Friday, December 6, 2019

सीमावर्ती क्षेत्रमा नक्कली चुरोटको बिगबिगी, सूर्य नेपालको उत्पादन प्रभावित

प्रस, वीरगंज, २० मङ्सिर/
    नक्कली सूर्या, पाइलट, खुकुरी, शिखर चुरोट सीमावर्ती बजारमा छ्यापछ्याप्ती पाउन थालेका छन् ।
    सूर्य नेपाल प्रालि, सिमरा बारामा उत्पादित यी चुरोटहरू भारतीय बजारबाट नक्कली उत्पादन भएर नेपालका सीमावर्ती क्षेत्रमा बिक्री वितरण भइरहेको छ ।
    भारतीय साना चुरोट उद्योगले मोतीहारी, मुजप्mफरपुरबाट सूर्या, पाइलट, खुकुरी, शिखर चुरोटको नक्कली उत्पादन गरेर बजारमा बिक्री वितरण गरिरहेको पाइएको छ ।
    खासगरी जनकपुर र रौतहटमा सूर्य नेपालबाट उत्पादित चुरोटहरूको नक्कली उत्पादनको बिक्री भइरहेको तथ्य फेला परेको छ । विगत एक वर्षदेखि नक्कली उत्पादनले सीमावर्ती बजार प्रभावित भएको सूर्य नेपालका बजार व्यवस्थापक केशव प्रधानले बताए । उनले जनकपुरमा बिक्री प्रभावित भएपछि सोधखोज गर्दा नक्कली उत्पादनले बजारीकरण गरेको तथ्य फेला परेको बताएका छन् । उनले सूर्य नेपालका विक्रेताहरूले स्थानीय प्रहरी  प्रशासन र भन्सारलाई यसबारेमा अवगत गराएको बताए । स्थानीय प्रशासनको सहयोगमा करीब रु २ लाख मूल्य बराबरको ५–६ बक्सा नक्कली उत्पादनका चुरोटहरू फेला परेको थियो ।
    सूर्य नेपालका प्रधानले अनुमानित रु १० करोडभन्दा बढीको नक्कली चुरोट सीमावर्ती क्षेत्रमा भित्रिएको बताए । उनले बिक्री तथ्याङ्कबाट सो बराबरको चुरोट भित्रिएको अनुमान गरिएको दाबी गरेका छन् । सीमावर्ती क्षेत्रमा चुरोटको माग घटेपछि यसबारेमा सूर्य नेपालले प्रधानको नेतृत्वमा अनुगमन शुरू गराएको हो ।
    नक्कली चुरोटको कारण सूर्य नेपालबाट उत्पादित सक्कली चुरोटको बिक्री प्रभावित भएको छ । नक्कली चुरोट बजारमा आएपछि सूर्य नेपालले खुकुरी, पाइलटको बट्टा परिवर्तन गरेको छ तर खुलारूपमा बिक्री वितरण गरिने हुँदा नक्कली चुरोटप्रति आमउपभोक्ताले चासो देखाएको पाइएको छैन ।
    नेपालको १० ठूला करदातामध्ये एक सूर्य नेपालको उत्पादनमा कमी आएसँगै राजस्व पनि प्रभावित हुँदैछ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us