Wednesday, March 25, 2020

लकडाउनको दोस्रो दिनः वीरगंज झनै सुनसान

प्रस, वीरगंज, १२, चैत/
    कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले चैत ११ गते मङ्गलवारदेखि लगाएको लकडाउन बुधवार दोस्रो दिन वीरगंजमा कडाइका साथ पालना गराइएको छ।
    पहिलो दिन लकडाउन अपेक्ष्Fाकृत सफल भएपनि साँझ अनधिकृतरूपमा सामान खरीदको बहानामा अत्यधिक भीड भएपछि प्रशासनले मङ्गलवार साँझदेखि गरेको कडाइलाई बुधवार पनि निरन्तरता दिएको छ।
    प्रहरीले बिहानदेखि वीरगंज महानगरका विभिन्न चोकमा कडाइ गरेको कारण मानिसहरूको चहलपहल धेरै कम भएको छ। प्रहरीले माईस्थान, मीनाबजार, आदर्शनगर, बिर्ता, मुर्ली, श्रीपुर, पावरहाउस चोक, पानीटङ्की चोक, छपकैयालगायतका क्षेत्रमा केही खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द गराएको थियो।
    यसैगरी, सवारीसाधनहरू पनि कडाइका साथै चेकजाँच गरेको कारण आज बिहानदेखि दिउँसोसम्म प्रेस, स्वास्थ्यकर्मी, सरसफाइ र अत्यावश्यक कामका लागि निस्केकाबाहेक सबै सवारीसाधन ठप्प रहयो। वीरगंजमा कप्mर्यूको माहोल देखिएको थियो। हिजो माईस्थानमा खुलेका खाद्यान्नपसलहरू पनि आज बन्द रहे। दश बजेपछि औषधिपसलबाहेक सबै पसल बन्द रह्यो । वीरगंज महानगर बुधवार कप्mर्यूको माहोलभन्दा पनि बढी सुनसान थियो।
    प्रहरीले हिजो साँझ दैनिक लाग्ने मीनाबजार, मुर्ली बजार र मङ्गलवार लाग्ने बिर्ता बजारमा हस्तक्षेप गरेको थियो । अत्यधिक मात्रामा मानिसहरू तरकारी खरीद गर्न बजारमा आएपछि प्रहरीले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको हो।
    पच्चीसजनाभन्दा बढी मानिसको भीडभाड नगर्नू र एक ठाउँमा पाँचजनाभन्दा बढी नबस्नू भन्ने निर्देशनविपरीत बजार क्षेत्रमा सयौंको सङ्ख्यामा मानिसहरू झुम्मिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। जसको कारण बजारमा व्यवसायी र प्रहरीबीच केही ठाउँमा रस्साकसी पनि भयो। बिर्ता बजारमा प्रहरीले दुईपटक लाठीचार्ज गरेर तरकारी बजार हटाएको थियो। वप्रका बिर्ताका प्रनि निर्मल पनेरु आपैंm खटेर बजारबाट भीड हटाएका थिए।
    यसैगरी, प्रहरीले हिजो दिउँसोदेखि मेनरोडमा सवारी जाँचमा कडाइ गरेको कारण छिटपुटरूपमा चलेका मोटरसाइकल, साइकल पनि आज सञ्चालनमा आउन सकेनन्।
    लकडाउनको दोस्रो दिन चितवनबाट वीरगंज आएको एउटा कन्टेनरमा ५३ जना मानिस फेला परेका छन्। प्रहरीले घण्टाघरमा कन्टेनर खोली हेर्दा त्यसमा ५३ जना फेला परेका थिए। फेला परेकामध्ये पर्साका ५० जना र बाराका ३ जना रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
    यसैबीच, घण्टाघरस्थित विपी उद्यानमा रहेको थोक तरकारी बजारलाई पनि चण्डीगण ब्यारेक वीरगंजका सेनाले हटाएको छ।
    कोरोना भाइरसको सङ्क्रमण पैmलन सक्ने आशङ्कामा तरकारीको थोक बजार त्यहाँबाट हटाइएको हो। थोकबजार त्यहाँबाट सञ्चालन हुँदा अत्यधिक भीड हुने गरेकोले बुधवार बिहानदेखि सेनाले सो बजारमा आवागमन ठप्प पारेको थियो ।
प्रस, पोखरिया/
    लकडाउनको पहिलो दिन पोखरिया बजार सञ्चालनमा रह्यो। साँझ प्रहरीले भीडभाड नगरी तोकिएको मूल्यमा तरकारी बिक्रीका लागि छुट दिएको कारण बजार लागेको थियो। तर दोस्रो दिन आज बिहानदेखि प्रहरीले कडाइ गरेको कारण खाद्यान्न र औषधि पसलबाहेक अन्य पसलहरू सञ्चालनमा आएनन्। यसैगरी, प्रहरीले सडकमा पनि चेकजाँच गरेको कारण छिटपुटरूपमा चलेका मोटरसाइकल, साइकलहरू आज सञ्चालनमा आएनन्। दिनभरि प्रहरीले निगरानी बढाएको थियो।
    यसैबीच, बुधवार बसेको बैठकले पोखरिया बजारमा बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म तरकारी बिक्री गर्न समय निर्धारण गरेको छ। 
                        मन्दिर र बैंक पनि बन्द
    वीरगंज महानगरको सबैभन्दा भीडभाड हुने गहवामाई मन्दिर बुधवारदेखि बन्द गरिएको छ। चैते दशैं अन्तर्गत बुधवारदेखि नवरात्रि शुरू भएकोले मन्दिरमा भीड बढ्न सक्ने र त्यसबाट सङ्क्रमण पैmलिने शङ्काले मन्दिरलाई बन्द गरिएको छ।
    सूचना टाँस गरेर गहवामाई मन्दिर लकडाउन अवधिसम्म बन्द गरिएको हो । यसैगरी, बुधवारदेखि वित्तीय संस्था पनि बन्द गरिएको छ। लकडाउनको अवधिमा अत्यावश्यक वस्तुको सूचीमा परेको बैंकिङ सेवा बुधवार दिउँसो १२ बजेदेखि बन्द गरिएको हो। त्यस अवधिसम्म सञ्चालनमा रहेका बैंकहरूले सूचना टाँस गरेर बन्द गरेका थिए।
    बैंक सञ्चालनमा आउँदा सडकमा मानिसहरूको भीडभाड कम नभएको र कोरोना भाइरसको सङ्क्रमण नोट गन्तीबाट पनि हुन सक्ने सम्भावना भएकोले बैंकर्सहरूले बुधवार बैंक बन्द गरेका हुन्।
    यसैगरी, सुरक्षाकर्मीले पनि बैंकर्सहरूलाई सहयोग नगरेको कारण बुधवार १२ बजेदेखि एटिएमबाहेकका सेवा बन्द गरेको एकजना बैंकर्सले बताए । परिचयपत्र देखाउँदा पनि बैंकसम्म जान नदिएकोले बाध्य भएर बैंक बन्द गरिएको उनले बताए। उनले जनतालाई कष्ट नहुने गरी पुनः सञ्चालनमा ल्याउनेतर्पm विचार भइरहेको बताए।





SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us