Monday, December 2, 2019

दोस्रो चौमासिक परीक्षाको मुखमा विद्यालयहरू बन्द

निजी विद्यालय पनि बन्द
    सामुदायिक विद्यालयहरूसँगै निजी विद्यालयहरूले पनि अघोषितरूपमा चार दिन बिदा घोषणा गरेका छन् ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको बैठकले गढीमाई मेलाका लागि दुई दिन बिदा दिने निर्णय गरे पनि पछि चार दिन बिदा दिएको छ । प्याब्सन पर्साका अध्यक्ष डा हरिशङ्कर साहले आइतवार विवाहपञ्चमी भएकोले प्रदेश सरकारले बिदा दिएको र सोमवार विद्यालय खुल्ने निर्णय भएपनि एक दिनको लागि विद्यालय सञ्चालन नगरी एकैपटक मङ्सिर १९ गते बिहीवारदेखि विद्यालय सञ्चालन गर्ने सहमति भएको बताए ।
    निजी विद्यालयहरूको अर्काे संस्था हिसानले मङ्सिर २२ गतेदेखि दोस्रो चौमासिक परीक्षा सञ्चालन हुने हुँदा बिदाले परीक्षा प्रभावित हुन सक्ने बताएको छ । विद्यार्थीहरूको अध्ययनमा बिदाले प्रभाव पार्ने र परीक्षामा समस्या आउन सक्ने शिक्षकहरूले बताएका छन् ।

प्रस, सेढवा, १६ मङ्सिर/
    बाराको बरियारपुर जारी पञ्चवर्षीय गढीमाई मेलाको कारण पर्सा जिल्लाका स्थानीय निकायले सामुदायिक विद्यालयमा हुने दोस्रो चौमासिक परीक्षा प्रभावित हुने गरी सार्वजनिक बिदा घोषणा गरेको छ ।
    सामुदायिक विद्यालयमध्ये ठोरी गाउँपालिकाबाहेक पर्साका १३ वटै स्थानीय  तहले आपूm मातहतका सामुदायिक विद्यालयहरू मङ्सिर १८ गतेसम्म बिदा घोषणा गरेका छन् । मङ्सिर १५ गते आइतवारदेखि बुधवारसम्म बिदा घोषणा गरिएको हो । विद्यालयहरू बिहीवारदेखि सञ्चालनमा आउनेछन् ।
    वीरगंज महानगरपालिका तथा बारा जिल्लामा भने साताव्यापी बिदा घोषणा भएकाले त्यहाँका विद्यार्थीहरू एकैपटक मङ्सिर २२ गतेदेखि हुने दोस्रो चौमासिक परीक्षामा सहभागी हुनेछन् । जीराभवानी गापाका शिक्षा संयोजक जितेन्द्र मिश्रले पञ्चवर्षीय मेला भएकोले बिदा तालिकामा नरहेको बताए । उनले यो बिदालाई वार्षिक बिदाबाट कट्टा गरिने बताए ।
    पटेर्वासुगौली गापाका शिक्षक महासङ्घका अध्यक्ष मोहनदास थारूले बिदालाई स्थानीय विदाबाट कट्टा गर्ने जानकारी गराए । गढीमाई मेला अन्तर्गत पशुबलिको दिन मङ्सिर १७ गते मङ्गलवारका दिन प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । तर पर्साका विद्यालयहरूले भने लामो बिदा दिएर विद्यार्थीको भविष्यसँग खेलवाड गरेको शिक्षाविद्हरूको टिप्पणी छ । स्थानीय तहले बिदा दिंदा संवेदनशीलता अपनाउन नसकेको शिक्षाविद्हरूको आरोप छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us