Wednesday, March 25, 2020

वीरगंजबाट इन्धनबाहेक अन्य सामानको आयात न्यून

प्रस, परवानीपुर, १२ चैत/
    वीरगंज भन्सारबाट ग्यास, पेट्रोल डिजल अन्य सामानको आयात पूर्णरूपमा घटेको छ । नेपाल र भारतमा जारी लकडाउनले गर्दा भारतबाट सामान आयात नभएकोले राजस्व सङ्कलनसमेत प्रभावित भएको भन्सार अधिकारीहरूले बताएका छन्।
    वीरगंज भन्सारबाट विलासी गाडीदेखि ठूला सवारीसाधनमा बस, ट्रक, जीप, भ्यान, हेक्साभेटर, लोडर, टेलर, लरी, मोटरसाइक, ट्याक्टर, क्लिङ्कर, औद्योगिक कच्चा पदार्थ, फलामजन्य सामान, कपडा, शृङ्गारका सामान र ट्रेडिङ आइटमका सामान आयातमा उच्च गिरावट आएको वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहले जानकारी गराए।
    चालू आवमा सरकारले अन्तःशुल्क बढाएको कारण सवारीसाधनको आयात ५० प्रतिशतले घटेकोमा होलीपछि कोरोनाको प्रकोपको कारण वीरगंज नाकाबाट करीब ५० प्रतिशतले मालसामानको आयातमा कमी आएको भन्सार अधिकारीहरूको विश्लेषण छ।
    मालसामान आयातमा भारी गिरावट आएपछि चैत मसान्तको लक्ष्य पनि नउठ्ने चर्चा चलिरहेको छ। वीरगंज भन्सारले चैत महीनामा रु १५ अर्ब ७ करोड राजस्व सङ्कलन लक्ष्य लिएकोमा १० दिनमा जम्मा आधा अर्थात् रु ७ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । चैत ५ गतेसम्म रु ५ अर्ब सङ्कलन भएको थियो भने १० गतेसम्म ५ दिनमा जम्मा रु २ अर्ब राजस्व सङ्कलन भएको उनले बताए। दैनिक करीब रु ५० करोड वीरगंज भन्सारले राजस्व सङ्कलन लक्ष्य पाएकोमा होलीअघि करीब रु ४२ करोड राजस्व सङ्कलन हँुदै आएकोमा होलीपछि रु १३ करोडदेखि ३० करोडसम्म राजस्व सङ्कलन भइरहेको थियो।
    वीरगंज भन्सारले चालू आवको लागि १२ महीनामा रु १ खर्ब ८८ अर्ब राजस्व सङ्कलन लक्ष्य पाएकोमा फागुन महीनासम्म ५१ प्रतिशत अर्थात् रु ९५ अर्ब ६० करोड मात्र राजस्व सङ्कलन गरेको छ।
देश आर्थिक सङ्कटमा फस्ने डर
    भन्सार अधिकारीहरूले यस्तै अवस्था रहिरह्यो भने देश आर्थिक सङ्कटमा जान सक्ने विश्लेषण गरेका छन्। “राज्यको अर्थव्यवस्था राजस्वमा निर्भर छ, अहिलेको अवस्थामा विश्वको अर्थतन्त्र धर्मराएको छ, चाँडै भाइरस सङ्क्रमण रोकथाम नभएमा विश्वको अर्थव्यवस्थासँगै नेपालको पनि अर्थतन्त्र सङ्कटमा फस्ने सम्भावना उच्च छ, एकजना भन्सार अधिकारीले भने।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us