Thursday, February 20, 2020

जनतालाई सास्ती दिने मालपोत पर्सा

प्रस, वीरगंज, ८ फागुन/
    सरकारी अड्डामध्ये जनतालाई दुःख, पीडा र बारम्बार जालझेल गरी काम नगरिदिने अड्डाको रूपमा चिनिन्छ– मालपोत कार्यालय, पर्सा ।
    मालपोतमा जग्गा रजिस्टे«शन, नामसारी, दाखा, दर्ता, मुद्दालगायत काम लिएर जाने सेवाग्रही जोकोही यस्तो पीडाबाट पिरोलिन्छन् । वीरगंज–२१ लिपनीबिर्ताका सुरेन्द्र कुर्मीले हाल साबिक गराउन निवेदन दिएको सात वर्ष बितिसकेको छ तर पनि उनको फाइल अगाडि बढेको छैन । मालपोतले विवरण खुलाई नापी कार्यालय, पर्सालाई पत्र लेखिदेओस् भनी उनी दैनिक धाइरहेका छन् तर एउटा निवेदन लेख्न पनि अधिकृतहरूलाई समय नभएको उनको गुनासो छ । वीरगंज–२४ रामगढवाका रामनिवास यादवले सहकारीको जग्गा दृष्टिबन्धक गर्न पनि दुई दिनभन्दा बढी समय लाग्ने गरेको बताए । पर्सागढीका पन्नालाल राउत कुर्मीले जग्गा पास गराउन कम्तीमा तीनदेखि चार दिन समय लागिरहेको गुनासो गरे । सेवाग्रहीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिनुको साटो फाइल एक ठाउँबाट अर्को ठाउँ पुग्छ । प्रत्येक ठाउँमा कर्मचारीहरूले चिया नाश्ता खर्च माग्छन् । यसरी सेवाग्रही सरासर ठगिंदा कहाँ गुनासो गर्ने–दुःखी सेवाग्रहीहरू भन्छन् ।
    स्थानीय प्रशासनले यी कुरामा ध्यान दिनुपर्ने हो । अनुगमनको अभावले मालपोत कार्यालयको काम लथालिङ्ग अवस्थामा पुगेको सेवाग्रहीको आरोप छ । यस विषयमा मालपोत कार्यालय, पर्साले मालपोतमा कर्मचारी अभावले गर्दा जुन हिसाबले सेवा दिनुपर्ने हो त्यस अनुरूप सेवा दिन नसकेको बताएको छ ।
    कार्यालयका निमित्त प्रमुख सुमन झाका अनुसार ५१ वटा दरबन्दीमध्ये १५ जना कर्मचारीको दरबन्दी रिक्त रहेकोले कार्य सम्पादनमा ढिलाइ भएको बताए । मालपोत कार्यालय, पर्सामा रिक्त हुने दरबन्दीमा एकजना प्रमुख मालपोत अधिकृत, दुईजना मालपोत अधिकृत, नायब सुब्बा ८ जना, खरीदार चारजना गरी १५ जना कर्मचारीको दरबन्दी रिक्त रहेको र यस सम्बन्धमा भूमिसुधार मन्त्रालयलाई पटक–पटक ताकेता गर्दा पनि कर्मचारी नपठाइएको बताए ।
    कार्यालयले १६ जना कार्यालय सहायकलाई करारमा नियुक्त गरेको छ भने सवारी चालकमा एक र कम्प्युटर अपरेटरमा दुईजनालाई करारमा नियुक्त गरी जेनतेन कार्यालयको काम अगाडि बढाएको जनाएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us