Saturday, December 7, 2019

ड्राइपोर्ट भन्सारः लक्ष्यभन्दा २ अर्ब १९ करोड राजस्व कम

प्रस, परवानीपुर, २१ मङ्सिर/
    वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह भन्सारको पछिल्लो चार महीनाको राजस्व असुली प्रभावित भएको छ ।
    चालू आवको साउनदेखि कात्तिक मसान्तसम्मको लक्ष्यभन्दा भन्सार कार्यालयले रु २ अर्ब १९ करोड कम राजस्व असुली गरेको देखिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी विकास कुमारले दिएको जानकारी अनुसार चालू आवको साउनदेखि कात्तिकसम्म रु १५ अर्ब ५ करोड १८ लाख ६० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । भन्सार कार्यालयले ८५ दशमलव शून्य ४ प्रतिशतको हिसाबले जम्मा रु १२ अर्ब ८६ करोड ८२ लाख ६२ हजार राजस्व असुली गरेको छ ।
    विदेशबाट आउने सवारीसाधन, मदिरा, इनर्जी ड्रिंक्स, फलामे उद्योगको कच्चा पदार्थलगायतका सामानको आयातमा आएको कमी र गत वर्षभन्दा चालू आवमा बढाइएको अव्यावहारिक भन्सार लक्ष्यको कारण लक्ष्य भेटाउन समस्या भएको भन्सार अधिकारीहरू बताउँछन् । गत आव २०७५/०७६ को अवधिमा भन्सार कार्यालयले जम्मा रु ३ अर्ब २८ करोड ९६ लाख ६१ हजार लक्ष्य पाएकोमा ९८ दशमलव ५४ प्रतिशतको दरले रु ३ अर्ब २५ करोड ४ लाख ८२ हजार राजस्व असुली गरेको थियो ।
    चालू आवको साउनदेखि कात्तिकसम्म भन्सार कार्यालयले भन्सार महसूल रु ६ अर्ब ९१ करोड ९ लाख २३ हजार लक्ष्य पाएकोमा रु ५ अर्ब ७१ करोड २९ लाख ८९ हजार मात्र राजस्व असुली गरेको थियो भने मूल्य अभिवृद्धि करतर्पm सोही अवधिमा रु ६ अर्ब ९७ करोड २५ लाख ८८ हजार लक्ष्य पाएकोमा रु ६ अर्ब १४ करोड ८९ लाख ८४ हजार राजस्व सङ्कलन भयो । सो अवधिमा अन्तःशुल्कतर्पm रु १ अर्ब १६ करोड ८३ लाख ४९ हजार लक्ष्य पाएकोेमा रु १ अर्ब ६२ लाख ९४ हजार राजस्व सङ्कलन भएको थियो ।
    त्यसैगरी, चालू आवको साउनदेखि कात्तिकसम्म रु ६ करोड ८७ लाख ९९ हजार सडक निर्माण दस्तुरबापत सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी विकास कुमारले बताए ।
    त्यसैगरी, चालू आवको महीनापिच्छेको लक्ष्य र राजस्व सङ्कलनको हिसाब हेर्ने हो भने सबैभन्दा कम लक्ष्य साउनमा देखिन्छ । सबैभन्दा बढी असोज अर्थात् दशैंअगावै छ । साउनमा रु ३ अर्ब ३६ करोड १२ लाखको लक्ष्य पाएकोमा सय दशमलव ३६ प्रतिशत अर्थात् रु ३ अर्ब ३७ कराड ३२ लाख सङ्कलन भएको थियो । भदौसम्ममा रु ७ अर्ब ५६ करोड ८८ लाख लक्ष्य पाएकोमा ८९ प्रतिशतले रु ६ अर्ब ७५ करोड ८८ लाख राजस्व सङ्कलन भएको थियो ।
    त्यसैगरी, असोजसम्म रु ११ अर्ब ७६ करोड २१ लाख राजस्व लक्ष्य पाएकोमा ८१ दशमलव ८४ प्रतिशतको हिसाबले रु ९ अर्ब ६२ करोड ६७ लाख र कात्तिकसम्म रु १५ अर्ब ५ करोड १८ लाख ६० हजार लक्ष्य पाएकोमा ८५ दशमलव ४९ प्रतिशतले रु १२ अर्ब ८६ करोड ८२ लाख ६७ हजार राजस्व सङ्कलन भएको ड्राइपोर्ट भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us