Wednesday, February 12, 2020

वीरगंजमा स्क्रबटाइफसबाट ९ जनाको मृत्यु

प्रस, परवानीपुर, २९ माघ/
    पछिल्लो ६ महीनाको अवधिमा वीरगंजमा स्क्रबटाइफस रोगबाट एकै अस्पतालमा मात्रै नौजनाको ज्यान गइसकेको खुलासा भएको छ ।
    तराई हस्पिटलमा भर्ना भएकामध्ये  नौजनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । पर्सा, बारा, रौतहट, भारतको बिहार गरी ४८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । तीमध्ये ३९ जना निरोगी भएर घर फर्केका र नौजनाको ढिलो उपचार शुरू भएकोले मृत्यु भएको तराई हस्पिटल एन्ड रिचर्स सेन्टरका चिकित्सक डा. राजु कुशवाहाले बताएका छन् ।
    रोग परीक्षण गर्ने प्रविधि तथा कीट तराई अस्पतालमा उपलब्ध रहेको थाहा पाएपछि अन्तमा रोगीहरू त्यहाँ पुग्दा ढिलो हुने गरेको उनले बताए । डा कुशवाहाका अनुसार खेत तथा सरेहमा उब्जिने झारपात तथा कृषि बालीको झारपातमा एउटा चिगर भन्ने कीरा बस्छ । त्यसै कीराको पेटमा ओरियन्सिया सुसुगेनेसी नामक कीटाणु हुन्छ । यदि त्यो कीराले खेत वा सरेहमा गएको बेला टोक्यो भने शरीरमा कालो दाग बन्छ ।
    सोही टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने र यो रोग लागेपछि टाइफाइट जस्तै उच्च ज्वरो आउने गर्छ । टाउको दुख्ने, भोक नलाग्ने, हाडजोर्नीहरू दुख्ने, रगतमा प्लेटलेट्सको मात्रा कम हुँदै जाने डा कुशवाहाले बताए । यस रोगबाट बच्न घरबाहिर जाँदा फुल शर्ट तथा पैन्ट लगाउने, घरवरपर झारपात तथा बोटबिरुवा छ भने हटाउने, झुल लगाएर सुत्नेलगायत उत्तम विकल्प हुन सक्ने उनी बताउँछन् । पाँच दिनसम्म ज्वरो निको भएन भने नजीकको अस्पतालमा चेक गराउनुपर्ने र समयमा नै थाहा भए स्क्रबटाइफसबाट बच्न सकिने डा कुशवाहाले बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us