Sunday, December 1, 2019

पञ्चवर्षीय गढीमाई मेला भर्न ठूलो सङ्ख्यामा भक्तजनको आउनेक्रम शुरू

प्रस, पंचगावाँ, १५ मङ्सिर/
    बाराको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाका लागि भारतबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउनेक्रम शुरू भएको छ ।
    पर्साका विभिन्न नाकाहरूबाट दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू ट्याक्टर, जीप, कार, भ्यान, मोटरसाइकलबाट आइरहेका जानकीटोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक श्यामबाबू यादवले बताए । शनिवारदेखि भक्तजनहरू भारतबाट प्रवेश गर्नेक्रम बढेको उनले बताए । सो नाकाबाट मात्र हिजो सयौंको सङ्ख्यामा ट्याक्टरबाट भक्तजनहरू भित्रिएका थिए ।
    आइतवार १५० भन्दा बढी ट्याक्टरमा मानिसहरू भित्रिएको प्रनानि यादवले बताए । भारतबाट भित्रिने भक्तजनहरूले बलिका लागि ल्याएका बोका, राँगा भने भारतीय सीमा सुरक्षाबलले नियन्त्रणमा लिने गरेको छ । भारत सरकारले पशुबलिमा रोक लगाएको कारण बलिका लागि ल्याइएका बोका, राँगालाई सीमा सुरक्षा बलले नियन्त्रणमा लिने र मानिसलाई मेला भर्न जानका लागि भने कुनै रोक लगाएको छैन ।
    पर्सा जिल्लाको भिस्वा, अमरपट्टि, प्रसौनीभाटा, महादेवपट्टि, गुडगाई, पाडेपुरलगायतका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा भक्तजनहरू आइरहेका बताइएको छ । गढीमाई मेलामा यस वर्ष मङ्सिर १७ र १८ गते पशुबलिको साइत रहेको छ ।
मेला भर्न आउने भक्तजनलाई निश्शुल्क सेवा
प्रस, सिम्रौनगढ,/
    बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागेको पञ्चवर्षीय विश्वप्रसिद्ध गढीमाई मेलामा
सिम्रौनगढ नगरपालिकाले निश्शुल्क सेवा शुरू गरेको छ ।
    सिम्रौनगढ नपाका प्रमुख विजयशङ्कर यादवले आइतवार निश्शुल्क शिविरको उद्घाटन गर्दै सेवा सुचारु गरेका थिए । आजदेखि सञ्चालित शिविरमा मेला भर्न आएका भक्तजनहरूको लागि खाना, नास्ता, शौचालयसहित चिकित्सा र निश्शुल्क औषधिको व्यवस्था गरिएको छ ।
    उद्घाटन समारोहमा परमानन्द मुखिया, राजेश यादव, दामोदर जैसवाल, गुड्डु यादव, आयुर्वेद संयोजक जयनारायण यादव, सिम्रौनगढका स्वास्थ्य संयोजक राजेन्द्र साहसमेत वडाध्यक्षहरूको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us