Tuesday, January 14, 2020

थारू समुदाय माघी (खिंचडी) मनाउने तयारीमा

प्रस, सेढवा, २९ पुस/
    पर्साका थारू समुदाय नयाँ वर्ष (थारू संवत् २६४४) तथा माघी र खिचडी पर्व मनाउन लागिपरेका छन् ।
    माघी मनाउनेक्रममा थारू समुदायको बाहुल्य रहेको पर्साको जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी र वीरगंज महानगरका केही वडामा महिलाहरूले घरआँगन लिपपोत गर्नुका साथै विभिन्न परिकार बनाउन व्यस्त छन् । केही दिन पहिलेदेखि पर्साका ग्रामीण क्षेत्रमा माघीको लागि थारू समुदायले किनमेल गरिरहेका छन् ।
    मङ्गलवार उनीहरू भुजा, तिल, रामदानाको लड्डु बनाउने कार्यमा व्यस्त छन् । यसैगरी, माघी मनाउन माछा, खसी, घोङी, हाँस, गँगटा, परेवा, कुखुराको जोहोमा पनि लागेका छन् ।
    जीराभवानी गाउँपालिकाको आयोजनामा सेढवामा हुने माघी पर्वको तयारी पूरा भएको वडाध्यक्ष महादेव महतोले बताए । महोत्सवमा थारू समुदायको संस्कृति झल्किने परम्परागत पहिरन, घाटो, झम्टा गीत प्रदर्शनको लागि तयारी गरिएको वडाध्यक्ष महतोले बताए ।
    महोत्सवमा थारू समुदायले माछा मार्न प्रयोग गर्ने सामग्री, खेतीपातीमा प्रयोग गर्ने हलो, कोदालो पनि प्रदर्शन गरिने कार्यक्रम रहेको छ । महोत्सवमा थारू समुदायमा चर्चित परिकारहरू राखिने उनले बताए । 
    यसैगरी, सखुवाप्रसौनीको पंचगावाँ र जीराभवानीको पकडी टोलमा पनि  थारू समुदायले माघी मनाउने तयारी गरेका छन् । केही वर्षदेखि वीरगंजको स्विमिङ पुलमा भव्यरूपमा माघी महोत्सव मनाउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइँदैछ ।
    माघी महोत्सवको तयारी पूरा भएको संयोजक विजया चौधरीले बताइन् । वीरगंजको घण्टाघरबाट बाजागाजासहित थारू समुदायको कला, संस्कृति झल्किने झाँकीसहितको ¥याली निकालेर नगरपरिक्रमापछि स्विमिङ पुलमा कार्यक्रमको आयोजना गरी समापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 
    यसैगरी, माघी महोत्सव सम्पन्न गर्न विभिन्न समिति, उपसमितिको गठन गरिएको र स्विमिङपुलमा महोत्सवको तयारी सम्पन्न भएको बताइएको थियो । महोत्सवमा परम्परागतरूपमा थारू समुदायमा चर्चित परिकारहरूका साथै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने र थारू समुदायका मानिसहरूलाई सम्मान गर्ने कार्यक्रम छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us