Friday, December 6, 2019

पर्साको स्थानीय तहमा अख्तियारको छापा

प्रस, वीरगंज, २० मङ्सिर/
    पर्सा जिल्लाको स्थानीय तहमा अख्तियारले छानबीन शुरू गरेको छ ।
    अख्तियारबाट उपसचिव, शाखा अधिकृतसमेतको टोलीले शुक्रवारदेखि पर्सा जिल्लाका स्थानीय तहमा हुने गरेका कामकारबाईबारे स्थलगत अनुगमन शुरू गरेको छ । वीरगंज महानगरपालिकाबाट अख्तियारले सोधखोज शुरू गरेको हो । आज अख्तियारको टोलीले वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसँग सीमा विकास कार्यक्रम अन्तर्गतका खर्चहरूको हरहिसाब माग गरेको थियो ।
    यसैगरी, अख्तियारले मनपाले रु ७ करोडको सवारीकर ठेक्का रु ४ करोडमा झारेको सूचना प्रकाशन सम्बन्धमा पनि चासो देखाएको छ । महानगरपालिकामा विभिन्न शीर्षकमा अख्तियारको टोलीले चासो देखाएको र सो सम्बन्धमा यथेष्ट प्रमाण जुटाउन सोमवारसम्मको समयसीमा प्रदान गरेको छ । अख्तियारको टोलीले आजदेखि नै पोखरियामा पनि अनुसन्धान शुरू गरेको छ ।
    स्थानीय तहमा विनियोजित विकास निर्माणका काममा चरम आर्थिक अनियमितता भएको पाइएपछि अख्तियारले पर्सा जिल्लाका स्थानीय तहमा सोधखोज शुरू गरेको हो । अख्तियारको टोलीले स्थानीय तहमा अनुसन्धान शुरू गरेपछि स्थानीय तहमा नेतृत्व गर्ने जनप्रतिनिधि र कर्मचारीहरूमा हडकम्प मचिएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us