Wednesday, January 15, 2020

बालविवाहविरुद्धको अभियान

    बालविवाहविरुद्ध चेतना जगाउनेक्रममा वीरगंजमा धर्मगुरुहरूसँग प्रतिबद्धता लिने कार्य भएको छ । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले हिन्दू, मुस्लिम, सिख, इसाई धर्मका गुरुहरूलाई जिप्रकामा आयोजित कार्यक्रममा प्रतिबद्धता जाहेर गर्न लगाएको हो । धर्मगुरुहरूले बालविवाह नगराउने प्रतिबद्धता जाहेर गरेका छन् । मुलुकको प्रचलित ऐन कानून अनुसार २० वर्ष उमेर पूरा नभई गरिने विवाहलाई बालविवाह मानेको छ । मुलुकमा बालविवाहको अवस्था कहालीलाग्दो छ । ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार हाम्रो मुलुकमा ३७ प्रतिशत किशोरीहरूको १८ वर्ष उमेर नपुग्दैे विवाह भइरहेको छ । दक्षिण एशियाली मुलुकहरूमध्ये अधिक बालविवाह हुने मुलुकको तेस्रो स्थानमा हाम्रो मुलुक छ । २०६८ को जनगणना अनुसार एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष उमेर नपुग्दै विवाह भएको देखिन्छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले मुलुकको २० वर्षदेखि २४ वर्ष उमेर समूहका महिलाहरूबीचमा गरेको सर्भे अनुसार ४१ प्रतिशत महिलाको १८ वर्ष उमेर नपुग्दै विवाह भएको देखाएको छ ।
    बालविवाहको कारण समाजमा विभिन्न किसिमका विकृतिहरू विद्यमान छन् । मातृशिशु मृत्यु, कुपोषण, निरक्षरता, दहेजप्रथा, बहुविवाह, घरेलु हिंसा, लैङ्गिक विभेद, गरीबी, मानसिक रोग, आत्महत्यालगायतका समस्याहरूको जड बालविवाह हो । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी स्तरबाट प्रयासहरू भएका छन् । तर ती प्रयासहरू अपेक्षितरूपमा सफल नभइरहेको कुरा बालविवाहसम्बन्धी विभिन्न खोज, अनुसन्धान तथा प्रतिवेदनहरूले देखाइसकेका छन् । सन्तानको सबैभन्दा बढी माया उनकै आमाबुबालाई हुन्छ । तर आमाबुबा नै उमेर ढाँटेर भएपनि छोरा र छोरीको विवाह गर्न तम्सिन्छन् । कतिपय अभिभावकले त लुकीचोरी आप्mना सन्तानको विवाह गराइदिन्छन् । मुख्य कारण चेतना अभाव नै हो । चेतना जगाउनेक्रममा पनि मेसोे नमिल्दा अपेक्षित सफलता हात नलागेको हो । बालविवाह भएको कुरा कानूनले त उजूरी परेपछि मात्र थाहा पाउँछ । मागी विवाहमा अभिभावकले नाम र राशि जुराउने र प्रेमविवाह गर्न चाहने अधिकांश युवायुवतीले हात देखाउने, जोखना हेराउने वा आशीर्वाद माग्न जाने हुँदा धर्मगुरु, पुरोहित, पुजारीहरूले भने विवाह हुुन भन्दा पहिले नै थाहा पाउँछन् । लुकेर होस् या खुलारूपमा विवाह गर्दा प्रत्यक्ष जोडिने धर्मगुरुहरू नै हुन् ।
    कुनै पनि अभियानलाई किनारासम्म पु¥याउन सकेमा लक्ष्यप्राप्ति हुन्छ । आशलाग्दा धेरै अभियान माझधारमा नै छोड्नाले गन्तव्यहीन बनेका छन् । गुरु पुरोहितसँग प्रतिबद्धता लिने कार्यक्रमहरू यसअघि अरूहरूले पनि गरेका थिए । तर त्यो लक्ष्यमा नपुगी कुहिरोको काग भयो र समस्या ज्यूँका त्यूँ छ । यसको लागि सबैभन्दा पहिले जिल्लास्तरमा अगुवा, नाम चलेका गुरु, पुरोहित, पुजारीहरूलाई भेला गराएर बालविवाहका नकारात्मक पक्ष र कानूनी कारबाईबारे प्रशिक्ष्Fित गर्नुपर्छ । उनीहरूको एउटा सञ्जाल बनाउने र त्यस सञ्जालले प्रहरीको साथमा क्षेत्र, इलाका, स्थानीय तह, वडा र टोलस्तरसम्म सञ्जाल निर्माण गर्दै प्रशिक्षण दिने अनि प्रतिबद्धता लिने गर्नुपर्छ । गुरु पुरोहितबाट प्रतिबद्धता लिने अभियान धेरै राम्रो सुरुआत हो । यसलाई निरन्तरता दिंदै लक्ष्यमा पु¥याउन सके बालविवाहविरुद्धको अभियानमा कोसेढुङ्गा साबित हुनेछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us