Wednesday, March 25, 2020

तरकारीको मूल्य अकासियो

प्रस, वीरगंज, १२ चैत/
    लकडाउन घोषणा भएदेखि तरकारीको मूल्य बढ्नेक्रम जारी छ। लकडाउनको अघिल्लो दिन रु ३० प्रतिकिलो रहेको आलु अहिले रु ६० प्रतिकिलो पुगेको छ।
    यसैगरी, रु ८० प्रतिकिलो खुर्सानी रु ३०० पुगेको छ भने रु १२० प्रतिकिलोको परवर रु १६० भएको छ। २० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको गोलभेंडा, कोभी, बन्दाकोभी रु ८० पुगेको छ। हरियो तरकारीहरूको मूल्य स्थानपिच्छे फरकफरक दरमा बिक्री भइरहेको छ। वीरगंज तरकारी तथा फलपूmल व्यवसायी सङ्घका अध्यक्ष विदुर गुप्ताले प्रहरी–प्रशासनको असहयोगको कारण हरियो तरकारीको मूल्यमा वृद्धि भएको आरोप लगाएका छन्। उनले सरकार र स्थानीय प्रशासनले सूचना प्रवाह गर्दा अत्यावश्यक वस्तुको सूचीमा रहेको तरकारी बिक्री वितरण र आयात प्रशासनद्वारा सहज नगरिएको कारण महँगो भएको आरोप लगाए।
    पर्सा जिल्लामा खपत हुने हरियो तरकारी, आलु, प्याज हाल बाराको सिम्रौनगढ क्षेत्रलगायतबाट आउने गरेको छ। दैनिक ३० ट्याक्टर आलु, प्याज र सयौंको सङ्ख्यामा साइकलबाट हरियो तरकारीहरू सिम्रौनगढलगायतका क्षेत्रबाट वीरगंज बजारमा आउने गरेकोमा लकडाउनको कारण देखाउँदै प्रहरी प्रशासनले रोक लगाएको कारण तरकारी महँगो भएको अध्यक्ष गुप्ताले बताए। उनले प्रहरी प्रशासनले अत्यावश्यक वस्तुमा राख्ने तर आयात–खरीद–बिक्रीमा रोक लगाउने दोहोरो मापदण्डका कारण जनताले महँगोमा तरकारी खरीद गर्नुपरिरहेको बताए। उनले प्रहरी प्रशासनले तरकारी आयात र बिक्रीमा सहजता प्रदान गर्ने हो भने सस्तो हुने दाबी गरे।
    अध्यक्ष गुप्ताले बाराबाट तरकारी ल्याउने व्यवस्था गरी वीरगंज बजारमा बिक्रीको समय निर्धारण गर्ने हो भने आमउपभोक्ताले परल मूल्यमा तरकारी खरीद गर्न सक्ने बताए। यथावस्थामा भने तरकारीको मूल्य घट्न नसक्ने उनको भनाइ छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us