Wednesday, January 15, 2020

पालिकाको आयोजनामा थारू नयाँ वर्षमा विशेष कार्यक्रम

प्रस, सेढवा, १ माघ/
    आदिवासी थारू समुदायको नयाँ वर्ष २६४४ र माघी पर्व तथा माघे सङ्क्रान्ति पर्व बुधवार जीराभवानी गापामा धूमधामका साथ मनाइएको छ । गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
    नयाँ वर्षको उपलक्ष्यमा यहाँको थारू समुदायले समाजको सेवा गर्ने चौकीदार, लोहार, सुत्केरी गराउने घरेलु महिला तथा कपाल काट्ने हजामलाई माघीका परिकारहरू प्रदान गरेको थियो । त्यसैगरी, माघी पर्वको अवसरमा चेलीबेटीहरूले कोसेली तथा सौगात पु¥याउने चटारो बिहानैदेखि चलेको हुँदा ग्रामीण बाटोमा सवारीसाधनको भीडभाड थियो ।
    नयाँ वर्षको अवसरमा जीराभवानी गाउँपालिकाले खिंचडी माघी महोत्सवको आयोजना गरेको थियो । सो गापाको वडा नं २ सेढवामा आयोजित महोत्सवमा लोपोन्मुख थारू संस्कृति, परम्परा, भाषा तथा पहिरनको प्रदर्शन गरिएको थियो । सो अवसरमा गापा अन्तर्गतका मावि सेढवा, मावि जीतपुर नौकाटोलाका छात्रछात्राहरूले थारू नृत्य प्रस्तुत गरेका थिए ।
     आदिवासी थारू समुदायको परम्परागत झम्टा नृत्य, गीतसहित घाटो नृत्य पनि बालबालिकाहरूले प्रदर्शन गरेका थिए । युवायुवतीहरूले दाइजोप्रथा तथा बालविवाह न्यूनीकरणका लागि चेतनामूलक नाटकहरू प्रदर्शन गरेका थिए । महोत्सवमा थारू समुदायको खानाका परिकारहरूमा हाँस, कुखुरा, परेवाको मासु, माछा, घोङी, गङ्गटो, खीरलगायत राखिएका थिए ।
    वडा नं २ का अध्यक्ष महादेव महतोको सभापतित्व तथा गाउँपालिका अध्यक्ष रामप्रीत महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारू कल्याणकारी समिति पर्साका कार्यवाहक अध्यक्ष ठाकुर महतो, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी, वडाध्यक्ष उमेशकुमार सिंह, पूर्व गाविस अध्यक्ष सुवास राउत थारू, थारू पत्रकार सङ्घ पर्साका अध्यक्ष ओमप्रकाश चौधरी, नेरामावि सेढवाका प्रअ जितेन्द्र गौरो, बितो महतो जनता मावि जीतपुर नौकाटोलाका प्रअ रामाशङ्कर चौधरी, राधेश्याम राय, शिक्षक लहवरप्रसाद चौधरी, शिक्षिका अञ्जुकुमारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    त्यसैगरी, जीराभवानी वडा नं १ पकडीटोलमा पनि माघी विशेष कार्यक्रम सम्पन्न भएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us