Wednesday, January 15, 2020

गढीमाई मन्दिरमा बलि चढाउनेको ओइरो, सवारी व्यवस्थापन नगरिंदा घण्टौं जाम

प्रस, वीरगंज, १ माघ/
    बाराको प्रसिद्ध गढीमाईमा बुधवार माघे सङ्क्रान्तिको दिन बलिदान भएको छ ।
    तिथि अनुसार यस वर्ष मेला परेकोमा भाखल पूरा गर्न नसकेकाहरूले आज माघे सङ्क्रान्तिको दिन बोका, राँगा, परेवा, हाँस, कुखुराको बलिदानी दिएका थिए ।
    नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा बक्यौता भाखल चढाउन भक्तजनहरू ओइरिएका थिए ।
    आज पनि हजारौंको सङ्ख्यामा बलिदानी भएको थियो । पञ्चवर्षीय गढीमाई मेलामा बलिदान दिन बाँकी रहेकाहरूको लागि मेला भएको वर्षको माघे सङ्क्रान्ति र फागु पूर्णिमा गरी दुईपटक बाँकी भाखल पूरा गर्न सकिन्छ । त्यस उपरान्त पाँच वर्षपछि मात्र गढीमाईमा बलि दिने कार्य हुन्छ ।
    पञ्चवर्षीय मेलामा धेरै भीड भएर बलि दिन बाँकी रहेकाहरूले माघे सङ्क्रान्तिमा बलिदान दिन खोजेका कारण आज भीड भएको थियो । भारतबाट ठूलो सङ्ख्यामा सवारीसाधनसहित भक्तजनहरू मङ्गलवार रातिदेखि नै मेलामा पुगेका थिए भने बुधवार दिउँसोसम्म उनीहरूको आवागमन थियो । यसैगरी, पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, सिन्धुली, सर्लाही, धनुषा, महोत्तरी, काठमाडौंलगायतका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा मानिसहरू ओर्लिएका थिए ।
    पञ्चवर्षीय मेलामा सवारीसाधनहरू व्यवस्थापन गरिएको कारण सहजरूपमा दर्शन गर्न सकेका भक्तजनहरूले आज भने सवारीसाधनको व्यवस्थापन नगरिएको कारण ठूलो पीडा भोग्नुप¥यो । बिहान ७ बजेदेखि गढीमाई मन्दिर परिसरमा पुगेका भक्तजनहरू दिउँसो २ बजेपछि मात्र सो क्षेत्रबाट निस्कन सकेका थिए ।
    कलैयास्थित सेनाको ब्यारेकदेखि गढीमाई मन्दिरसम्म दुई लेनको सडक सवारीसाधनले जाम लागेको थियो । यसैगरी, बरेवाबाट बघवन जाने सडक, अदालत रोडबाट बघवन भएर गढीमाई निस्कने सडक र पिलुवाबाट गढीमाई आउने सडक सवारीसाधन र अत्यधिक सङ्ख्यामा आएका भक्तजनहरूको कारण लामो समयसम्म जाम रह्यो । माघे सङ्क्रान्ति मेलाको अवसरमा आजको मेला व्यवस्थापनमा महागढीमाई नगरपालिका, मन्दिर सञ्चालक समिति तथा बाराको प्रहरी प्रशासनको लापरवाहीको कुनै सीमा नै थिएन । महागढीमाई नगरपालिकाले स्वयंसेवक नै खटाएको थिएन भने जहाँ प्रहरी र ट्राफिकको आवश्यकता थियो, त्यहाँ उनीहरू बेपत्ता थिए । भक्तजनहरूको भनाइ अनुसार स्वयंसेवक तथा प्रहरीहरूले पञ्चवर्षीय मेलामा प्रशस्तै आर्थिक दोहन गरेका कारण आज एक दिनको मेलालाई उनीहरूले बेवास्ता गरेका हुन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us