Wednesday, March 25, 2020

ट्राभल हिस्ट्रीको आधारमा नारायणी अस्पतालको आइसोलेशनमा ५ जना, डेन्टलमा २० जना

प्रस, परवानीपुर, १२ चैत/
    भारत तथा विदेशबाट यात्रा गर्दै वीरगंज आइपुगेका व्यक्तिहरूलाई नारायणी अस्पतालमा पाँचजनासहित २५ जनालाई वीरगंजमा स्थापित आइसोलेशनमा राखिएको छ।
    नारायणी अस्पतालको आइसोलेशन वार्डमा पर्सा, बाराका ५ जना र भन्सारनजीकै एमबी केडिया डेन्टल हस्पिटलमा २० जनालाई नेपाली सेनाको निगरानीमा आइसोलेशनमा राखिएको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जानकारी गराए । उनका अनुसार आइसोलेशनमा राखिएका २५ जनामा कोरोना भाइरसको कुनै लक्षण नदेखिए तापनि यात्राको हिस्ट्रीले गर्दा उनीहरूलाई आइसोलेशनमा राखिएको जानकारी गराए।
    नारायणी अस्पतालमा सखुवाप्रसौनी–४ देउरवानाका २५ वर्षीय, ३२ वर्षीय र ३९ वर्षीय गरी तीनजना र उनीहरूसँगै बसोबास गरेका बारा, नौतन–४ का २६ वर्षीय र कलैया–१६ का २३ वर्षीय युवक गरी ५ जना रहेका छन्। कलैयाका युवक भारत, बैंगलोरबाट आएका हुन् भने बाँकी सखुवाप्रसौनीका तीनजना कतारबाट काठमाडौं हुँदै वीरगंज आइपुगेका हुन्।
    डेन्टल कलेजमा राखिएका २० जना भारतका विभिन्न राज्यबाट नेपाल फर्किनेक्रममा शङ्कास्पद अवस्थामा तापक्रम बढी देखिएपछि उनीहरूलाई नेपाली सेनाले केही समयको लागि आइसोलेशनमा राखेको जनाएको छ। २५ जनाको स्वास्थ्य एक/दुई दिनमा ठीक रह्यो भने घर पठाउने अस्पतालले जनाएको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us