Tuesday, December 3, 2019

नेकपालाई झटका

    दुई तिहाइको सरकार हाँकिरहेको नेकपालाई उपनिर्वाचनको परिणामले गतिलो झटका दिएको छ । प्रतिनिधिसभा सदस्यको १ स्थान, प्रदेशसभा सदस्यको ३ स्थान, एउटा नगरपालिका, ४ वटा गाउँपालिका र वडाध्यक्षहरूको समेत ५२ स्थानमा निर्वाचन भएको थियो । प्रतिनिधिसभाको सिट सुरक्षित राख्न सके पनि प्रदेशसभा र नगरपालिकाको चुनावमा नेकपालाई निराशा हात लागेको छ । आप्mनै सिट गुमाउनुपरेको छ । रिक्तमध्ये प्रदेशसभामा ५० प्रतिशत सिट नेकपाको गुम्यो । दुई वर्षअघि भएको प्रदेश चुनावमा नेकपाले दाङ ३ (ख) र भक्तपुर १ (क) मा जितेको थियो । उपचुनावमा उसले दाङ मात्रै सुरक्षित राख्न सक्यो । भक्तपुरमा नेपाली काङ्ग्रेस नसोचेको मतान्तरले विजयी भयो । त्यसैगरी, २०७४ मा नेकपाले जितेको धरान नगरपालिकामा तीन दशक लामो लालकिल्ला तोड्दै नेकाले झन्डा फहरायो । यतिबेला अरू स्थानमा पनि चुनाव हुने हो भने शायद अधिकांश स्थानमा नेकपाको साँवा गुम्छ भन्ने अडकलबाजी लगाइन थालिएको छ ।
    सम्पन्न उपचुनावमा प्रतिनिधिसभा, प्रदेश र नगरको परिणामले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई भने सकारात्मक सङ्केत दिएको छ । ‘नेकपाप्रति जनविश्वास गुमेको अवस्थामा विकल्प नेका नै हो’ भन्ने स्पष्ट सङ्केत मतपरिणामले दिएको छ । नेकपा र नेकाबाहेकका अन्य दलहरूले प्राप्त गरेको मतले पनि यस कुरालाई पुष्टि गर्छ । वैकल्पिक शक्तिको रूपमा खडा हुने उद्घोष गरेका अन्य राजनीतिक दलहरूले उल्लेखनीय मत नभई झिनो मत प्राप्त गरेका छन् । अन्य विकल्परहित अवस्थामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक तराजुका दुई पाला हुन् । सत्तापक्ष हलुको भइदिंदा प्रतिपक्षको जनमत भारी हुन्छ । त्यसैगरी, सत्तापक्ष्Fको कामकारबाई तथा प्रस्तुति गहकिलो हुन सक्यो भने प्रतिपक्ष स्वतः हलुका पर्छ । कुनै पनि मुलुकको राज्यशक्ति, स्रोतसाधन तथा तालाचाबी नै सत्तापक्षको हातमा हुने हुँदा त्यहाँको नागरिकले सबैभन्दा पहिले सत्तापक्षसँगै सकारात्मक निर्णयको अपेक्षा गरेको हुन्छ । जनअपेक्षा र संवेदनशीलतालाई बुझेर निर्णय लिन सक्ने सत्ता लामो समयसम्म टिकाउ हुन सक्छ । तर प्रमुख प्रतिपक्षीलाई यो अवसर हुँदैन । सत्ताले कमजोरी गरे मात्रै प्रतिपक्षीको हातमा पर्ने हो ।
    यसपटक उपचुनावमा जनभावनाअनुरूपको उम्मेदवार दिन नसक्नु सत्तासीन नेकपाको सबैभन्दा ठूलो कमजोरी हो । जुनसुकै पार्टीमा भएपनि मतदाता पहिले मानव हुन्, त्यसैले सबैभन्दा पहिले मानवीय समवेदना रहन्छ । भक्तपुर र धरान नगरपालिकामा दिवङ्गत जनप्रतिनिधिकी विधवा योग्य छँदाछँदै र दाबी गरिरहेकै अवस्थामा पनि टिकट नदिएर पार्टीले उपेक्षा गरेको परिणाम मतदाताले दिएका हुन् । भक्तपुरमा त गम्भीर भूल नै ग¥यो । हिजो संयुक्त पार्टीको आधिकारिक उम्मेदवार हरिशरण लामिछानेलाई विभिन्न दोष र आरोप लगाउँदै बागी बनेका डिपी ढकाललाई यसपटक पार्टीले चोख्याउँदै टिकट दियो । स्व. लामिछानेप्रति श्रद्धाको आँसु सुक्न नपाउँदै उनैको प्रतिद्वन्द्वीलाई मत दिन मतदाताले चाहेनन् । ‘ठूलो पार्टी हो, जसरी पनि जितिन्छ’ भन्ने घमण्ड नेकपाको हारको प्रमुख कारण हो । अर्कोतर्पm पार्टी एक भएपनि माओवादी पक्षधर नेता, कार्यकर्तालाई कतिपय मतदाताले अभैm पचाउन सकेका छैनन् । त्यसैगरी, सङ्घीय सत्ताले उल्लेखनीय काम देखाउन नसक्नु र मन्त्री नियुक्तिलगायत आन्तरिक विवादलाई पनि हारको कारण मान्न सकिन्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us