Monday, December 2, 2019

काँवरिया सङ्घद्वारा गढीमाईमा निश्शुल्क सेवा शिविर

प्रस, निजगढ, १६ मङ्सिर/
    बोलबम काँवरिया सङ्घ कालीमाटी काठमाडौंले आइतवारदेखि गढीमाई मेला बरियारपुरमा निश्शुल्क खान, बस्न, पिउने पानी, चिकित्सकसहितको स्वास्थ्य उपचार, औषधि वितरण र एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।
    गढीमाईको दर्शनमा आउने श्रद्धालु भक्तजनहरूलाई निश्शुल्क मानवीय सेवा बोलबम काँवरिया सङ्घ कालीमाटीले  लगातार ५ दिनसम्म सेवा शिविर सञ्चालन गर्ने सङ्घका कार्यवाहक केन्द्रीय अध्यक्ष विश्वनाथ गुप्ताले जानकारी दिए ।
    प्रत्येक दिन ८ हजारदेखि १० हजार जनालाई खाना खुवाउने योजनाका साथ सङ्घले ३ सयजना स्वयंसेवक परिचालन गरेको छ ।
    शिविरमा ५ जना चिकित्सक, औषधि र एम्बुलेन्ससहितको स्वास्थ्य उपचार सेवासमेत उपलब्ध गराइएको बताउँदै बिरामीको थप उपचारको लागि कलैया, वीरगंजसम्म लैजान २४सैं घण्टा एम्बुलेन्सको सुविधा रहेको अध्यक्ष गुप्ताले बताए ।
    गढीमाईको विशेष पूजा र पशुबलि १७ र १८ गते हुने साइत रहेकाले त्यस बेला ३० लाखभन्दा बढी भक्तजन मेलामा आउने अनुमान गरिएको छ । सो कुरालाई समेत मध्यनजर गरी निश्शुल्क शिविर सञ्चालन गरिएको हो ।
    निश्शुल्क व्यवस्थित मानवीय सेवा गरेकोमा भारत बिहार घर बताउने रीतादेवी पाण्डेयले काँवरिया सङ्घको कार्यको प्रशंसा गरिन् । 
वधशालामा राँगाहरू भित्रिंदै
    गढीमाईमा बलिका लागि ल्याइएका राँगाहरूले सोमवारसम्म ५ बिघा क्षेत्रफलको वधशाला भर्न थालेको छ । अघिल्लो मेलामा ३७ हजार राँगा बलि चढेको वध व्यवस्थापन समितिले जनाएको थियो ।
    बारा, पर्सा, रौतहट, महोत्तरी छिमेकी मुलुक भारतको बिहारलगायतका अन्य स्थानबाट समेत उल्लेखनीय सङ्ख्यामा राँगाहरू वधशालामा भित्रिसकेको छ । सोमवार रातभरि गढीमाई देवीको विशेष पूजाआजापछि बिहान ब्रह्म स्थानमा विशेष तान्त्रिक विधिबाट समेत पूजा हुने राँगा, बोका, सुङ्गुर, हाँस, मानिसको शरीरबाट निकालिएको रगतसमेत चढाइन्छ । त्यसपछि सर्वसाधारणका लागि बलि खुल्ने मूल पुजारी मङ्गल चौधरीले बताए ।         त्यसैगरी, १८ गते बिहानैदेखि बोका बलि चढाइन्छ भने, भाकल गरी ल्याइएका परेवालाई पूजा गरी मनोकाङ्क्षा पूरा भएको भन्दै उडाइन्छ ।
गढीमाईमा सुरक्षा व्यवस्था चुस्त
    गढीमाईको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । गढीमाईमा हुने विशेष पूजा, बलि र भीडलाई मध्यनजर गर्दै नेपाल प्रहरी ११ सय, सशस्त्र प्रहरी २ सय र राष्ट्रिय अनुसन्धानका प्रहरीसमेत मेलामा खटिएका छन् । कुनै अप्रिय घटना नहोस् भन्नाका लागि चुस्त दुरुस्तरूपमा प्रहरी परिचालन गरिएको प्रजिअ पोखरेलले बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us