Saturday, February 15, 2020

आलुको उत्पादन १७ सयटन कम

प्रस, वीरगंज, २ फागुन/
    प्रदेश २ को बारा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा कमी आएको छ ।
    चालू आवको २०७६/७७ को सिजनमा रु २ अर्ब ७ करोड ५९ लाख ५० हजार बराबरको १ लाख १५ हजार ३ सय मेट्रिकटन आलु उत्पादन भएको छ । गत वर्ष २०७५/७६ मा बारा जिल्लाको कुल ७ हजार ६ सय ६० हेक्टर क्षेत्रफलमा आलुखेती गरी १५ दशमलव २३ मेट्रिकटन प्रतिहेक्टरको दरले कुल १ लाख १६ हजार ७ सय ३२ मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए ।
    पोहोरभन्दा करीब १७ सय मेट्रिकटन कम आलुखेती भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । कृषकहरूले नगदेबालीको रूपमा उखु, माछाखेती मुख्य प्राथमिकतामा राखेर अगाडि बढेका कारण यस वर्ष आलुखेतीको उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए ।
    चालू आवमा कृषकहरूले कुल ७ हजार ४ सय ७० हेक्टर क्षेत्रफलमा विभिन्न जातका सी ४०, खुमलटार रातो जातका आलुखेती गरी १५ दशमलव ४ मेट्रिकटन प्रतिहेक्टरको दरले कुल १ लाख १५ हजार ३८ मेट्रिकटन आलु उत्पादन गरेका छन् । बाराको पिपरपाती, बरियारपुर, मटिअर्वा, उचिडिह, हरिहरपुर, गोलागंज, अमृतगंज, देवापुर, भगवानपुरलगायत जिल्लाका दक्षिणी भागमा आलुखेती उल्लेख्य मात्रामा गर्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बारामा उत्पादित आलु देशका मुख्य शहर काठमाडौं, भरतपुर, पोखरा, हेटौंडा, जनकपुर, विराटनगरलगायत शहरमा जाने गरेको कृषकहरूले बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us