Friday, February 21, 2020

साहित्यमा प्राज्ञिक गतिशीलता

सञ्जय साह मित्र
    संसार गतिशील छ । संसारको ज्ञान र विज्ञानको क्षेत्रमा निरन्तर प्रगति भइरहेको छ । प्रगति भन्नु पनि गति नै हो । जहाँ कुनै स्थिरता रहन्छ भने त्यहाँ कुनै प्रगति पनि रोकिएको हुन्छ भन्दछन् । तर यसले राजनीतिक स्थिरतालाई समेट्दैन । यसमा पनि विवाद होला तर सामान्य मान्यता के छ भने राजनीतिक स्थिरताले अन्य धेरै कुरामा गतिशीलता ल्याउँछ । यदि राजनीतिक अस्थिरता भयो भने धेरै किसिमको गतिशीलता कम हुन्छ । फेरि राजनीति र सरकार केही फरक हुन सक्छ । यस अर्थमा कुनै देशको राजनीतिक वातावरण अस्थिर हुँदा वा नहुँदाको परिस्थितिलाई छोडेर समाजमा हुने परिवर्तनलाई विचार गर्ने हो भने सामाजिक परिवर्तन भन्नु चाहिं गतिशीलता हो ।
    कतिपयले दोहोरो चरित्र देखाउँछन् । एकातिर समाजमा विकास र परिवर्तन चाहन्छन् र अर्कोतिर परिवर्तन भयो भने पहिलोको समाज राम्रो थियो भन्दछन् । पहिले नै समाजमा परिवर्तन हुनुहुन्न भन्दैनन् । समाजमा भइरहेको परिवर्तन म रोक्न चाहन्छु भन्दैनन् । समाजमा परिवर्तन ल्याउन भूमिका खेल्ने र परिवर्तन हुनुभन्दा पहिलेको समाज राम्रो थियो, अहिलेको समाज बिग्रियो भन्ने रोदन कतिपय प्राज्ञिक व्यक्तिले पनि रोएको पाइन्छ । हो, समाजमा भइरहेको परिवर्तनमा आप्mनो भूमिका छ वा छैन भन्ने विचार गर्नु पनि पर्दछ । कतिपय परिवर्तन स्वाभाविक हुन्छ र कतिपय परिवर्तनमा चाहिं हस्तक्षेप हुन्छ । मुख्यतया हरेक भौतिक परिवर्तन हस्तक्षेपकारी हुन्छ तर अभौतिक परिवर्तनमा व्यक्तिको भूमिका त्यति सक्रिय हुँदैन । यद्यपि समाजले पनि परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गरेको हुन्छ । यी सबैको अन्तर्य यही हो कि समाज परिवर्तनशील छ ।
    समाजमा भइरहने परिवर्तन जीवनको हरेक क्षेत्रमा देखा पर्दछ । समाजका अभिन्न अङ्ग जीवनपद्धति, कला, साहित्य, सोच्ने तरीका तथा अभिव्यक्तिका अन्य अङ्गलाई पनि विचार गर्न सकिन्छ । यथार्थमा वाङ्मयमा नै परिवर्तन भइरहेको हुन्छ तर आप्mनो अतीत अर्थात् विगतको भोगाइ, अनुभूति, देखाइप्रति जनसामान्यको विकराल मोह हुन्छ । त्यो मोहले विगतप्रति आत्मिक आकर्षण उत्पन्न गर्दछ तर भौतिकतामा जान सम्भव हुँदैन । यस कारण कहिलेकाहीं द्वन्द्वात्मक विचार सार्वजनिक भइरहेको हुन्छ । विचारमा कोलाजपन देखिन्छ । विचारको कोलाज पनि प्राज्ञिक दृष्टिले गतिशीलता हो । वैज्ञानिक दृष्टिले पनि द्वन्द्वात्मक भौतिकवादको परिचायक हो । दृष्टान्त हो । यसलाई अझ फराकिलो विचार र दृष्टिकोणले पनि हेर्न सकिन्छ ।
    यदि नितान्त कला र साहित्यलाई पनि विचार गर्ने हो भने पनि यो गतिशील देखिन्छ । कला र साहित्यमा संरचना र विचार दुवै दृष्टिले गतिशीलता देखिन्छ । रूपलाई महŒव दिने र सारलाई महŒव दिने तथा सारलाई महŒव दिने र रूपलाई महŒव नदिने गरी कम्तीमा दुई ध्रुव शताब्दीयौंदेखि अस्तित्वमा छन् । समन्वयवादीहरूले रूप र सार दुवैलाई मिलाएर लैजानुपर्ने विचार पनि व्यक्त गर्दै आएका छन् । दुवैको संयोजनबाट उत्कृष्ट साहित्यको सिर्जना हुने र बताउँदै आएका छन् । उदाहरण दिन्छन् र प्रमाणित पनि गर्दछन् । यहाँ पनि द्वन्द्वात्मक भौतिकवाद लागू हुन्छ ।
