Thursday, December 5, 2019

मुआवजा नपाए ज्यान दिन तयार छौं –श्रीसियावासी

प्रस, वीरगंज, १९ मङ्सिर/
    जिल्ला प्रशासन कार्यालय पर्साले गरेको मुआवजासम्बन्धी जग्गाको दररेटको निर्णयविरुद्ध श्रीसियावासी आन्दोलनमा उत्रेका छन् ।
    स्थानीयहरूले बिहीवार बिहान ११ देखि दिउँसो १ बजेसम्म टायर बालेर श्रीसिया सुक्खा बन्दरगाह गेटअगाडि धर्ना दिएका थिए । लामो समयदेखि मुआवजाको विवाद टुङ्गो नलागेको बेला प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई सरुवा भई जानेबेलामा एकाएक निर्णय गरेको जग्गाको दररेट आपूmहरूले कुनै पनि हालतमा नमान्ने र निर्णयको प्रतिकार गर्ने भन्दै आजदेखि गाउँलेहरूले कडा आन्दोलनको घोषणा गरेका छन् ।
    सोहीक्रममा आज टायर बालेर विरोध गरेको सङ्घर्ष समितिका संयोजक अम्बिका पटेलले जानकारी दिए ।
    उचित मुआवजा पाउनुपर्छ भन्दै सङ्घर्ष गर्दै आएका श्रीसियावासीले सो निर्णय कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् । उनीहरूले आन्दोलनलाई कडा पार्दै भन्सार एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाह पूर्णरूपमा ठप्प पार्ने र त्यतिले पनि नभएमा ज्यानसमेत दिन तयार छौं भन्दै उचित मुआवजा लिएर नै छाड्ने बताए ।
    उनीहरूले सो निर्णय आत्मघाती भएकोले कदापी स्वीकार नगर्ने जिकिर गरे । सो निर्णय मान्दा हामी सबै घरबारविहीन हुन्छौं, घरबारविहीन हुनुभन्दा दिनरात सडक नै अवरोध गरी बस्छौं, अब घर फर्कंदैनौं, संयोजक कुर्मीको भनाइ थियो । सडकको उत्तरपट्टिको जग्गा हाल प्रतिधुर ५ लाखदेखि १५ लाख रुपैयाँसम्म छ तर सो निर्णयले प्रतिकट्ठा २४ लाखदेखि ६७ लाख रुपैयाँसम्म कायम गरेकोले हामीले सङ्घर्षबाहेकको विकल्प नदेखेको सङ्घर्ष समिति सदस्य विजय तिवारीले बताए ।
    स्थानीयवासीको बन्दले सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकीबाट छुटेका गाडीहरू दुई घण्टासम्म ठप्प थिए । वीरगंजबाट गाउँ तथा गाउँबाट वीरगंज जाने सयौं गाडी अलपत्र परेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई अध्यक्ष रहेको जग्गा मूल्याङ्कन समितिको बैठक बसी जग्गाको १३ वटा प्रकृतिको आधारमा जग्गाको मूल्याङ्कन गरेको थियो ।
    श्रीसियाको ६२ बिघा जगामध्ये १५ बिघा ऐलानी रहेको र मुआवजा वितरण गर्नुपर्ने जग्गा ९९९ वटा कित्ता रहेको छ । मुआवजा वितरण गर्दा रु ४ अर्ब खर्च हुने अनुमान छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us