Tuesday, December 3, 2019

सङ्घ अन्तर्गतका कार्यालय खुले तर सेवाग्राही पुगेनन्

प्रस, वीरगंज, १७ मङ्सिर/
    बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा प्रदेश सरकारले मङ्गलवार बिदा घोषणा गरेको थियो । सङ्घ सरकारले तोकेको सार्वजनिक बिदाभन्दा प्रदेश सरकारले ६ वटा बढी बिदा दिन सक्ने प्रावधान रहेको छ । तर यसअघि नै प्रदेश सरकारले ६ वटा बिदा दिइसकेको कारण गढीमाई मेलाको बिदामा सङ्घ सरकार अन्तर्गतका कार्यालयहरू सञ्चालनमा रहे । तर ती कार्यालयहरूमा अत्यन्तै न्यून  सेवाग्राहीहरू पुगेका थिए ।
    गढीमाई मेलामा आज राँगाको र भोलि बोका, कुखुरा, हाँस, सुङ्गुरलगायतको बलि दिने कार्यक्रम छ । बलि र मेलाको कारण पर्सा जिल्लास्थित सङ्घ सरकार अन्तर्गतका सरकारी कार्यालयहरू खुले पनि सेवाग्राही पुगेनन् । जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, नापी, कोलेनिका, भन्सार र नेपाल राष्ट्र बैंक अन्तर्गतका वाणिज्य बैंकहरूमा सेवाग्राहीहरू थोरै थिए ।
    नेपाल राष्ट्र बैंकले प्रदेश सरकारले दिएको विवाहपञ्चमीमा धनुषा, महोत्तरीस्थित सरकारी तथा निजी वाणिज्य बैंकहरूलाई सार्वजनिक बिदा घोषणा गरेपनि गढीमाई मेलाको आज बिदाको दिन पर्सा, बारा, रौतहटका वाणिज्य बैंकहरूलाई सार्वजनिक बिदा दिने जनाइए पनि बिदा घोषणा गरेको थिएन । पर्सा, बारा, रौतहटका सरकारी तथा निजी वाणिज्य बैंकहरू खुले पनि सा¥है न्यून सेवाग्राही पुगेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us