Tuesday, December 10, 2019

अन्तर्राष्ट्रिय विमानस्थल

    बाराको टाँगियाबस्तीमा निर्माण शुरू भएको राष्ट्रिय गौरवको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सर्वाेच्च अदालतको अन्तरिमकालीन आदेशपछि स्थगित भएको छ । देशमा प्रजातन्त्र बहाली भएपछि भैरहवास्थित लुम्बिनी विमानस्थल र बारास्थित सिमरा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा प्रयासहरू भएका थिए । सिमरा विमानस्थलको धावनमार्गको दिशा उत्तर–दक्षिण भएको कारण सो विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठहर नभएपछि टाँगियाबस्तीमा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयास शुरू भएको हो । तत्कालीन अवस्थामा सरकारले देशका विभिन्न आठ स्थानको प्रारम्भिक अध्ययन गरेको थियो, जसमा सबैभन्दा उपयुक्त टाँगियाबस्ती ठहर गरियो । भौगोलिक र प्राविधिकरूपमा टाँगियाबस्ती अन्तर्राष्ट्रिय विमानस्थलको लागि उपयुक्त ठहर भएपछि २०५२ सालदेखि सो स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले पहल शुरू गरेको हो । लुम्बिनी विमानस्थलमा छिमेकी भारतको आकाश प्रयोग गर्नुपर्ने अवस्थाको कारण प्राविधिक चयनमा पर्न सकेन । त्यतिखेर नै निर्माण शुरू भएको गौतम बुद्ध विमानस्थल अहिले उद्घाटनको अन्तिम तयारीमा छ । सोहीअनुरूप अहिलेसम्म बाराको टाँगियाबस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भइसक्नुपर्ने हो । तर राजनीतिक अस्थिरता र सरकारको उदासीनताको कारण २०६६ सालमा डिपिआर तयार गरियो भने अहिलेसम्म चार किल्ला निर्धारण र मुआवजा दिनेबाहेक खासै प्रगति हुन सकेको छैन ।
    मुआवजा दिने कुरामा पनि टाँगियाबस्तीमा विवाद विद्यमान छ । सो ठाउँमा रहेका १४५६ घरधुरी मुआवजाभन्दा फरक स्थानमा प्रति घरधुरी ५ कट्ठा जग्गाको माग लिएर बसेका छन् । नेकपाको दुई तिहाइ सरकारले यो विमानस्थलको निर्माणमा रुचि देखाएको छ । यसै सरकारका तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सात वर्ष अवधिमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा गर्ने आश्वासन दिएका थिए । तर उनको मृत्युपछि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेश भट्टराईले निर्माणस्थलको अवलोकन गरेर पाँच वर्षभित्र विमानस्थल सञ्चालनमा आउने उद्घोष गरेका छन् । टाँगियाबस्तीमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा एक चरण प्रदेश सरकारका वन तथा पर्यटनमन्त्री रामनरेश राय यादव र नेपाली काङ्गे्रसका प्रभावशाली नेता शेखर कोइरालाले रूख कटानको विषय उठान गरेर सिन्धुली अथवा तराईको अन्य भाग जहाँ ठूलो मात्रामा रूख कटान गर्न नपरोस् त्यस्तो स्थानमा विमानस्थल बनाउन उचित हुने अभिव्यक्ति दिएर विवाद सृजना गराएका थिए । अहिले उनीहरूले आप्mनो अभिव्यक्तिमा सुधार गरिसकेका छन् । रूख काट्दा त्यसले पर्यावरणमा पार्ने असरबारे बहस अब उपयुक्त देखिन्न । किनभने डिपिआर बन्नुअघि प्राविधिकहरूको परामर्शबाटै स्थानको टुङ्गो लागेको हो । यसबाहेक त्यहाँको वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ ।
    अब त्यहाँ सक्दो चाँडो अन्तर्राष्ट्रिय विमानस्थल कसरी बनाउन सकिन्छ भन्ने विषयमा सबैले दबाब सृजना गर्नुपर्ने बेला आएको छ । विज्ञहरूको राय पनि यस्तै छ । सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मङ्सिर २९ गते बहस पैरवी हुन्छ । अन्तरिम आदेश अवधिभर मात्र काम रोकिएको हो । यससम्बन्धी यथेष्ट प्रमाणहरू अदालतमा पेश गर्दा त्यसको निराकरण हुन्छ नै ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us