Tuesday, December 3, 2019

ओरिया खोलाको झोलुङ्गे पुलको अवस्था नाजुक

प्रस, पोखरिया, १७ मङ्सिर/
    पर्सा जिल्ला कालिकामाई गाउँपालिका–१ रविदास र बन्जारी जोड्ने झोलुङ्गे पुलको अवस्था नाजुक अवस्थामा छ ।
    असारमा आएको बाढीको कारण पुलको अवस्था बिग्रिएको र अहिलेसम्म मरम्मतसम्भार नगरिंदा त्यहाँबाट सञ्चालित सवारीसाधन र मानिसहरूलाई समस्या भइरहेको छ । रविदास र बन्जारी जोड्ने ओरिया खोलामा निर्मित झोलुङ्गे पुलको दुवै छेउको संरचना बाढीले कटान गर्दा आवतजावतमा समस्या भएको हो ।
    बाढीबाट भएको क्षतिपछि मरम्मतसम्भार नगर्दा पुलबाट आवतजावत गर्ने यात्रीहरूले समस्या भोग्नुपरेको हो । ओरिया खोलास्थित झोलुङ्गे पुलबाट हरिहरपुर, बिरञ्चीबर्वा, मुडली, रविदास, भेडियाही र गदियानीका मानिसहरू मोटरसाइकल, साइकल र पैदल आवतजावत गर्छन् । अहिले पुलको दुवैतर्पm बाढीले बगाएको कारण मोटरसाइकल, साइकल आवतजावतमा पनि समस्या भएको छ ।
    पर्सा जिल्लाको चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल निर्माण गरिएका ठाउँमा पक्की पुल बन्न सकेको छैन । १० लाखदेखि १५ लाख रुपैयाँमा झोलुङ्गे पुलको निर्माण गरिएको छ भने पक्की पुल निर्माणमा रु ५० लाखभन्दा बढी खर्च हुन्छ । झोलुङ्गे पुल निर्माण भएको ठाउँमा पक्की पुल बन्न सकेको छैन र त्यहाँका मानिसहरू मोटरसाइकल, साइकल र पैदलबाहेक अन्य चार चक्के सवारीसाधनको प्रयोग गर्न समस्या भोग्दै आएका छन् ।
    पर्सा जिल्लाको जगरनाथपुर गापाको मधुवाहा र सुपुर जोड्ने भलुवाही खोला, पोखरिया नपा–७ जगतपुरको भुताहा खोला, पर्सागढी नपा–४ परशुरामपुरमा गरी चार ठाउँमा झोलुङ्गे पुल छन् । तीन ठाउँको झोलुङ्गे पुलको अवस्था राम्रो छ भने कालिकामाई गापाको झोलुङ्गे पुल मरम्मतसम्भारमा स्थानीय तहले बेवास्ता गर्दै आएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us