Wednesday, January 15, 2020

ठेक्का सम्झौता सकियो, रतनपुरी सडक अलपत्र

प्रस, निजगढ, १ माघ/
    निजगढ–रतनपुरी–अमलेखगंज सडकको ठेक्का सम्झौताको अवधि सकिएको छ । सम्झौतामा तोकिएको समयसीमाभित्र सडक निर्माण सम्पन्न नगर्दा अहिले निर्माणाधीन सो सडक अलपत्र परेको छ ।
    सडकको दायाँ/बायाँ ग्रेभल बिछ्याइ सोल्जरको काम, सडकको सर्पेmस फिनिसिङलगायतका काम गर्न बाँकी छ । सो सडक डबल बिटुमिन सर्पेmस डे«सिङ गुणस्तरको हुनुपर्ने हो । करीब ९.४ किमि लम्बाइको सो सडक बनाउन पप्पु–रञ्जन जेभी काठमाडौंले ७ करोड ८४ लाख ४४ हजार ५६७ रुपैयाँ ठेक्का लिएको थियो । २०७६ पुस मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने सडक डिभिजन कार्यालय हेटौंडासँग सम्झौता भएको छ । निर्माण कम्पनीले २०७४ असार ३० गते ठेक्का सकार सम्झौता गरेको हो ।
    सडक निर्माणको ठेक्का सम्झौता अवधि सकिएको डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनीयर नरेशप्रसाद केशरीले बताए । सडक निर्माण कम्पनीले समय थपका लागि आवश्यक कागजात कार्यालयमा पेश गरेकोले पुनः समय थप हुन सक्ने डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनीयर एवं प्रवक्ता जयराम अधिकारीले बताए ।
    सडक निर्माण गर्न सामुदायिक वन क्षेत्र, राष्ट्रिय वन क्षेत्रमा जथाभावी खाडल बनाएको, तारबारमा हानिनोक्सानी गरेको, खाडलका कारण ठाडो हरियो रूख ढल्ने अवस्थामा पुगेको, वन्यजन्तुलाई आवतजावत गर्न सहज नभएकोलगायतका विषय समेटी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा लिखित उजूरी परेको थियो ।
    सडक निर्माण ठेकेदार कम्पनी पप्पु– रञ्जन जेभीले मनोमानी गर्दै सडक बनाउने बहानामा जथाभावी गरेको भनी रतनपुरी सडक सङ्घर्ष समितिले अख्तियारमा उजूरी दिएको समितिका संयोजक विष्णुप्रसाद ढुङ्गानाले बताए । स्थानीयको ताकेतासँगै पछिल्लोपटक अख्तियारबाट स्थलगत अनुगमन टोली पनि आएको थियो । सडक निर्माण कम्पनीको गल्तीलाई सच्याउन अख्तियारको टोलीले मौखिक निर्देशनसमेत दिएको इन्जिनीयर केशरीले बताए ।
    चुरे फेद आसपासका खोलाबगरबाट अवैधरूपमा एक्साभेटर, टिपरको प्रयोग गर्दै जथाभावी ग्रेभल निकाल्दै सडकमा ग्रेभल बिछ्याएको भन्दै स्थानीयले निर्माण कम्पनीको विरोध गरेका थिए । विभिन्न समयमा पसाह र भक्तलाल खोलाबाट प्राकृतिक स्रोत साधन ग्रेभल चोरी गरी सडकमा ठेकेदारले बिछ्याएको स्थानीयको आरोप छ ।
    सडकको दायाँ/बायाँ जथाभावी खनेका खाडलसमेत पुर्न सडक निर्माण कम्पनीले चासो अहिलेसम्म देखाएको छैन । यता निर्माण कम्पनीले भने जङ्गल क्षेत्रमा जतिसुकै सावधानी अपनाए पनि केही कमीकमजोरी भई रूखबिरुवा मासिने र त्यसैलाई बहाना बनाएर स्थानीयले काममा अवरोध गर्ने गरेको कारण समयमा काम हुन नसकेको बताएको छ । विकासको निम्ति सहयोग गरी कमीकमजोरी सुधार गर्दै अगाडि बढ्ने वातावरण नबनेसम्म जोसुकै ठेकेदार आए पनि काम गर्न गा¥हो हुने निर्माण कम्पनीको जिकिर छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us