Tuesday, January 14, 2020

पाँच दिने ठोरी हात्ती तथा जीप सफारी महोत्सव सम्पन्न

चिरञ्जीवी सापकोटा, ठोरी, २९ पुस/
    ठोरी गाउँपालिकाद्वारा आयोजित प्रथम ठोरी हात्ती तथा जीप सफारी महोत्सव मङ्गलवार सम्पन्न भएको छ ।         समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष शेख चाँदताराले प्रदेश नं २ कै पर्यटकीय सम्भावना बोकेको ठोरी गाउँपालिकाले आयोजना गरेको महोत्सव पर्यटन भ्रमण वर्ष सफल बनाउन महŒवपूर्ण हुने बताइन् । उनले सबै राजनीति दल मिलेर अगाडि बढेमा ठोरीले मुहार फेर्न समय नलाग्ने बताइन् ।
    कार्यक्रमका विशिष्ट अतिथि जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँँले ठोरीको पर्यटकीय पक्षबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी गराउन महोत्सवले महŒवपूर्ण भूमिका निर्वाहा गरेको बताए ।
    समापन कार्यक्रमको सभापति ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठले हात्ती तथा जीप सफारी महोत्सवमा प्रत्यक्ष तथा परोक्ष साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अध्यक्ष श्रेष्ठले ठोरी घुम्न आउने पर्यटकलाई आवश्यक सहयोग गर्न गापाका बासिन्दा एवं सरकारी तथा गैरसरकारी निकायहरूलाई समेत आग्रह गरे ।
    आज पनि महोत्सवमा साङ्गीतिक कार्यक्रमले निकै रौनकता थपेको थियो । ख्यातिप्राप्त गायिका प्रीति आलेले दर्शकहरूलाई नचाएर माहोल निकै तताइन् । गायिका आलेले ‘फुल्यो बाँमरी, डाँडैमाथि पीपल’, ‘दोहोरी ब्याट’लगायत आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकहरूको मन जितिन् ।
    एक खुट्टाले मात्र नृत्य गर्ने चर्चित नृत्याङ्गना रोमा न्यौपानेको नृत्यले दर्शकको निकै साथ पायो । त्यस्तै, अर्की नृत्याङ्गना इशा परियारको नृत्य उत्तिकै आकर्षक थियो ।
    महोत्सवको अन्तिम दिन अन्तरविद्यालय नृत्य प्रतियोगिताको दोस्रो राउन्डसमेत भएको थियो ।
    गत २७ गते पहिलो राउन्ड भएको थियो । ९ वटा विद्यालयले प्रतिस्पर्धा गरेको नृत्य प्रतियोगितामा मावि विजयबस्तीले प्रथम स्थान हासिल गरेको थियो ।
    त्यसैगरी, ज्ञानवाटिका मावि सुवर्णपुर द्वितीय र नेरामावि ओडार तृतीय भएका थिए । सहभागी सबै विद्यालयलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us