Monday, December 2, 2019

गढीमाईमा भक्तजनलाई कष्ट

रवीन्द्रप्रसाद साह, कलैया, १६ मङ्सिर/
    बलिको लागि विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजाको लागि आएका तीर्थयात्रीहरू कष्टकर अवस्थामा बलिको दिन पर्खिरहेका छन् ।
    भारत बिहार राज्यको कटिहार भन्ने ठाउँबाट आएका करीब दुई सयजनाभन्दा बढी दर्शनार्थीहरू मङ्सिरको चिसोमा पनि खुला आकाशमुनि रात बिताउन बाध्य छन् । दर्शनार्थीहरूमध्येका ‘अल्विन’ नाम बताउने एक १० वर्षीय बालकले भने “हामी हरेक मेलामा आउने गरेका छौं । हाम्रा पुर्खाहरूकै पाला सदियौंदेखि  गढीमाईमा आएर पूजा गर्ने परम्परा छ । जस्तो दुःख भएपनि माईको भक्तिमा हामी आउँछौं ।”
    उनीहरू तीन/चार दिनअगाडि नै घरबाट निस्किएका हुन् । कलैया उमनपा वडा नं. ६ को विद्यानगर टोलमा कोही अस्थायी टेन्ट त कोही खुला आकाशमुनि नै बास बसेका छन् । उनीहरू बलि दिने दिनको प्रतीक्षा गर्दैछन् । उनीहरूका लागि ओत तथा गाँस, बासको त कुरै छोडौं पानी पिउनको लागि त्यहाँ एउटा ह्यान्ड पम्पसमेत छैन । मेला व्यवस्थापन समिति तथा स्थानीय तहले कुनै ध्यान दिएको छैन ।
    ठूलोठूलो ब्यानरमा स्वागतम लेखेर चोकचोकमा झुन्ड्याइएको छ । मेलास्थलमा राखिएका पण्डालहरू पर्याप्त छैनन् ।
    नजीकमा पनि कुनै होटल, बासस्थल वा धर्मशाला, चौतारा एवं सार्वजनिक भवनहरू पनि नरहेकाले श्रद्धालु भक्तजनहरू समस्यामा परेका हुन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us