Thursday, January 16, 2020

उपेक्षित माघ एक

    मुलुकका विभिन्न क्षेत्र, जाति, भाषा, धर्मले महŒवपूर्ण पर्वको रूपमा मनाउने माघ १ गतेलाई मुलुकको केन्द्रीय सत्ताले उपेक्षा गरेको छ । मुलुकका ७ वटा प्रदेशमध्ये ४ वटा प्रदेशले माघ एक गते सार्वजनिक बिदा दियो । कर्णाली प्रदेश सरकारले त २ दिन बिदा सार्वजनिक दिएको थियो । मेचीदेखि महाकालीसम्म वा हिमालदेखि तराई मधेशससम्म प्रत्येक वर्ष माघ एक गते पर्वमय हुन्छ । आदिवासी जनजातिदेखि खस आर्य सम्मकाले र हिन्दू, बौद्धलगायत अन्य धर्मवालम्बीलेसमेत माघ १ गतेलाई विशेष पर्वको रूपमा मनाउने गरेका छन्  । मुलुकभरिकै हिन्दू धर्मावलम्बीहरूले माघ १ गतेलाई मकर सङ्क्रान्ति अर्थात् मकर स्थानको रूपमा मनाउँछन् । हिन्दू धर्मशास्त्रमा यस दिनको महŒव अतुलनीय भएकोले हिमाल, पहाडका खस ब्राहमणदेखि तराईका मैथिल ब्राह्मणहरूका लागि यो दिन पवित्र पर्व हो । यस दिनलाई आदिवासी थारूजातिले माघी पर्व, खिंचडी नयाँ वर्षको रूपमा मनाउँछन् । त्यसैगरी, मगर समुदायले माघ एक गतेदेखि ‘माघे सकराती’ पर्व मनाउँछन् । उनीहरूलागि दशैं तिहारभन्दा ठूलो पर्व हो । नेवार समुदाय माघ एक गते ‘घ्यो चाकु सन्हु’ पर्वमा रमाउँछन् भने बुद्धमार्गी तामाङ शेर्पाहरू भगवान् शाक्यमुनि बुद्धले उनका अनुयायीलाई ज्ञान दिएको दिनको स्मृतिमा ‘सम्याक’ अर्थात् महादान पर्वको रूपमा मनाउँदै निस्स्वार्थ दान पुण्य गर्छन् ।
    माघ १ गते दलित मुसहर जातिको ‘भुइँया’ पूजा हो । उनीहरू आप्mना देवता ‘भुइँया महाराज’को पुजा आराधना गरेर धर्ती माता अर्थात् भूमिको पूजा गर्छन् । त्यसै माघ एक गते किराँत धर्मावलम्बी अर्थात् राई, लिम्बुहरूको पनि नयाँ वर्ष हो । आदिमकालमा उनीहरूको गण नायक यलम्बरले काठमाडौं उपत्यका विजयी गरेको स्मृतिमा प्रथम किराँत राजा यलम्बरले चलाएको नयाँ बर्ष ‘येले संवत्’ माघ १ गतेबाट फिर्छ । उल्लिखित पर्वहरू कुनै गुमनाम वा उक्त जाति धर्म तथा समुदायले मनाउनेमध्येका सहायक पर्व होइनन् । प्राचीनकालदेखि वर्तमानसम्म निकै श्रद्धा, भक्ति र अपनत्वका साथ निरन्तररूपमा चल्दै आएको मुख्य पर्व हो । मुलुकका ४ वटा प्रदेशले सार्वजनिक बिला दिंदा पनि सङ्घीय सरकारले राष्ट्रिय बिदा घोषणा गर्न सकेन । विगतका वर्षहरूमा दिएको माघी बिदासमेत यस वर्ष कटौटी गरे । बिदा नदिइए पनि हिन्दू, बुद्ध र किराँत धर्मावलम्बी तथा आदिवासी, खस आर्य र मुसहरहरूको परम्परा रोकिएन । उनीहरू सरकारी वा कुनै निजी संस्थाको नोकरीमा थिए भने त्यस दिन उनीहरूले बिदा लिन परे होलान् । फरक यति मात्रै हो । त्यसैले कतिपय स्थानीय तहले माघ १ गते आप्mनै तरीकाले सार्वजनिक बिदा दिएर पनि केही सहज गरिदिएको पनि पाइयो ।
    प्रश्न बिदा पाउनु र नपाउनुको होइन । मुख्य कुरा पहिचान र अधिकार र प्राथमिकताको हो । मुलुकमा अहिले ३ किसिमको दर्जा चलेको छ । पहिलो दर्जा राष्ट्रिय बिदा, दोस्रो दर्जा प्रदेश बिदा र तेस्रो दर्जा स्थानीय तहको बिदा । दुई वा दुईभन्दा बढी प्रदेशमा प्राथमिकताका साथ मनाइने पर्वलाई राष्ट्रिय बिदा दिनुपर्ने हो । प्रदेशमा मात्र मनाइनेलाई प्रदेश बिदा र कुनै पालिकाका कुनै समुदायले मनाउने पर्वलाई स्थानीय बिदा दिनु पर्ने हो । विभिन्न नामले विविध क्षेत्र, भाषा, धर्म, समुदायले मनाउने एकै दिन मनाउने र यसमा  कुनै पात्रो वा तिथिले फरक पार्न नसक्ने पर्व माघ एक गते हो । यसलाई अनेकतामा एकताको प्रतीकको रूपमा सङ्घीय सरकारले प्राथमिकता दिइनुपर्छ । तर यहाँ त उल्टो भइदिन्छ । नामै नसुकेका पर्वहरूमा राष्ट्रिय बिदा बस्नुपर्ने अवस्था छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us