Wednesday, February 12, 2020

बालविवाहको कारण पर्सामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

प्रस, पंचगावाँ, २९ माघ/
 पर्सा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ ।
    अदालतका सूचना अधिकृत अक्षयकुमार दनुवारले चालू आवको माघसम्म १४२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बताए । विभिन्न कारणले पुरुष र महिला दुवैबाट सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । अदालतको तथ्याङ्क अनुसार पुरुषभन्दा बढी महिलाहरूले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेको देखिन्छ ।
    आव २०७४–०७५ मा महिला १०८ जना र पुरुष १० जनाले मात्र सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका थिए । आव २०७५–०७६ मा भने महिलासरह पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न छुट पाएपछि पुरुष ९० जना र महिला १२२ जनाले सो आवमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका थिए । चालू आवको माघसम्म ५८ जना पुरुष र ८४ जना महिलाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् ।
    सूचना अधिकृत दनुवारले पर्सा जिल्लामा सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गर्नेहरूमा धेरैजसो कम उमेरमा विवाह गरेका महिला तथा पुरुषहरू रहेको बताए । उनले छोराछोरीको इच्छाविपरीत सानो उमेरमा विवाह बन्धनमा बाँध्ने गरिएको कारण यस्ता घटना हालका दिनमा अदालतमा सम्बन्ध विच्छेदको लागि आउने गरेको बताए ।
    सानै उमेरमा विवाह गर्ने, रोजगारका लागि पुरूषहरू विदेश जाने विदेशमैं अर्को बिहे भएपछि  घरमा महिलाहरूबाट पुरुषविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दिने गरेको उनको भनाइ छ ।
    अपरिपक्व भएको बेला गरिने बिहे परिपक्व भएपछि मेल नखाने कारणले पनि सम्बन्ध विच्छेदका घटना बढिरहेको उनको भनाइ छ ।
    सूचना अधिकृत दनुवारले सम्पत्तिमाथि अधिकारका लागि पनि यस्ता घटनाहरू अदालतमा आउने गरेको बताए । उनले विभिन्न सामाजिक सङ्गठनहरूले बालविवाहविरुद्ध अभियान सञ्चालन गरेपनि अदालतमा परेको सम्बन्ध विच्छेदका घटनाले त्यसको नियन्त्रण भएको नदेखिएको भन्दै यसमा अझ प्रभावकारी कदम चाल्नुपर्ने सुझाएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us