना गर्नुपर्ने हुनाले लकडाउन व्यवस्थित हुने गरी आपूर्ति सहज गर्नुपर्नेमा जोड दिए। बैठकमा आपूर्ति व्यवस्थापनको लागि वीरगंज उद्योग वाणिज्य सङ्घले औषधि व्यवसायीहरूले औषधि व्यवस्थापन तथा तरकारी व्यवसायी सङ्घले तरकारी व्यवस्थापन गर्ने सहमति भएको छ।
    वीरगंजका ६ स्थानमा तरकारी बिक्री गर्न स्थान तोकिएको छ। खाद्यान्न आपूर्तिको लागि वडाध्यक्षलाई जिम्मेवारी दिइएको छ। वडाध्यक्षले आप्mनो क्षेत्रमा खाद्यान्न तथा तरकारीको व्यवस्थापन गरी जनतालाई सहज आपूर्ति गर्नुका साथै कुनैपनि अवस्थामा लकडाउन उल्लङ्घन गर्न नदिन सचेत गराउनुपर्ने निर्णय भएको छ।
    बैठकमा प्रहरी उपरीक्षक गङ्गा पन्त, सशस्त्र प्रउ दिपेन्द्र कुँवर, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाली सेनाका कर्णेल मदनजङ्ग राणा, तरकारी व्यवसायी सङ्घ पर्साका अध्यक्ष विदुर गुप्तालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता थियो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us