    साहित्यमा प्रचलित विचार धारणलाई हेर्ने हो भने साहित्य र समालोचना दुवै क्षेत्रमा अनेक वाद र विवादहरू प्रचलनमा रहेका छन् । अनेक वाद र विवादले पनि साहित्यलाई गतिशील बनाएको छ । यसले प्राज्ञिक गतिशीलतामा वृद्धि गरेको छ । साहित्यिक वादहरूको इतिहास हेर्ने हो भने उही साहित्य केका लागि ? भन्ने प्रश्नको वरिपरि कम्तीमा एक फन्को लगाउनुपर्ने गरी जवाफ पाइन्छ । साहित्य, जीवनको लागि लागि हो कि साहित्यचाहिं साहित्यकै लागि ? हो, कतिपयले भन्ने गर्दछन् साहित्यचाहिं साहित्यकै लागि हुनुपर्दछ । यसलाई जीवनसित गाँस्नु आवश्यक छैन र कतिपयको मान्यता हुन्छ कि साहित्य र कला चाहिं जीवनका लागि नै हुनुपर्दछ । किनकि जीवन नभएको साहित्य र कलाले मानवसमाजलाई सभ्य बनाउन सक्दैन, सुसंस्कृत बनाउन सक्दैन । साहित्य कसका लागि भन्ने प्रश्नको उत्तरमा पनि दुई ध्रुव देखिनु स्वाभाविक हो ।
    समाजमा विचार दुई थरीका हुन्छन् भन्ने मान्यता नराख्ने कोही पनि नहोलान् । जसले कहीं पनि राजनीति देख्दैन, उनले पनि राजनीति गरेको देख्नेहरू हुन्छन् भने साहित्यमा प्राज्ञिक गतिशीलता हुँदैन भन्ने मान्यता आपैंmमा कमजोर हुन्छ । जुन पानी गतिशील हुँदैन, त्यो कालान्तरमा आपैंmमा फोहोर हुन्छ । जुन वाद वा सिद्धान्त गतिशील हुन्न त्यो आपैंmमा कमजोर हुन्छ र अन्तमा मृत्यु हुन्छ । गतिशील हुनुको अर्थ हो, उसमा जीवन छ, उसमा सङ्घर्ष गर्ने क्षमता छ, उसमा नवीनता सिर्जना गर्ने अनुकूलता छ । यस अर्थमा साहित्यमा प्राज्ञिक गतिशीलता चाहिन्छ र हुनु पनि पर्दछ । तर प्राज्ञिक गतिशीलताको अर्थ द्वैध चरित्र होइन र न त अद्वैतवाद नै हो । साहित्यमा प्राज्ञिक गतिशीलताको विश्वव्यापी दृष्टान्तलाई विचार गर्ने हो भने सारवाद, ध्वनिवाद, रीतिवाद, वक्रोक्तिवाद, औचित्यवाद, अलङ्कारवादजस्ता सिद्धान्तहरूलाई अब प्राचीन धरोहर मान्न थालिएको छ । साहित्यलाई हेर्ने दृष्टिकोणमा पनि नीतिपरक समालोचना प्रणाली, समाजपरक समालोचना प्रणाली, मनोविज्ञानपरक समालोचना प्रणाली, रूपपरक समालोचना प्रणाली, आदिमतापरक समालोचना प्रणालीहरूले समाजलाई समयानुकूल गतिशील बनाएकै हुन् । अझ गहिरिएर विचार गर्ने हो भने यी सबै समालोचना प्रणालीभित्र पनि आन्तरिक गतिशीलता भएको पाइन्छ । पाश्चात्य साहित्यको अध्ययन गर्दा शास्त्रीयतावाद/ परिष्कारवाद, नवपरिष्कारवाद, स्वच्छन्दतावाद, यथार्थवाद, अतियथार्थवाद, प्रगतिवाद, प्रकृतवाद, प्रतीकवाद, अस्तित्ववाद, विसङ्गतिवाद आदिले पाश्चात्य साहित्यलाई गतिशील बनाएको देखिन्छ। कतिपयले आधुनिकतावाद, उत्तरआधुनिकतावादको चर्चा र विश्लेषण पनि गरेका छन् । वर्तमान विश्वमा डायस्पोरिक लेखनले पनि एक किसिमको तहल्का मच्चाइरहेको छ । एउटै विचार, सिद्धान्त वा वादभित्र संशोधन गर्नुपर्ने विचारकलाई संशोधनवादी मान्ने गरिएको अर्को यथार्थले पनि साहित्यमा प्राज्ञिक गतिशीलता थपेकै छ ।
    साहित्य सिर्जना हुन्छ । सिर्जना गतिशील हुन्छ । साहित्यमाथि समालोचना हुन्छ । समालोचनाको दृष्टिकोण पनि गतिशील हुन्छ । एउटै साहित्यमाथि अनेक वैचारिक दृष्टिकोणले समालोचना हुन सक्ने भएकोले साहित्यमा प्राज्ञिकताको औचित्य हुन्छ र साहित्यमा प्राज्ञिक विविधताजस्तै प्राज्ञिक गतिशीलताको पनि आवश्यकता हुन्छ भन्ने मान्यता रहेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us