Monday, December 2, 2019

गैरकानूनीरूपमा ईरिक्शा सञ्चालन

प्रस, वीरगंज, १६ मङ्सिर/
    वीरगंज महानगर र पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा गैरकानूनीरूपमा ईरिक्शा सञ्चालन भइरहेका छन् ।
    पर्सा जिल्लामा ईरिक्शा सञ्चालनको लागि यातायात व्यवस्था कार्यालयबाट रूट इजाजत र सवारी चालक अनुमतिपत्र लिनेहरूको सङ्ख्या निकै कम भएपनि ठूलो परिमाणमा ईरिक्शाहरू सञ्चालनमा छन् ।
    यातायात व्यवस्था कार्यालय पर्साको तथ्याङ्क अनुसार ११८२ वटा ईरिक्शाले रूट परमिटको इजाजत लिएका छन् । यसैगरी, १०५० जनाले मात्र ईरिक्शा सञ्चालनको लागि सवारी चालक अनुमतिपत्र लिएका छन् । तर वीरगंज महानगर र जिल्लाभर तीन हजारभन्दा पनि बढी ईरिक्शा सञ्चालनमा छन् । यातायात व्यवस्था कार्यालय पर्साका निमित्त प्रमुख विपिनकुमार झाले ईरिक्शा सञ्चालकले कानूनविपरीत कार्य गर्दै आएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहले ईरिक्शामाथि बारम्बार कारबाई हुँदै आएको बताए । उनले कागजपत्र, सवारी चालक अनुमतिपत्र, रूट इजाजतपत्रको निरन्तर निगरानी भइरहेको बताए । उनले थुप्रै ईरिक्शालाई नियन्त्रणमा लिएर जरिवाना गर्नुका साथै उनीहरूलाई ईरिक्शा सञ्चालनका लागि आवश्यक कुराहरू बेलाबखत बताउँदै आएको बताए । वीरगंज महानगरपालिकामा विभिन्न संस्थाहरूको सहकार्यमा ईरिक्शा सञ्चालन विधि तयार गरिएको छ ।
    व्यवस्थित वीरगंज अभियान, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रलगायतका संस्थाहरूले वीरगंज महानगरपालिकामा सञ्चालित ईरिक्शा व्यवस्थापन गर्दै आएका छन् । महानगरमा विभिन्न बेला निगरानी भइरहे पनि गलत रूटमा चल्ने, नाबालकहरूले चलाउने लगायतका समस्याहरू विद्यमान छन् । यसैगरी, वीरगंज महानगरपालिकापछि ठूलो सङ्ख्यामा पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा ईरिक्शाको प्रयोग बढेको छ । ग्रामीण क्षेत्रमा सञ्चालित ईरिक्शाको निगरानी कसैले गरेको छैन ।
    ट्राफिक प्रहरीको गाउँमा दरबन्दी नै छैन । प्रहरी र सशस्त्र प्रहरीले दुर्घटना भएपछि मात्र ईरिक्शाको वैधानिकता खोजी गर्छ । पर्सा जिल्लामा ईरिक्शा सञ्चालनको लागि १४ वटा सङ्घ छन् । सङ्घको आडमा पनि अहिले ईरिक्शाको सञ्चालन विधिसम्मत हुन सकेको छैन ।
    सङ्घले कागजपत्र नभएको, सवारीचालक अनुमतिपत्र नभएको, रूट इजाजतभन्दा बाहिर सञ्चालनमा रहेका र नाबालक चालकको हकमा ट्राफिकसँगको मिलेमतोमा मलजल गर्ने गरेको छ । एकजना ईरिक्शा चालकले ट्राफिक प्रहरीले सङ्घसँग मासिकरूपमा सहयोग लिने गरेको आरोप लगाए । उनले कागजपत्र नभएको, सवारी चालक अनुमतिपत्र नभएका ईरिक्शा चालकसँग मासिक एक हजार रुपैयाँ असुल्ने गरेको प्रतीकलाई बताए । सवारी नियम उल्लङ्घन गर्ने कसूरमा ट्राफिकले न्यूनतम ५ सय रुपैयाँ जरिवाना गर्न सक्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us